गर्नु गर्‍यो जातैले : जात नमिलेपछि बलात्कार

२१ वर्षीय राजु विक र १८ वर्षीया आयुशा महराले गत वैशाख २२ गते भागी विवाह गरे । उनीहरूबीच केही समय अघिदेखि प्रेम सम्बन्ध थियो । त्यो सम्बन्धलाई उनीहरूले बैबाहिक जीवनमा जोडे । राजुले आयुशाको सिउँदोमा सिन्दुर पनि भरे । दलितसँग बिहे गरेको भन्दै महराका परिवारले राजुलाई स्वीकार गर्न सकेनन् ।

वैशाख २४ गते आफन्तहरू जम्मा भई, राजुको घरमा आए, आयुशालाई लिएर गए । राजुलाई छोरीको उमेर पुगेको छैन भने । घरमा लगेपछि आयुशाको अन्त बिहे गरिदिने कुरा चल्यो । त्यो उनले मानिनन् । आयुशाले जात होइन प्रेम खोजिन् । वैशाख २७ गते करिब बिहान ३ गते आयुशा घरबाट भागेर राजुको घरमा आइन् । उनको परिवार बिहान फेरि राजुको घरमा पुगे । परिवारले छोरी जाम बस्ने होइन यहाँ भने, तर राजु र आयुशाले नछुट्ने निधो गरे ।

गाउँका भद्रभलामी भेला भए छलफल गरे तर आयुशा राजुसँगै बस्ने निचोडमै पुगिन् । आयुशाका आफन्तहरू त्यहाँबाट फर्किए । केही दिनपछि राजुका घरमा प्रहरी पुग्यो । केही कुरा गर्नु छ भनी उनीहरूलाई लिएर आयो । अन्त्यमा दलितसँग बिहे गरेको भनी आयुशाका परिवारले राजुलाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा निवदेन दिए । त्यही निवेदनले आयुशा र राजुलाई छुटायो । राजु प्रहरी हिरासतमा छन्, आयुशा परिवारसँग छिन् ।

यो घटना दाङको घोराही उपमहानगरपालिका १० लमडरुवाको हो । गैरदलित केटीले दलित केटासँगको प्रेम सम्बन्धका कारण विवाह गर्दा केटा र उनको परिवारले भोग्नु परेको अनाहकको सजाय हो, यो । राजुकी आमा बेलु विक भन्छिन्, ‘खोसेर लगे उनी फेरि फर्केर आइन्, अहिले छोरालाई जालझेल गरी जेलमा कोचे । जात नमिल्नेसँग कसरी घरजम गर्न दिने भनी यस्तो गरे ।’

केटीका आफन्तले छुटाउन अनेकौं प्रयास गरे पनि छुटाउन नसक्दा झुटो आरोप लगाउँदै छोरालाई मुद्दा लगाएको पीडितकी आमाको भनाइ छ । उनले भनिन्, ‘कस्तो अन्याय प्रेम र विवाह गर्न दलितले नमिल्ने ? के गर्छ र जातले ?’ 

‘फसाउँछौँ भन्थे रे’



‘आयुशा फर्केर आइन् । तँ त्योसँग बस्ने भए हामीले कि त्यसलाई मार्छम, कि फसाउँछौँ । तँलाई त्यसको कुनै हालतमा हुन दिँदैनौँ । त्यो कुरा हेक्का राखेस् उनलाई थर्काउँथे रे । अन्त्यमा भाइलाई झुठो आरोप लगाए । उनलाई लिएर गए’, पीडितकी दिदी दिलु विकले भनिन्, ‘यो कस्तो पीडा हो । कस्तो अन्याय हो । बलात्कार, प्रेम र विवाह पनि प्रशासनले छुट्याउन नसक्ने ।’ झुठो आरोपमा पनि दलित गरिबलाई फसाउने ।

आफ्नो बोल्ने र अघि सर्ने, प्रहरी प्रशासनमा पहुँच नहुनेलाई यस्तो हुँदो रहेछ । आफ्नो भाइले प्रेम गरी विवाह गर्दा सजाय भोग्नु पर्दाको पीडा उनले यसरी सुनाइन् । उनले थपिन्, ‘केटीका आफन्तले जाजरकोट जस्तै अकालमा ज्यान गुमाउनु पर्ला भनी धम्की समेत दिएका थिए ।’ प्रेम गर्दा ज्यानै गुमाउनुपर्ने, सजाय भोग्नुपर्ने अवस्थाबाट मुक्ति पाउनुको सट्टा उल्टै झुठो आरोप सहनुपर्ने बाध्यता परेको उनको भनाइ छ । राज्यले अन्याय र न्याय छुट्याउन नसक्दा यस्तो भएको उनले बताइन् ।



‘मैले विवाह भनें, बाबुआमाले बलात्कार’

‘हामी प्रहरी कार्यालयमा थियौं । वकिल आयो उजुरी लेख्दै थियो । एक ठाउँमा मैले बलात्कार भन्ने शब्द लेखेको देखेँ । वकिललाई मैले प्रेमपछि विवाह गरेको हुँ भने । बाबुआमा बलात्कार हो भन्नुहुन्छ । मेरा बाबुआमालाई जातमा चित्त नबुझेकाले यस्तो गर्नु भएको हो’, आयुशाले भनिन् ।

भिडियो समेत बनाउँदै उनले यस्तो नगर्न आफन्तलाई आग्रह गरेको सुनाइन् । आफन्तले जात नमिल्दा नै जबरजस्ती झुठो आरोप लगाउँदै आफूहरूलाई छुटाएको समेत उनले केटाका आफन्तसँगको फोन सम्पर्कमा बताएकी छन् । 

यो प्रतिनिधि मूलक घटना मात्र हो । गैरदलित र दलितबीचको प्रेम सम्बन्ध पछिको विवाहमा धेरै दलितहरूले यस्तै पीडा भोग्दै आएका छन् । दलितका सवालमा घटनाहरू तेडमोड भई प्रहरीसम्म पुर्‍याउँदा दलितहरूले झुटो आरोपमा छुट्टिनु पर्ने मात्रै होइन सजाय समेत खेप्नु परिरहेको छ ।

जातीय प्रहार 

प्रेम सम्बन्ध पछिको विवाहमा घटनालाई तोडमोड गरी दलितमाथि गैरदलितले अन्याय गरेको आरोप दाङका अधिकारकर्मी तथा दलित अगुवाहरूको छ ।

प्रहरी प्रशासनले पनि घटनाको अनुसन्धान नगरी उजुरीका आधारमा पक्राउ गरी दलितमाथि अन्याय गरेको दलित अगुवाले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका छन् । 

प्रहरी प्रमुख भन्छन् :  हामीले हेर्ने उजुरी हो

‘हामीले उजुरीमा के छ त्यो कसरी भयो भन्ने कुराको खोजी गर्ने हो । तर, उजुरी पश्चात् घटना के  र कस्तो पनि खोज्नुपर्ने भएकाले राजुको घटना अनुसन्धानका लागि अघि बढेको छ ।’ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले भने, ‘घटनाको छानबिन हुँदैछ । दोषी ठहर भएका कारबाही हुन्छ । निर्दोषलाई सजाय दिने काम प्रशासनले गरेको छैन ।’ पीडितको निवेदनका आधारमा विकलाई पक्राउ गरिएको उनले बताए ।

  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार १७:५३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया