कला र साहित्यका अग्रणी पुरुष: लैनसिंह बाङ्देल

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक स्वार्थमा लाग्ने व्यक्तिहरू औँलामा गन्न सकिन्छ ।  तिनै थोरै व्यक्तिहरूमध्ये अग्र स्थानमा आउँछन् लैनसिंह बाङ्देल ।बाङ्देल कला  र साहित्यमा बढी चिनिए पनि उनको क्षमता यसभन्दा बाहिर थियो । उनी पुरातत्वविद पनि हुन् । उनलाई नेपाली आधुनिक कलाका पिता भनेर पनि चिनिन्छ ।

लैनसिंह बाङ्देलको जन्म सन् १९१९ डिसेम्बर २१ तारिखका दिन बुवा रंगलाल राई र आमा बिमला  राईको काखबाट दार्जिलिङको तकभर चियाबगानमा भएको थियो । उनको बाल्यकाल दार्जिलिङको प्राकृतिक सुन्दरताको अवलोकन गरेरै बित्यो । उनी सानै उमेरदेखि मेधावी स्वभावका थिए । धरणीधर कोइराला, पारसमणि प्रधान र सूर्यप्रसाद ज्ञवालीजस्ता विद्वत सरहरूको संगत पाएका उनी पढाइमा अब्बल थिए । 

लैनसिंहको पुर्ख्याैली घर खोटाङमा थियो । उनका हजुरबुवा रत्नध्वज बाङ्देल खोटाङबाट कामको सिलसिलामा दार्जिलिङ पुगेका थिए । दार्जिलिङमै बसेर काम गर्दागर्दै उनको परिवार प्रवासी बन्न पुग्यो । लैनसिंह सानो उमेरबाट नै निकै राम्रो चित्र बनाउँथे । एकचोटि विद्यालयस्तरको चित्रकला प्रतियोगितामा उनले बनाएको चित्र देखेर एकजना बेलायतीले खुब प्रशंसा गरे ।  त्यो दिनदेखि उनले आफू कलाकै लागि जीवनभर लाग्ने प्रण लिए ।  

उनले सन् १९४८ मा एसएससी पास गरे । कलाप्रतिको रुचीका कारण उनी कला विषयमै केही गर्न चाहन्थे । सोही बमोजिम कलकत्ताको गर्भमेन्ट कलेज अफ आर्ट्स एण्ड क्राफ्टमा भर्ना भई ६ वर्ष अध्ययन गरे । कलाको भूतले उनलाई यति सताएकोे थियो कि उनले यसै क्रममा दुई वर्ष व्यावसायिक कला पनि सिके । 
उनको कलाको भोक मरेको थिएन । जसकारण सन् १९४८ देखि १९५२ सम्म उनले कलकत्ताकै डि.जे किमर भन्ने बेलायती कम्पनीमा  चित्रकलासम्बन्धी काम गरे । कलाको विषयमा अध्ययन गरे पनि उनको रुचि साहित्यमा पनि थियो । त्यसैले उनले प्रभात नामक साहित्यिक पत्रिका निकाली दुई वर्षसम्म सम्पादकको रूपमा काम गरे ।

उनले चित्रकलासम्बन्धी धेरै व्यावहारिक कुुरा सिकेका थिए । सैद्धान्तिक ज्ञान पनि उनमा कम त थिएन । उनी अझ कलामा थप अध्ययन गर्न चाहन्थे । तर कलकत्तामा भने त्यो सम्भव थिएन । कला र साहित्यले कहिल्यै पनि भौगोलिक  दूरी र सीमानाको ख्याल गर्दैन । आफ्नो सीमानाभन्दा पर गएर साधना गर्नु कला र साहित्यप्रेमीको रुचि हुन्छ । त्यसैले उनी जेजस्तो दुःख परे पनि बाहिर गएर अध्ययन गर्ने मनसाय गरे । 

बाहिर जाने मनसाय त बनाए । तर उनीसँग न त प्रशस्त पैसा थियो, न त उनलाई फ्रान्सेली भाषा आउँथ्यो, न त उनका चिनेजानेका कोही आफन्ती नै थिए । जे सुकै भए पनि कलाको बारेमा अध्ययन गरेरै आउँछु भन्ने मनमा दृढ सोच राखेर उनी सन् १९५२ मा पेरिस गए । 



पेरिसमा अध्ययन गर्नु सजिलो थिएन । उनले निकै दुख पाए । अनेक अभावका बाबजुत जिन्दगीलाई अगाडि लानुपर्यो । पेरिसमा अध्ययन गर्ने क्रममा उनको संगत भारतीय कलाकार परितोस सेन र पदमशीसँग भयो । उक्त संगत राम्रो मित्रतामा कायम भयो । उनले पेरिसमा निकै दुख गरेर इकोल दस वक्स आर्ट्स  (Ecole des Beaux Arts) मा चार वर्ष अध्ययन गरे ।

सन् १९५६ मा उनी बेलायत फर्केर डि. जे किमर नामक कम्पनीमा काम गर्न थाले । सोही कम्पनीमा उनले कलकत्ता छँदा पनि काम गरेका थिए । अनेकन हण्डर खाँदाखाँदा उनी कलामा पारङ्गत भइसकेका थिए । 



सन् १९६१ मा उनको भेट नेपालका तत्कालीन राजा महेन्द्रसित बेलायतमा भयो । राजाको आग्रहले उनी नेपाल आए । महेन्द्रको अनुरोधमा उनी नेपाली कलाको पुनर्जागरणमा लागे । नेपाली कलालाई थप उचाइमा पुर्‍याउन उनी दिनरात कसिएर लागे । राजदरबार भनेको सम्भ्रान्त वर्गको लागि मात्र थियो भन्ने कुरालाई राजा महेन्द्रले तोडे । 

महेन्द्रको उदार व्यवहारले नेपाली कला र साहित्यलाई केही हदसम्म अगाडि लैजान सहयोग गर्यो ।  त्यतिबेला देवकोटाको निधन भएकाले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य पद खाली भएको थियो । सोही खाली पदमा उनी बसे । 

सन् १९६८ बाट सन् १९६६९ सम्म उनी अमेरिकाको डेनिसन युनिभर्सिटीमा प्रोफेसरको रुपमा नेपाली कलाको इतिहास पढाउन थाले । यसै गरी उनी राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति र प्रज्ञा प्रतिष्ठानको कुलपति पनि भए । अझ प्रज्ञा प्रतिष्ठानको त आजीवन सदस्य भएर नेपाली कला, भाषा र साहित्यमा योगदान पुर्‍याए ।

उनी स्पेनका कलाकार प्याब्लो पिकासोको चित्रकारिताबाट निकै नै प्रभावित भएका थिए । उनी पश्चिमी चित्रकारितालाई नेपालमा भित्र्याउने पहिलो व्यक्ति पनि हुन् । उनी चित्रमा नयाँ प्रयोग गर्न चाहन्थे । त्यसैले उनका चित्रहरू बढी अमूर्त रहेका छन् । 

कलकत्तामा छँदा त्यहाँका गल्लीहरूमा उनले देखेका गरिबीको चरम सीमा उनका मनमा खिलजस्तै गढेको थियो । त्यसैले उनका चित्रमा मानिसका  रोदन, क्रन्दन र पीडा देख्न सकिन्छ । मानव जीवनका पीडा, चित्कार, कष्टलाई कलाका माध्यमबाट व्यक्त गर्न सक्ने बाङ्देलका रंगले उनले बाँचेको समय दर्शाएका छन्, त्यतिबेलाको समय देखाएका छन् ।  उनको चित्रकलामा यति भोक थियो कि दिनमा सोह्र घण्टासम्म चित्र कोरेर बस्थे । उनले दुई हजारभन्दा बढी चित्र बनाए । उनका चित्र अमेरिका, फ्रान्स, बेलायत, जापान र भारत आदि मुलुकमा प्रदर्शनीमा राखिएको थियो । 

