योगेश भट्टराईः आफू गएनन्, पहाडीलाई सरकारमा पठाए !

पछिल्लो समय नेकपा (एमाले)मा माधवकुमार नेपाल पक्षमा भए पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सफ्ट कर्नर राखिरहेका नेता योगेश भट्टराई बिहीबार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गरेपछि फेरि चर्चामा आएका छन्।

तर, यसपटक उनी मन्त्री भएकाले चर्चामा आएका होइनन्।

यो प्रतिनिधिसभाको बैठकपछि प्रत्येक पटक मन्त्रिमण्डल बन्दा चर्चामा आइरहन्छन्, योगेश। उनी बारम्बार चर्चामा आउनुको कारण चाहिँ २०७४ सालको निर्वाचनको समयमा प्रधानमन्त्री ओलीले ताप्लेजुङमा भाषण गर्दै उनलाई मन्त्री बनाउँछु भन्ने वाचा गरेकाले हो।

यसपटक भट्टराई चर्चामा आउनुको कारण चाहिँ उनीनिकट गणेश पहाडी मन्त्रीमण्डलमा सहभागी हुनु हो।

मन्त्रीमण्डलमा पहाडी सहभागी भएपछि भट्टराईले आफू ओली पक्षमा खुलेर लागि नसके पनि आफूनिकटलाई ओली सरकारमा सहभागी गराएको चर्चा चल्न थालेको छ। यो भट्टराई र पहाडीको निकट सम्बन्धका कारण चलेको चर्चा हो। पहाडी २०५४ सालमा एमाले विभाजन हुँदा मालेमा लागेका थिए। 

‘पहाडी र भट्टराईको सम्बन्ध कति निकट छ भने भट्टराईले एक्लै नयाँ पार्टी खोले भने पनि पहाडीले भट्टराईको नै साथ दिनेछन्,’ उनीहरुनिकट एक नेताले फरकधारलाई बताए। 



यसअघि ओलीले जारी गरेको ६ बुँदे प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिएका योगेश भट्टराईले पनि माधव नेपाल समूह छाडेर ओली समूहमा लागेको हुनसक्ने अनुमान गरिएको थियो। तर, अहिले सम्म उनी नेपाल समूहमा नै छन्। २७ गते संसदमा विश्वासको मत दिन पहाडी अनुपस्थित थिए।

पछिल्लो समय योगेश नेकपा एमालेलाई मिलाउने अभियानमा छन्। पहाडी नेकपा खारेज भएयता माधवकुमार नेपाल समूहमा सक्रिय थिए। तर पछिल्लो समय उनी ओली समूहतिर ढल्किएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा विश्वासको मत लिँदा संसदमा अनुपस्थित उनले त्यसपछि नेपाल समूहलाई छाडेका थिए। 



नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीसहितका नेताहरुसँग बाक्लो सम्वाद गरिरहँदा उनी पनि सक्रिय थिए। ओली र माधवकुमार नेपालबीच संवाद टुटेको अवस्थामा गत वैशाख २२ गते योगेश र एमाले महासचिव ईश्वर पोखरेलबीच सिंहदरबारमा वार्ता भएको थियो। त्यस वार्तामा पहाडी पनि सहभागी भएका थिए। 

योगेश आफैँ पनि एमाले विभाजित भएको अवस्थामा संस्थापनमै रहने पक्षमा छन्। उनले एमाले विभाजनलाई रोक्न पछिल्लो समय निरन्तर संवाद गरिरहेका छन्। 

योगेशले संवाद गरिरहँदा जेठ ७ मा माधवकुमार नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्। उनीसँगै पहाडीले पनि हस्ताक्षर नगरेर नेपाल समूह छाडेको संकेत गरेका थिए। 

अन्तत: ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषद्‍मा सिन्धुलीबाट दुई पटक निर्वाचित पहाडीलाई सामान्य प्रशासन मन्त्री बनाएका हुन्। पहाडीले देउवाको समर्थनमा हस्ताक्षर नगरेपछि आफू मूल पार्टी एमालेमा नै रहेको बताउँदै आएका थिए।

यसपटक मन्त्रिमण्डल गठन गर्दा ओली पक्षमा खुलेमा भट्टराईले पनि मन्त्री पद पाउने निश्चित थियो। भट्टराई यही साता नेकपा एमाले एकता आह्वानका लागि ओलीले जारी गरेको ६ बुँदे प्रस्तावको पनि खुलेर स्वागत गरेका थिए।

यसअघि समिट होटलमा भएको नेकपा एमालेको दोस्रो तहका नेताहरुको छलफलमा चाहिँ उनी सहभागी भएका थिएनन्। यसअघि बेलाबेलामा प्रधानमन्त्री ओलीका अभिव्यक्तिको समर्थन गरेकाले भट्टराईले माधव नेपाल पक्ष छोडेको पनि बताउन थालिएको थियो।

‘पहाडी मन्त्री बन्नु भनेको भट्टराई नै सरकारमा सहभागी हुनु जस्तै हो,’ नेकपा एमाले माधव पक्षका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १६:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया