Mon, 19 Nov, 2018


जसले ९ प्रधानमन्त्रीका गाडी चलाए
राेशन सिग्देल  |  असोज २, २०७५

विष्णुप्रसाद लामिछाने धुलिखेल–काठमाडौं गुड्ने ट्याक्सी चलाउँथे । 

यो ठिक ३३ वर्षअघिको कुरा हो । एकदिन उनी ट्याक्सी लिएर आएपछि धुलिखेल ‘फर्किएनन्’ । लिटरल्ली भन्नुपर्दा उनका लागि सिंहदरबार ब्ल्याकहोल सावित भयो ।

एकदिन उनको ट्याक्सीका ग्राहक बन्न आए, शैलेन्द्रकुमार उपाध्याय । उपाध्यायलाई भाडामा गाडी चाहिएको थियो । लामिछानेले आफ्नो गाडीका लागि दुवै नम्बर लिएका थिए, प्राइभेट र ट्याक्सी ।

ग्राहक उपाध्याय गाडी खोज्दै गर्दा लामिछाने भेटिनु लामिछानेका लागि जिन्दगीको युटर्न सावित भयो । 

‘उहाँलाई कसले भनिदिएछ मेरो गाडी छ भनेर,’ ३३ वर्षअघिको दिनमा फर्किए लामिछाने, ‘उहाँसँग पहिलो कुराकानी सफल भयो, कुराकानी, उहाँले मेरो गाडी भाडामा लिने क्रम लामो समयपछिसम्म चलिरह्यो ।’

उपाध्यायले लामिछानेको गाडी पाए, लामिछानेले नयाँ सम्बन्ध– अथिति सत्कार विभागका निर्देशकसँगको चिनाजानी ।

‘म एउटा मान्छे चिनेपछि सम्बन्ध बनाइहाल्थेँ, डाइरेक्टर साबसँग मलाई जागिर दिनु न भन्न थालेँ,’ त्यो सम्झनाले अहिले पनि लामिछानेको अनुहारमा खुसीको फोहोरा छुट्छ ।

यो खुसी अद्यापि किन पनि छ भने तिनै निर्देशकको सहयोगमा लामिछानेले २०४२ सालमा सिंहदरबारमा जागिर पाएका थिए ।

लामिछानेको जागिरे जीवन सुरु भयो । उनका ट्याक्सी ग्राहक उपाध्यायले पनि राजनीतिक फड्को मारे, मन्त्री भए । यो सन् १९८६ को कुरा थियो ।

लामिछानेको सौभाग्य, उपाध्याय परराष्ट्रमन्त्री भएलगत्तै मन्त्रालयमा उनका लागि ड्राइभरको खोजी थियो । पहिले देखि नै उपाध्यायलाई चिनेकाले लामिछानेले ‘ड्राइभर’ छानिए ।

‘उहाँ त पहिले मेरो ग्राहक हुनुहुन्थ्यो,’ लामिछानेले भने, ‘त्यसैले ड्युटी सजिलो भयो ।’

मन्त्रीका चालक भएका लामिछानेले सरकारी सुचना सहजै थाहा पाउँथे । त्यही क्रममा उनले थाहा पाए, मन्त्रालयका लागि कर्मचारीको दरखास्त आह्वान गरिएको छ ।

उनले आवेदन दिए । नाम निकालेँ । अनि सरकारका स्थायी जागिरे भए ।

उनको जागिर थियो– मन्त्रीको गाडी चलाउनु । यो काम त उनले पहिले देखि नै गर्दै आएका थिए, त्यसैले उनलाई कहिल्यै अप्ठ्यारो महसुस भएन । आखिर उनले उपाध्यायसँग काम गर्न थालेको केही समय भएकै थियो ।

‘२०४३ साल चैत २ गते म सरकारी जागिरे भएँ,’ उनले सम्झिए, ‘मसँगै त्यति बेला मेरो एकजना साथी गणेश कार्कीले पनि आवेदन दिएको थियो, उसको पनि नाम निस्किएको थियो ।’

लामिछाने परराष्ट्रमन्त्रीको ड्राइभर हुनु उनका लागि के फाइदा किन भयो भने उनलाई देश विदेशमा हुने घटनाक्रम पनि थाहा हुन थाल्यो । 

र, यो त्यो समय थियो जब नेपाल–भारतबीच सम्बन्ध सुमधुर थिएन ।

लामिछाने परराष्ट्रमन्त्री शैलेन्द्रको ड्राइभर हुँदा नै थाहा पाए, नेपालले भारतलाई केही पैसा तिर्नु पर्ने रहेछ ।

‘प्लेनमा पैसा पठाउने कुरा थियो, मन्त्रीज्यू पैसा पुर्याउन एयरपोर्ट जाने हुनु भयो,’ उनले त्यो दिन सम्झिए, ‘हामी तीन बजेतिर गएका थियौँ, तर भारतले पैसा लिन मानेन ।’ 

त्यो समयमा पनि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो ।

तत्कालै प्रधानमन्त्री मरिचमान सिंहले राती एक बजे क्याबिनेट मिटिङ डाके ! राती चार बजेसम्म बालुवाटारमा क्याबिनेट मिटिङ बस्यो । शैलेन्द्रलाई कुरेर लामिछाने बालुवाटारमा नै बस्ने भयो ।

बिहान चार बजे क्याबिनेट मिटिङ सकिएको केही समयपछि लामिछाने फेरि शैलेन्द्रलाई लिएर एयरपोर्ट पुगे । उनीहरु फर्किएपछि त्रिभुवन विमानस्थलबाट भारतको पैसा लिएको जहाज उड्यो ।

शैलेन्द्रले भक्तपुर र बिबिसीसँगको अन्तर्वार्तामा प्रजातन्त्रको कुरा गरे । पञ्चायती मन्त्री भएकाले उनले प्रजातन्त्रको कुरा गर्नु शोभनीय थिएन । लामिछानेका अनुसार यही कारणले उनलाई राजिनामा दिन लगाइयो ।

शैलेन्द्रको मन्त्री पद गुम्यो, लामिछानेको ड्राइभरी !

तर, लामिछाने लोकसेवाबाट पास कर्मचारी थिए । परराष्ट्रमन्त्रीको ड्राइभरबाट हटे पनि उनको पोस्टिङ सिंहदरबारमा नै भयो ।

उनले विभाग पाए– अतिथि सत्कार ।

यो विभागको एउटै काम भनेको विदेशी सत्कार गर्नु थियो । विदेशबाट आउने पाहुनाहरुका लागि गाडी देखि बस्ने ठाउँको बन्दोबस्त गर्नुपथ्र्यो ।

तर, त्यही विभागमा उनी लामो समय बसेनन् ।

मरिचमान पछि प्रधानमन्त्रीमा लोकेन्द्रबहादुर चन्द आए । त्यसपछि कृष्णप्रसाद भट्टराई । 

त्यति बेलासम्म लामिछाने प्रधानमन्त्री कार्यालयमा नै थिए । देशमा राजनीतिक परिवर्तन भयो । ०५१ सालमा मध्यवधी निर्वाचन भयो । त्यसको पाँच वर्षपछि भएको निर्वाचनबाट गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छानिए ।

लामिछानेले गिरिजाप्रसाद कोइरालाको गाडी चलाउने भए ।

२०५८ साल जेठ १ गते चिनियाँ राष्ट्रपति नेपाल आए । उनी अकास्मात् नेपाल आएका थिए, एक दिनका लागि मात्र । 

त्यो दिन गिरिजाप्रसाद कोइरालाले लामिछानेलाई नै चिनियाँ राष्ट्रपति जियाङ जेमिनलाई लिन त्रिभुवन विमानस्थल पठाए ।

‘पाहुना हुन्, राम्रोसँग आफ्नो ड्युटी पूरा गरेर आउनु,’ गिरिजाप्रसाद कोइरालाले दिएको आदेश अहिले पनि लामिछानेको कानमा गुन्जन्छ ।

२०५८ जेठ १९ गते ।

लामिछाने पार्टीमा गएका थिए । उनको साला विदेश जाँदै थिए । विदेश जान लागेको खुसीयालीमा लामिछानेका सालाले पार्टी दिएका थिए । 

पार्टी सकेर राती एघार बजेतिर घरमा आइपुग्दा उनको छेवैको पसलले भने, ‘दाइ कहाँ जानु भएको थियो तपाईं ? तपाईंको कोठाको फोन एक घन्टादेखि ननस्टप बजेको बज्यै छ ।’

झसङ्ग भए, लामिछाने । उनलाई फोन आउने भनेको नै प्रधानमन्त्री कार्यालयबाट थियो । ‘झन् त्यस्तो तारान्तार फोन त अरु कसैको आउँदैनथ्यो,’ उनले सुनाए, ‘कालिमाटीको त्यो कोठामा फोन राखेको पनि केही परे खबर गर्न सजिलो होस् भनेर नै थियो ।’

कोठा छिर्नेवित्तिकै अरु केही नसोची उनले प्रधानमन्त्री कार्यालयमा कल ब्याक गरे । अनि सोधे, ‘मलाई फोन आको रैछ, प्रधानमन्त्रीज्यु कहाँ हुनुहुन्छ ?’

‘भर्खरै बाहिर जानुभयो,’ उनले जवाफ पाए ।

‘त्यसपछि म सुत्ने तरखरमा लागेँ, प्रधानमन्त्रीज्यूलाई अर्को गाडीको व्यवस्था भयो भन्ने भयो,’ उनले सम्झिए ।

खाटमा यसो के पल्टिएका थिए, लामिछानेको फोन फेरि बज्यो ।

‘राज परिवार त सखापै भयो रे नि !,’ अमेरिका बस्ने उनको साथीले फोन गरेका रहेछन्, ‘यताका सबै समाचार च्यानलमा त्यही भनेको छ त ।’

रातभर छटपटीमा बिताए लामिछानेले, न प्रधानमन्त्री कार्यालयमा सम्पर्क भयो, न अरु कसैलाई फोन गरेर लिन आउ भन्न नै सके । 

भोलिपल्ट विहानै उनी बाहिर निस्किए । बालुवाटार पुगे । तर, गिरिजाप्रसाद कोइराला बाहिर निस्किसकेका थिए । त्यो दिन यत्तिकै बित्यो । रात पनि उनले बालुवाटारमा नै बिताए ।

पर्सीपल्ट विहान उनी बसे, प्रधानमन्त्रीको गाडीको स्टेयरिङमा ।

त्यो दिन १९ गते राती मारिएका राजा वीरेन्द्रको अन्तिम संस्कार गरिने भएको थियो । उनले नसोचेको घटना दरबारमा भएको थियो । ‘मन बेखुस थियो,’ उनले सम्झिए, ‘तर, ड्युटी गर्नै पर्यो ।’

उनी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई लिएर छाउनी अस्पताल पुगेका थिए । उनको गाडीमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एकजना सेनाका क्याप्टेन र उनी थिए ।

राजा वीरेन्द्रको शव राखिएको गाडीको ठीक पछाडि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । त्यो गाडीको स्टेयरिङमा थिए, लामिछाने । 

गाडी विस्तारै हिँडिरहेको थियो । उनीहरु स्वयम्भूको ओरालोमा पुगे । 

‘ओइ पख, पख,’ उनले आवाज सुने ।

‘एउटा मान्छे हामीलाई तथानाम गाली गरिरहेको थियो,’ उनले सम्झिए, ‘केही बेरमा त गाडीको छतमा ढ्वाङ्ग ढुङ्गा खस्यो ।’ 

विस्तारै गाडीमाथि चारैतिरबाट आक्रमण हुन थाल्यो । 

गाडीका सिसा फुट्न थाले, उनीहरुको गाडीलाई अब सुरक्षाकर्मीले सुरक्षा दिन थालिसकेका थिए ।

लामिछानेले गाडीको रफ्तार थोरै बढाए ।

‘विस्तारै चलाउ है, मान्छेहरुलाई लाग्छ,’ गिरिजाप्रसाद कोइरालाले भने । 

‘आफैंमाथि आक्रमण भइरहेको छ, तर उहाँले त अरुको चिन्ता लिनुभयो,’ लामिछानेले अनुहारमा आश्चर्यको भाव प्रकट गरे, ‘त्यसैले पनि मलाई गिरिजाप्रसाद कोइराला राम्रा नेता हुन् भन्ने लागिरह्यो ।’

बिजेश्वरी हुँदै भीडलाई छल्दै लामिछानेले त्यो दिन गाडी बालुवाटार पुर्याए । बालुवाटारसम्म पुग्दा गाडीका अधिकांश सिसा फुटिसकेका थिए । 

‘बालुवाटारको गेटभित्र छिरेपछि मैले लामो सास फेरेँ,’ उनले भने, ‘मैले दोस्रो जीवन पाएँ भन्ने अनुभूति भयो ।’

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई अर्को गाडीको व्यवस्था भयो । त्यो गाडीका अर्कै ड्राइभर थिए ।

त्यसपछि राजा बनेका ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालालाई हटाए । 

प्रधानमन्त्रीबाट गिरिजा हटे, प्रधानमन्त्री कार्यालयबाट लामिछाने । उनको फेरि पोस्टिङ भयो– अतिथि सत्कार विभाग ।

अतिथि सत्कार विभाग पुगेको केही समयमा नै लामिछानेले जापानका प्रधानमन्त्रीलाई सत्कार गर्ने मौका पाए । हासी मोतो नेपाल भ्रमणमा आउँदा लामिछाने नै गाडी लिएर विमानस्थल पुगेका थिए । 

‘उहाँको बानी अजबको रहेछ, गाडीको झ्यालबाट दुवै हात बाहिर झिक्नुपर्ने,’ लामिछाने मुसुक्क हाँसे, ‘उहाँले गाडीको सिसा खोल्नु भन्नुभयो, तर हाम्रो प्रोटोकलले त्यस्तो दिँदैनथ्यो ।’

अर्को देशको राष्ट्राध्यक्षलाई नमान्ने कुरा पनि भएन, तर लामिछानेले ट्रिक लगाए । उनले भनिदिए, ‘सरी, दिस इज फिक्स्ड ।’

लामिछाने अतिथि सत्कार विभागमा हुँदा नै म्यानमारका प्रधानमन्त्री पनि नेपाल आएका थिए । लामिछाने नै विमानस्थल लिन पुगेका थिए । लामिछानेको गाडीमा म्यानमारका नेपालका लागि राजदूत पनि थिए ।

‘विमानस्थलबाट फर्किँदा राती दश बजेको थियो, गौशालामा फोहोरको थुप्रो देखियो,’ एउटा नमीठो अनुभव सुनाए लामिछानेले, ‘म्यानमारका प्रधानमन्त्रीले त्यो कुरा गर्नुभयो, राजदूत पनि हुनुहुन्थ्यो । उहाँले सोझै भन्नुभयो– यहाँ फोहोरकै राजनीति हुन्छ, फोहोरमाथि नै राजनीति हुन्छ ।’

लामिछानेले उनीहरुलाई लिएर होटल द्वारिकाज पुगे । होटलमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, उनका सचिव थिए । लामिछाने गिरिजाप्रसाद कोइरालाका सचिव नजिकै पुगे र यो कुरा भने । 

भोलिपल्ट फोहोर सफा भयो, लामिछानेको दुखेको मन पनि चङ्गा भयो ।

दोस्रो जनआन्दोलनको सफलतापछि गिरिजाप्रसाद कोइराला फेरि प्रधानमन्त्री बने । उनले लामिछानेलाई फेरि प्रधानमन्त्री कार्यालय झिकाए । गिरिजा प्रधानमन्त्री भइन्जेल लामिछानेले उनको गाडी चलाए ।

बीचमा लामिछाने ल्हासा गए, केही वर्ष उतै काम गरे । 

२०६६ सालमा फर्किएर आएपछि फेरि उनको पोस्टिङ भयो, प्रधानमन्त्री कार्यालयमा नै । त्यति बेला माधवकुमार नेपाल प्रधानमन्त्री थिए, लामिछाने उनका ड्राइभर नियुक्त भए । त्यसपछि झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि लामिछानेले उनको स्टेयरिङ सम्हाले ।

पहिलो संविधानसभाको निर्वाचन पनि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । तर, लामिछानेले त्यतिबेला प्रधानमन्त्री कार्यालयमा थिएनन् । पछि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चाहिँ उनलाई प्रधानमन्त्री कार्यालयमा नै बोलाइयो । भट्टराईले मुस्ताङ म्याक्स नचढुन्जेल लामिछानेले उनको गाडी चलाए ।

‘मान्छेहरुलाई लाग्दो, प्रधानमन्त्री कस्तो होला,’ नौ पटक प्रधानमन्त्री कार्यालयमा बाहलवाला प्रधानमन्त्रीका गाडी चलाएका लामिछानेले भने, ‘मैले त सबै प्रधानमन्त्री सालिन पाएँ, सबैको बानी उस्तै, गम्भीर र सालिन ।’

तर, उनीसँगका स्मृतिहरु गहिरो गरि मनमा छन्, प्रधानमन्त्री कार्यालयका । 

एउटा त्यस्तै सम्झना छ, लामिछानेको मनमा अहिले पनि । त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।

गिरिजालाई लामिछानेमाथि ठूलो विश्वास थियो । 

‘एकदिन उहाँले मलाई सुटुक्क सङ्केत गर्नुभयो,’ लामिछानेले साउती मारेजस्तै गरि भने, ‘अनि उहाँले त्यो साँझ हामी दुई कसैलाई पनि थाहा नदिइ, त्यहाँबाट खुसुक्क हिँड्ने कुरा गर्नुभयो । उहाँले त्यो कुरा अरुलाई थाहा नदिनु भन्ने कुरा पनि गर्नुभएको थियो ।’

सम्भव त थिएन, प्रधानमन्त्री जस्तो मान्छे लुकेर जाने । 

‘तपाईंलाई केही भयो भने,’ लामिछानेले प्रश्न सोधे, ‘सुरक्षाकर्मी त लैजानुपर्छ ।’

त्यसपछि तत्कालीन डिएसपी उनीहरुसँगै जाने भए, उनीहरु गाडीमा बसे ।

त्यतिबेला प्रधानमन्त्री कार्यालय निकै भद्रगोल भएको सम्झना छ, लामिछानेसँग । प्रधानमन्त्री कार्यालयमा को आयो, को गयो भन्ने थाहा नै हुँदैनथ्यो रे ! ‘गाडीमा कालो सिसा थियो,’ लामिछानेले सम्झिए, ‘को बाहिरियो भन्ने त्यहाँका सुरक्षाकर्मीले पत्तो नै पाएनन् ।’

उनीहरु त्यहाँबाट भक्तपुर पुगे । अलिक माथि पुगेपछि गिरिजाप्रसाद कोइरालाले गाडी रोक्ने निर्देशन दिए । उनीहरु एउटा घरमा पुगे । 

‘हामी तीनै जना गाडिबाट झर्यौँ र घरमा पस्यौँ,’ उनले भने, ‘घरमा छिर्ने वित्तिकै पहिलो कोठामा नै ठुलो थालमा काजु किसमीसको मिश्रण थियो ।  अर्काेकोठामा किचन रहेछ । डिएसपीलाई त्यो कोठामा लगेर राखियो र बाहिरबाट चुकुल लगाइयो ।’

त्यसपछि लामिछानेलाई आदेश दिए, ‘तिमी त्यहाँ गएर त्यहाँ बसिरहेका दुई जना मानिस लिएर आउनु ।’

लामिछाने निर्धारित ठाउँमा पुगेलगत्तै दुई जना मानिस त्यहाँ आए, उनको गाडीमा चढे । लामिछाने केही बोल्नै परेन । त्यहाँबाट दुई जना लिएर लामिछाने अघिकै घरमा पुगे । 

ती दुई मान्छेलाई प्रधानमन्त्रीले सत्कार गरेपछि लामिछानेलाई पनि डिएसपी थुनिएको कोठामा नै थुनियो ।

राती दश बजे मात्र लामिछाने र डिएसपीको कोठा खोलियो, उनीहरु त्यहाँबाट प्रधानमन्त्री कार्यालय फर्किए ।

न लामिछानेले ती मान्छे को थिए भनेर सोधे, न गिरिजाप्रसाद कोइरालाले नै भने ।

तर, त्यसको तीन दिनपछि माओवादीले युद्धविरामको घोषणा गर्यो । लामिछानेलाई अनुमान गर्न अप्ठ्यारो भएन, ती व्यक्तिहरु माओवादीका जिम्मेवार व्यक्ति थिए ।

यस्ता अनेक रमाइला र बिर्सनै नसकिने क्षणहरुसँग साक्षात्कार गरेका छन् लामिछानेले ।

तर, पनि उनलाई कहिलेकांही मनमा खेल्छ– सिंहदरबार प्रवेशको कुरा ।

लामिछाने सुरुमा ‘जागिरे’ हुँदा उनको तलब ४ सय मात्र थियो । 

‘तर, पहिलो तलब मलाई अलिक धेरै दिइएको थियो,’ उनले सम्झिए, ‘कालिमाटीमा २ सय भाडा तिरेर कोठा लिएको थिएँ ।’

उनको अहिले तलब ‘पुग्दो’ छ। सिंहदरबार छिरेको ३३ वर्षपछि लामिछानेको अरु केही गुनासा छैनन् । 

उनलाई भन्नु छ– तलब पनि थोरैथोरै बढे पुग्छ, सामानको मूल्य अहिलेजस्तो वर्षेनी नआकासिने हो भने !

 

(सिंहदरबार अन्डरडग्स हाम्राे नयाँ सिरिज हाे । सिंहदरबार मन्त्री र सचिवकाे मात्र कार्यथलाे हाेइन, हामीजस्तै सामन्य नागरिक पनि सिंहदरबारमा छन् जाे हामीजस्तै सामान्य काम गर्छन् । याे सिरिजमा उनीहरुकाे कथा समावेश हुनेछ– सम्पादक ।)



राेशन सिग्देल

राेशन सिग्देल इकाेनाेमिक्सका विद्यार्थी हुन् । उनी फरकधारमा पनि अर्थतन्त्रसँग सम्बन्धित विषयमा रिपाेर्टिङ गर्छन् ।

यो पनि नछुटाउनुहोस्