कलासँगै उनको रुचि साहित्यमा पनि थियो । उनले पहिलो कृतिको रूपमा विश्वकथा संग्रह निकाले । जुन कथा संग्रहमा उनले मोपासाँ, एड्गर एलन पो, लियो टाल्स्यटाय र एन्टोन चेखोबजस्ता चर्चित लेखकको कथालाई नेपालीमा अनुवाद गरेर नेपाली साहित्यिक पाठकहरूलाई विदेशी साहित्यप्रतिको हुटहुटीलाई जगाइदिए । उनले जस्ताको त्यस्तै मूल भाषाको स्वाद आफ्नो कृतिमा अनुवाद गरेका छन् । उनले विश्वका ६ कलाकार नामक जीवनी लेखेर नेपालीहरूलाई कलाप्रति आकृष्ट गर्ने प्रयत्न गरेको पाइन्छ ।

उनले मुलुकबाहिर जस्तो उपन्यास लेखेर प्रवासी नेपालीले जीवन जिउने क्रममा आइपर्ने पीडाहरूलाई कसरी आत्मसात गर्छन् भन्ने कुरा स्पष्ट पारेका छन् । लङ्गडाको साथी उपन्यासमा समाजको यथार्थलाई जस्ताको त्यस्तै उतारेका छन् । माइतीघर उपन्यासमा हरि र सानीको प्रेम प्रसंग देखाउँदै नेपालीहरूको प्रेमबारेमा भएको सङ्कुचित सोचलाई उदाङ्ग पारेका छन् ।

 उनी भारतीय साहित्यकार रविन्द्रनाथ टैगोर र प्रेमचन्दको लेखन शैलीबाट निकै नै प्रभावित भएका छन् । समाजको यथार्थमै रहेर उनी आफ्नो साहित्यिक कृतिलाई फुलाउने र फलाउने काम गरे ।   यसै गरी उनले रेम्ब्रान्ट उपन्यास अनि युरोपको चिठी, रोमको एउटा फूल र पेरिसको काँडा नियात्रा निबन्ध लेखे ।

स्टोलन इमेजेज अफ नेपाल नामक किताब लेखेर उनले चोरिएर विदेश लगिएका नेपालका मूर्तिहरु नेपाल फिर्ता गरे । यसै गरी  २५०० इयर्स अफ नेपलिज आर्ट र अर्ली स्कल्पचर अफ नेपाल नामक पुस्तक पनि लेखे । यी तीनवटै पुस्तक अङ्ग्रेजीमा लेखी नेपाली कलाको बारेमा संसारभर चिनाउने काम गरेर नेपाली कलाको उत्थानमा महत्वपूर्ण भूमिका खेले ।

बाङ्गदेलले कला र साहित्यको क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर गर्दै वीरेन्द्र प्रज्ञालङ्कार, गोरखा दक्षिणबाहु  पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार, भूपालमानसिंह पुरस्कार, उत्तमशान्ति पुरस्कार र सरस्वती पुरस्कारबाट सम्मानित भएका छन् । यसै गरी नेपाली सम्मानका अलवा बेलायती ‘नाइट कमान्डर अफ रोयल भिक्टोरियन अर्डर’ बाट सम्मानित हुने व्यक्तित्व पनि हुन् । उनी नेपाली भाषा बाहेक हिन्दी, फ्रेन्च, अङ्ग्रेजी, जर्मन र बङ्गाली भाषा मजाले बोल्न सक्थे । पेरिसमा गई कलाको बारेमा अध्ययन र काम गर्ने उनी पहिलो नेपाली हुन् । 

बाङ्गदेलले आफ्नो जीवन देशकै निम्ति लगाए । व्यक्तिगत स्वार्थमा उनी कहिल्यै रुमलिएनन् । जीवनभर अनेकन अन्वेषण गरे । पुरातत्वविद भई अनेक नेपाली संस्कृतिको उत्खनन गरे । नेपाली कला, भाषा र साहित्यको क्षेत्रमा काम गर्दागर्दै सन् २००३ को अक्टोबर १५ मा ८३ वर्षको उमेरमा आफ्नो प्राण त्याग  गरे । नेपाली कला, भाषा र साहित्यमा उनले पुर्‍याएकाे योगदान अविस्मरणीय छ । उनी मरेर गए पनि नेपालीहरूको मनमा उनी सधैँ छाइरहनेछन् । 
 

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १७:५०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया