ओलीले नेकपा फुटको दोष लगाएपछि प्रचण्डको जवाफ : झुठ, भ्रामक र षड्यन्त्रपूर्ण

तत्कालीन नेकपा एकता प्रयास असफल भएको दोष केपी शर्मा ओलीले आफूमाथि लगाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ फर्काएका छन्। 

माधवकुमार नेपाल समूहका नेता-कार्यकर्तालाई मनाउन आइतवार राति प्रधानमन्त्री ओलीले एकताका लागि आह्वान गरेको ६ बुँदे प्रस्तावमा नेपाल कम्युनिस्ट पार्टी विभाजन हुनुको दोष पुष्पकमल दाहाल प्रचण्डलाई लगाइएको थियो। 

ओलीको उक्त टिप्पणीको जवाफ दिँदै प्रचण्डले कडा टिप्पणी गरेका छन्। 'प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका कारण नेकपा एकता प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ,' प्रचण्डले सोमवार दिउँसो सामाजिक सञ्जालमा भनेका छन्, 'त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।'

एमाले अध्यक्ष ओलीले आइतवार राति प्रचण्डले नचाहेकाले तत्कालीन नेकपा खारेजीमा परेको जिकिर गरेका थिए। एमालेमा देखिएको विवाद समाधानका लागि पहलकदमी लिँदै आइबार साँझ एक वक्तव्य निकालेर ओलीले सर्वोच्च अदालतको फागुन २३ को फैसलाबाट नेकपाको एकता भंग नगरेको दाबी गरेका थिए। उनले सर्वोच्चले नेकपा नाम ऋषि कट्टेललाई दिएपछि अर्को लिएर निर्वाचन आयोगमा जान भनेको पनि सम्झाएका थिए।

ओलीले अदालतको फैसलापछि निर्वाचन आयोगले १५ दिनको समय दिएर अर्को पार्टी दर्ताका लागि बोलाउँदा पनि प्रचण्ड जान तयार नभएपछि नेकपाको एकता भाँडिएको बताएका थिए।



‘कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर मात्रै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ हामीले २०७५ जेठ ३ मा पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरेका थियौं,' ओलीले भनेका थिए, 'एकीकरणको मुख्य पहलकर्ता र प्रस्तावकका रुपमा मेरो भूमिका कस्तो थियो भन्ने कुरा यहाँ दोहर्याइरहन आवश्यक देख्दिनँ। तर त्यो एकीकरण निष्कर्षमा पुग्न सकेन।'



ओलीले यसका कारणबारे धेरै भन्न जरुरी नरहेको पनि उल्लेख गरेका थिए। ‘२०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला एकीकरण प्रक्रिया भङ्ग हुनुको मुख्य कारण थियो भनेर कतिपयले टिप्पणी गर्छन् । तर यो यथार्थ होइन', उनले भनेका थिए, 'सर्वोच्च अदालतले त नेपाल कम्युनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेकाले त्यससँग नाम जुझ्ने गरी गरिएको दर्ता मिलेन भनेको मात्रै हो।'

सर्वोच्चले एकता कायमै राख्ने भए नयाँ नाम लिएर आउन भनेको पनि उनले बताएका थिए। 'एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो । र, त्यसका लागि समय पनि दिएको हो', उनले भनेका थिए, 'पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफैँ पहल पनि लिएको हुँ । तर 'प्रचण्ड' को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन।’

  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १३:३०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया