वीरगन्ज महानगरभित्र विद्यार्थीको दिवा खाजामा गोलमाल

विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने हेतुले सरकारले सबै सरकारी विद्यालयमा दिवा खाजाको सुविधा दिएको छ । सरकारी विद्यालयमा कम भर्ना हुने र बीचमै पढाइ प्रवृत्ति बढ्दै गएपछि विद्यार्थी आकर्षण गर्नका लागि सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो ।  प्राथमिक तहसम्मका विद्यार्थीहरूलाई मात्र यो सुविधा छ।

सरकारले राम्रो उद्देश्यले ल्याएको यस कार्यक्रममा खुलेआम भ्रष्टाचार भइरहेको पाइएको छ । त्यो पनि सरकारी कर्मचारीबाट । तर सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ ।

अनुगमन तथा कारबाही गर्ने निकाय नै मौन बसेपछि विषय शंकास्पद बनेको छ । घटना हो, वीरगन्ज महानगरपालिकाको ।

वीरगन्ज महानगरपालिकामा दिवा खाजा बापत दिने रकम अहिले धमाधम निकासा भइरहेको छ । आर्थिक वर्ष सकिन लाग्दा बजेट सिध्याउने उद्देश्यले हुँदै नभएको कार्यक्रमको  पैसा पनि निकासा गर्न थालिएको छ।

स्रोतका अनुसार वीरगन्ज महानगरपालिकाका कर्मचारीले लेनदेनको आधारमा कागजी प्रक्रिया पूरा गरेर सञ्चालन नै नभएको कार्यक्रम अन्तर्गतको दिवा खाजाको रकम निकासा गरेका छन् ।

के गरेको छ महानगरपालिकाले ?



वीरगन्ज महानगरपालिकाले अहिले आफ्नो नगरभित्र पर्ने सबै प्राथमिक तहका विद्यालयमा दिवा खाजा बापत दिने रकम धमाधम निकासा गरिरहेको छ । महानगर  क्षेत्रमा रहेका ८९ वटा विद्यालयमा रकम पठाइएको छ । एकदिनको प्रतिविद्यार्थी १५ रुपैयाँका दरले महानगरपालिकाले विद्यालयमा रहेको विद्यार्थी संख्याको आधारमा रकम पठाएको छ ।
 
फागुन र चैत महिनामा विद्यालय सञ्चालन भएको रजिष्टरमा देखाउँदै महानगरपालिकाले दिवा खाजाको रकम निकासा गरेको दिवा खाजाबापत रकम पाएका एक विद्यालयका प्रधानाध्यापकले बताए । उनका अनुसार यो रकम कागजी रूपमा सबै प्रक्रिया पूरा गरेर विद्यालयमा पठाइएको छ । ‘तर वास्तविक रूपमा दिवा खाजा खुवाइएको छैन,’उनले भने ।

ती प्रधानाध्यापक मात्रै नभई शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप कुमार जैसवालले पनि यस कुरासँग विमति रहेको प्रतिक्रिया दिए । ‘खाजा खुवाउँदा पहिला नै पैसा आउँछ । त्यसपछि विद्यालयले खाजा खुवाउने गरेको छ' जैसवालले । उनका अनुसार विद्यालयलाई खाजाको रकम दिने भन्दै महानगरले मौखिक आश्वासन दिएको थियो ।  यो आश्वासनको भरमा केहीले खाजा खुवाए । रकम निकासा हुने होकी होइन भन्ने आशंकाका कारण अधिकांशले खाजा खुवाएनन् ।  



तर अहिले दुई महिनाको रकम भने भने सबै विद्यालयमा आएको छ । यो दुई महिनामा मात्रै महानगरबाट दिवा खाजा बापत १ करोडभन्दा बढी रकम निकासा भएको छ।

किन पठाइयो रकम ?

विद्यालयहरू संचालन रहँदा भने महानगरपालिकाले रकम पठाएको थिएन । रकम नपठाएसम्म विद्यालयले दिवा खाजा खुवाउँदैन पनि । महानगरले यो वर्ष दिवा खाजा बापतको रकम नपठाउने तयारीमा पनि थियो ।
 
तर आर्थिक वर्ष सकिन लाग्दा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णको समन्वयमा एकाएक रकम  निकासा भएको छ । स्रोतका अनुसार शैक्षिक महाशाखा प्रमुख कर्णले कार्यकारी प्रमुख प्रदीप निरौलासँग सबै तालमेल मिलाएर रकम निकासा गराएका हुन् ।

रकम पाएका एक विद्यालयका प्रधानाध्यापक भन्छन्, ‘यो रकम आउने आशा थिएन, तर कर्ण सरले यो सबै मिलाउनु भयो । अनि रकम पनि आयो । निकासा भएको रकमको ६० प्रतिशत आफूहरूले लिने र ४० प्रतिशतमात्रै  विद्यालयलाई दिने भन्नु भयो । यही सहमतिको आधारमा रकम आयो ।’ 

यता महानगरले भने यस कुरामा विमति जनाएको छ। महानगरपालिकाका लेखा शाखामा कार्यरत राजन दासले दिवा खाजा खुवाएकै विद्यालयहरूमा रकम गएको उनको प्रतिक्रिया छ । उनका अनुसार फागुन र चैतमा खाजा खुवाएका विद्यालयहरूमा मात्रै त्यो बापतको रकम गएको हो ।

मेयर भन्छन्-डेढ महिनादेखि विद्यालय बन्द छ 

वीरगन्ज महानगर प्रमुख विजय सरावगीले यो बारेमा आफूलाई केही थाहै नभएको जानकारी दिए । उनी भन्छन्, ‘दिवा खाजाको रकम त अहिले नजानु पर्ने हो, किनकि डेढ महिनाभन्दा बढी समयदेखि विद्यालयहरू बन्द नै छन् ।  यसबारे आफूले म छानबिन गर्ने प्रतिबद्धता  सरावगीले जनाए ।

महानगरपालिकाका प्रमुख कार्यकारिणी अधिकृत प्रदीप निरौलाले पनि यसखालको चलखेल कसरी भयो भनेर अनविज्ञता प्रकट गरे । सम्बन्धित् शाखा प्रमुखसँग सोधखोज गरेर छानबिन गर्ने उनले प्रतिक्रिया दिए ।
 

  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १४:५७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया