गण्डकीमा माधव पक्षका सांसद एकजना मात्रै, के गर्लान् मुख्यमन्त्रीको विश्वासको मतमा ?

सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल पक्षका सांसदले नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि गण्डकीमा पनि सांसद इन्द्रलाल सापकोटाको चर्चा हुन थालेको छ ।

विपक्षी गठबन्धनलाई सापकोटाले सहयोग गर्दा अर्थात् फ्लोर क्रस गर्दा बहुमत पुग्छ । उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत देलान् कि नदेलान् भन्नेमा धेरैको जिज्ञासा छ । 

उनले कर्णाली र सुदूरपश्चिम प्रदेशमाजस्तै नेपाल पक्षको योजनाअनुरुप लागेको अवस्थामा भने गण्डकीमा एमाले सरकार ढल्नेछ ।

यद्यपि सापकोटाले भने आफूले संसदीय मूल्य र कार्यकर्ताको मनोभावनाविपरीत काम नगर्ने बताएका छन् । सापकोटाले भने, ‘यहाँ संसदीय दल एउटै छ, दलको निर्णय नै मेरो पनि निर्णय हुन्छ, जुन जनचाहना हो ।’

आफू कुनै निर्णायक नभएको र पदको लोभ पनि नभएको उललेख गर्दै उनले भने, ‘मलाई मुख्यमन्त्रीसँग नजिक हुनु पनि छैन र संसदीय दलको निर्णयविपरीत जानु पनि छैन ।’ सापकोटाले जनताको प्रतिनिधि भएकाले कम्युनिस्ट पार्टीबाट जितेको र सोहीअनुसारको व्यवहार आफूले गर्नुपर्ने बताए । 

‘म तटस्थ बस्दा वा राजीनामा दिँदा जनताको मतको के कदर होला वा मेरो राजनीतिक जीवनको के होला ?’ सापकोटाले भने, ‘अन्त के गरे भन्ने होइन, हाम्रोमा अवस्था के छ भन्ने कुरालाई मूल्याङ्कन गर्ने हो ।’



उनले वामपन्थी पृष्ठभूमिमै रहेर राजनीतिमा रहने प्रस्ट पारे । सापकोटाले विपक्षीलाई मतदान नगर्दा प्रदेशमा कसैको पनि बहुमतको सम्भावना छैन ।  

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार संसद्मा विश्वासको मत लिँदै छन् । साठी सदस्य रहेको गण्डकी प्रदेशमा अहिले बहुमत पुर्याउन ३१ सांसदको समर्थन चाहिन्छ । विश्वासको मतमा ३१ मत नभएसम्म गण्डकीको राजनीतिक टुङ्गोमा पुग्दैन । 



पछिल्लो घटनाक्रम र अङ्क गणितलाई हेर्दा दुवै पक्षमा बहुमत जुट्ने सम्भावना कम छ । विपक्षी गठबन्धनमा लागेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पार्टीको निर्णयभन्दा विपरीत पृथ्वी सुब्बा नेतृत्वको सरकारलाई समर्थन गर्ने दोहोर्याउँदै आएका छन् । 

संसद्मा अहिले विपक्षी गठबन्धनमा खुलेको ३० र सरकार पक्षमा खुलेका २८ मत छ । विपक्षमा नेपाली कांग्रेस १५, माओवादी ११ (सभामुखबाहेक) र जनता समाजवादी पार्टीका दुई तथा राष्ट्रिय जनमोर्चाका दुई सांसद छन् ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १८:४९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया