प्रदेश २ मा कांग्रेस र माओवादीलाई सरकारमा भित्र्याउन छलफल

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग गठबन्धनको प्रयास थालेका छन् । 

सरकारमा सहभागी हुन कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालय सहित ३ र माओवादी केन्द्रले २ वटा मन्त्रालय मागेको स्रोतले जनाएको छ । 

कांग्रेस र नेकपा माओवादी केन्द्रसँग वार्ताका लागि जिम्मेवारी पाएका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले आज बिहानै कांग्रेस र माओवादीका संसदीय दलका नेताहरुसँग छलफल गरेका छन् । 

छलफलमा कांग्रेसको तर्फबाट दलका सचेतक उपेन्द्र कुशवाहा, शिवचन्द्र चौधरी र वीरेन्द्र साह पनि सहभागी थिए ।

उनीहरू बीचको छलफलमा कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले सुरुमा मुख्यमन्त्री र सभामुखमा दावी गरेका थिए । तर पछि तीन मन्त्रालय दिने विषयमा लगभग कुरा मिलेको बताइएको छ । बिहानको छलफल सकारात्मक रहेको र साँझतर्फ करिब-करिब टुंगाे लाग्ने कांग्रेसका एक सांसदले जानकारी दिए ।

यता ८ जना सांसद रहेका माओवादी केन्द्रले सरकारमा सहभागी हुन दुई मन्त्रालय र दुई राज्यमन्त्री मागेका छन् ।  माओवादीका एक सांसदले भने,‘हामीले दुईजना मन्त्री र दुईजना राज्यमन्त्री मागेका छौँ । सहमति करिब जुट्ने सम्भावना नै छ । थप छलफलपछि निष्कर्ष लाग्छ ।’ 



कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन केही मन्त्रालय टुक्राउने सम्भावना रहेको स्रोतले बताएको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले सरकारमा सहभागी हुने विषयमा जसपा उपेन्द्र यादव पक्षले चार-पाँच चरणमा माओवादी केन्द्रसँग वार्ता तथा छलफल भएको बताए । 



उनले भने, ‘पटक-पटक भएको वार्ता तथा छलफल सकारात्मक छ। सरकारले ल्याउन लागेको बजेट र नीति तथा कार्यक्रममा हाम्रो पार्टीको तर्फबाट केही प्रस्ताव पेस गर्नुपर्ने हाम्रो सर्त छ। यसका लागि सरकार पनि लगभग तयार छ ।' 

आज साँझ हुने भनिएको छलफलमा मन्त्रालयको टुङ्गो लगाई राति अथवा भोलिसम्ममा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने जनाइएकाे छ ।

  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १५:३९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया