योगेशको प्रश्न : नेताको अहंकारमा कति पृथ्वी सुब्बाहरू पिल्सिनुपर्ने हो ?

नेकपा एमालेका योगेश भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकरावले पार्टीमा गम्भीर संकट ल्याएको बताएका छन्। कुनै बेला बलियो बहुमतसहित गण्डकीका मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङको अविश्वसनीय बहिगर्मनपछि भट्टराईले यसो भनेका हुन्। 

एमाले-माओवादी गठबन्धनको बहुमतसहित मुख्यमन्त्री बनेका गुरुङ दुई दलको एकताबाट नेकपा बनेपछि शक्तिशाली मुख्यमन्त्री थिए। तर एमाले र माओवादीको विभाजनसँगै संकटमा परेको सत्ता जोगाउन गुरुङले हरप्रयास गरे पनि शनिबारदेखि उनी प्रतिपक्षमा पुगेका छन्। 

केबल १५ सिटको कांग्रेसले माओवादी र अन्य साना दलको साथ लिएर गुरुङलाई सत्ता बाहिर पठाएर आफ्ना नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री बनाउन सफल भएको छ। 

यस्तोमा नेता भट्टराईले एमालेका शीर्ष नेताहरुको अहंकार र शक्तिको टकरावका कारण पृथ्वी सुब्बा गुरुङले पिल्सिनुपरेको बताएका हुन्। उनको यो संकेत एमाले अध्यक्ष केपी शर्मा ओली र कारबाहीमा परेका नेता माधवकुमार नेपालप्रति लक्षित थियो। 

'नेताहरुको अहंकार र शक्तिको टकरावमा कति पृथ्वी सुब्बाहरू पिल्सिनु पर्ने हो?', उनले सोधेका छन्,'इन्द्रलाल सापकोटा र विष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नि परीक्षामा सामेल भइरहनुपर्ने हो?'

उनले एमाले नेतृत्वलाई लक्षित गर्दै अब ढिला नगर्न अपिल गरेका छन्। 'अब सबै प्रदेशमा दलका काम कारबाहीको पुन:संरचना गर्न ढिला नगरौँ', भट्टराईले भनेका छन्।



भट्टराई पछिल्लो समय नेपाल र ओलीबीचको विवाद मिलाउन क्रियाशील छन्। दोस्रो पुस्ताका सबैभन्दा सक्रिय उनकै प्रयासमा यसअघि नेपाल-ओली संवाद भएको थियो। 



 

  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार २१:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया