मन्त्रिपरिषद् विस्तार गर्दै ओली : गृहमा प्रदीप ज्ञवाली र सञ्चारमा महेश बस्नेतको सम्भावना
तीनदेखि चारवटा मन्त्रालयमा मन्त्री थपिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार तयारी गरेका छन्। जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहबाट आठ मन्त्री र दुई राज्यमन्त्री समेटेर शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका ओली आइतवार विस्तार तयारी गरेका हुन्। 

स्रोतका अुनसार सम्भवत आइतवार एमालेबाट तीनदेखि चारजना नयाँ मन्त्री थपिने सम्भावना छ। ओलीले गृह, रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैँसँग राखेका छन्। 

माधव नेपाल समूहका केही नेताहरुसँग व्यक्तिगत तहमा वार्तामा रहेका ओलीले सातवटा मन्त्रालय आफैंसँग राख्नुलाई अर्थपूर्ण मानिएको छ। उनले सातमध्ये कम्तीमा चार मन्त्रालयमा आइतवार नयाँ मन्त्री ल्याउने सम्भावना छ। 

थपिने मन्त्रीहरूमा हिजो मात्रै सरकारबाट बाहिरिएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको पनि नाम चर्चामा छ। उनी सवा तीन वर्ष परराष्ट्रमा बसेर बाहिरिएका थिए। ज्ञवालीलाई ओलीले गृहमन्त्रालयमा तान्ने योजनासहित छलफल अघि बढाइरहेको स्रोतले जनाएको छ।

दाबी महेशको 



भक्तपुरका नेता महेश बस्नेतले यसअघि गृहमन्त्रीमा दाबेदारी पेश गरेका थिए। तर उनको नाम गृहका लागि आएपछि एमालेभित्र विवाद भएको थियो। प्रधानमन्त्री ओलीले नेता बस्नेतलाई रामबहादुर थापा बादलको स्थानमा गृहमन्त्री बनाउन चाहेपछि विवाद भएको थियो।
 
निवर्तमान गृहमन्त्री बादलले मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर शुक्रबारै प्रधानमन्त्रीलाई भेटेर नै आपत्ति जनाइसकेका छन्। बादलको ठाउँमा महेशलाई लैजाने प्रधानमन्त्रीको चाहनामा राष्ट्रपति विद्यादेवी भण्डारी पनि बाधक बनेकी छन्। 

तत्कालीन संघीय समाजवादी फोरमका सांसद सुरेन्द्र यादवसहितलाई अपहरण गरेको आरोपले एक वर्षदेखि विवादमा परेका बस्नेतलाई त्यहीकारण राष्ट्रपतिले पनि गृहमन्त्रीका रुपमा नरुचाएकी हुन्। 



स्रोतका अनुसार प्रधानमन्त्रीले बस्नेतलाई यदि विवाद नभएको भए हिजै गृहमन्त्रीका रुपमा नियुक्त गर्ने तयारी गरेका थिए।  तर एमाले भित्रैको विवाद र राष्ट्रपतिको समेत अनिच्छाले महेशको गृहमन्त्री बन्ने योजनामा धक्का लागेको छ। 

राष्ट्रपतिले महेशको नाम गृहमन्त्रीका रुपमा आएमा सपथसम्म गराउन आफू तयार नहुने जनाउ प्रधानमन्त्रीलाई दिएकी थिइन्। एमाले भित्रैका केही नेताहरुले पनि बस्नेतलाई गृहमन्त्री दिँदा ठीक नहुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए। 

त्यसपछि ओलीले विकल्प खोज्न थालेका थिए। विकल्पका रुपमा परराष्ट्रबाट बाहिरिएका ज्ञवालीलाई गृहमा लाने गरी ओलीले छलफल थालेका हुन्। 

महेशलाई गृहमा लाने कुरा विवादित भएपछि ओलीले वैकल्पिक मन्त्रालय खोजी गरेका छन्। महेशलाई आफैंसँग राखेको सञ्चार प्रविधि तथा सूचना मन्त्रालयको जिम्मेवारी दिने योजना ओलीले बनाएको स्रोतको दाबी छ। 

उता गृहमा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले पनि दाबी गरेका छन्। उनले गृहमा दाबी गरे पनि ओलीले ज्ञवालीलाई रोजेको बताइएको छ। ओलीले तत्कालै महेश र प्रदीपसँगै नारदमुणि राना र निरु पाललाई पनि मन्त्री बनाउन सक्नेछन्। 

यो पटक मन्त्रीका दावेदारमा खोटाङका विशाल भट्टराई, धनकुटाका राजेन्द्र राई, संखुवासभाका राजेन्द्र गौतम पनि छन्। तर उनीहरुलाई मन्त्रीका रुपमा लैजाने कुरा अझै अनिश्चित छ। 

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर सातवटा मन्त्रालय आफैसँग राखेका छन्। माधव पक्षका केही नेता आउन सक्ने उनको आँकलन छ। अर्कातिर माओवादीबाट आएका नेताहरुको मुद्दा पनि सर्वोच्चले टुंग्याउन सक्ने सम्भावनाबीच ओलीले ती मन्त्रालय होल्डमा राखेका हुन्। 

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार २२:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया