दुई मन्त्रीको जिम्मेवारीसहित कर्णाली सरकारमा जाँदै कांग्रेस

एमालेले समर्थन फिर्ता लिएपछि माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारलाई समर्थन गर्दै आएको नेपाली कांग्रेस अब सरकारमा सहभागी हुने भएको छ । कांग्रेस दुई मन्त्रीसहित सहभागी हुने तयारी गरेको छ ।

आज साँझसम्म सरकारमा जाने मन्त्रीहरू टुङ्ग्याउने र भोलि (शुक्रबार) सपथ लिने गरी सरकारमा जाने तयारी भइरहेको कांग्रेस प्रदेशसभा दलले जानकारी दिएको छ ।  ‘कांग्रेस सरकारमा जाने कुरा पक्का हो’, कांग्रेस प्रदेशसभा सांसद दीनबन्धु श्रेष्ठले भने, ‘सरकारमा क-कसलाई पठाउने भनेर छलफल भइरहेको छ ।’

सरकारमा जानेहरूको नाम साँझसम्म टुङ्गो लाग्ने र भोलि सपथ हुन सक्ने श्रेष्ठले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो । जसमध्ये सामाजिक विकास मन्त्रालयमा सुर्खेतका सांसद यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा मन्त्रालयमा जुम्लाका सांसद दीनबन्धु श्रेष्ठ मन्त्री बन्ने चर्चा चलेको छ ।

कांग्रेसमा पनि बिसी सभापति शेरबहादुर देउवा निकट र श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । श्रेष्ठ सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहेका छन् । यही कारणले गर्दा देउवा पक्ष उनलाई रोक्ने प्रयासमा छ । प्रदेशसभामा कांग्रेसका ६ जना सांसद छन् । तीमध्ये श्रेष्ठ मात्रै पौडेल निकट हुन् । 

एमालेले समर्थन फिर्ता लिएपछि वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत माग्दा कांग्रेसले मत दिएको थियो । एमालेकै चार जना सांसदले फ्लोर क्रस गरेपछि प्रदेश सरकार जोगिएको थियो । 



एमालेबाट फ्लोर क्रस गरेका चारमध्ये तीन जना यस अघि नै मन्त्री भइसकेका छन् भने मत दिएको दुई महिना पुग्न लाग्दा पनि कांग्रेस सरकारमा सहभागी भएको छैन ।

पाँच जना सांसद कारवाहीमा परे सँगै हाल प्रदेशसभामा ३५ सदस्य रहेका छन् । जसमा  एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद रहेका छन् । 



  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार १५:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया