पूर्ण एकता नसकिँदै नेकपामा गुट–उपगुटकाे जालाे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमाले र एकिकृत माओवादीबीच एकता घोषणा भएको चार महिनामात्र भएको छ । तर, योबीचमा नै पार्टीभित्र गुट उपगुटको चलखेल अत्यधिक बढेकोमा कतिपय नेकपाका नेताहरु नै गुनासो गर्न थालिसकेका छन् । 

त्यसो त नयाँ पार्टीको विधानको धारा ५७ मा पार्टीभित्र गुटबन्दी र षडयन्त्र गरेमा अनुशासनको कारवाही गरिने व्यवस्था उल्लेख छ । तर, गुटलाई प्रश्रय दिन नेकपाका वरिष्ठ नेताहरु नै लागेकाले उनीहरुमाथि कसले अनुशासनको कारवाही गर्ने भन्ने प्रश्न उठेको छ ।

विधानमा भनिएको छ, ‘पाटीभित्र गुटबन्दी तथा षडयन्त्र गरेको प्रमाणित भएमा कुनै पनि कमिटी वा निकाय र तिनका पदाधिकारी तथा सदस्यमाथि अनुशासनको कारवाही हुनेछ । पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेमा, पार्टी निर्णय उलङ्घन गरेमा, पार्टीभित्र निष्ठा र विश्वास नरहेमा, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेमा, पार्टी कमिटीको गोपनियता भङ्ग गरेमा  अनुशासनको कारवाही हुनेछ ।’

यो विधान एउटा कागजी डकुमेन्टभन्दा बढी किन पनि लाग्दैन भने अहिलेसम्म पार्टीमा नारायणकाजी श्रेष्ठको राजिनामा स्वीकृतसमेत भएको छैन ।

बिर्सनु हुँदैन, श्रेष्ठले सार्वजनिक समारोहमा नै पार्टी र पार्टीका नेताहरुको चर्को आलोचना मात्र गरेका थिएनन्, समयभन्दा ढिला सुरु हुने कार्यक्रममा आफू नबस्ने भन्दै पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली सहभागि कार्यक्रममा ती नेताहरुमाथि आलोचना पनि गरेका थिए ।

अर्कोतिर स्थानीय कमिटीहरुमा देखिएका विवादबारे के गर्ने भन्ने पनि पार्टीले निर्णय लिन सकेको छैन । तर, पार्टीमा गुटतन्त्र निकै बढेको छ ।



पार्टी एकताको घोषणापछि १९ जेठमा परिवारका सदस्यसहित जन्मथलो कास्कीको ढिकुरपोखरी पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकतापछि पार्टीभित्र गुट उप–गुटको खेल तथा आफ्नो स्वार्थ पूरा गर्ने छुट कसैलाई नभएको बताएका थिए । 

तर, यही छुट नभएको कुरा नै अहिले नेकपामा मौलाएको छ । केपी ओली गुट, माधव नेपाल गुट, प्रचण्ड गुटमात्र नभएर विस्तारै नेकपामा महासचिव विष्णु पौडेल गुट तथा रामबहादुर थापा गुट पनि बढ्दो छ । बरु अध्यक्ष ओलीको समर्थन गर्न थालेका माधव नेपाल गुट भने विस्तारै कमजोर हुँदै गएको नेकपाकै एक नेता बताउँछन् ।



अर्कोतिर, अहिले तत्कालीन एमालेमा बलियो गुट व्यवस्थापन गरिरहेका भनिने झलनाथ खनालको पार्टीमा खासै प्रभाव छैन ।

‘एकताको प्रक्रियामा पनि उहाँको खासै भूमिका थिएन,’ नेकपाका एक नेताले भने, ‘अहिले त उहाँ पार्टीभित्र निकै कमजोर भइसक्नु भएको छ । उहाँको कुराले खासै प्रभाव पार्दैन ।’

पार्टी एकताको घोषणा हुँदा खनाल चीनमा थिए । उनको वरिष्ठता घटाइएको भन्दै उनले चीनबाट नेपाल फर्किएलगत्तै असन्तुष्टि पनि पोखेका थिए । तर, यसको सुनुवाई भएन । ‘सुनुवाई नभएको होइन,’ नेकपाका नेता वेदुराम भुसाल भन्छन्, ‘उहाँलाई पार्टीले यस विषयमा कारण बतायो, उहाँको चित्त बुझ्यो अनि यो विषयमा उहाँले कुरा निकाल्न छोड्नु भएको हो ।’

यो विषयमा चुपचाप लागे पनि खनालले पार्टीमा भेटघाटलाई घटाएका छैनन् । बरु उनी अहिले अध्यक्ष प्रचण्डसँग नजिकिएका छन् । नेकपाका एक नेताका अनुसार उनले आफ्नो प्रभावका नेताहरुलाई अब पार्टीको नेता प्रचण्ड भएको भन्दै लबिइङ पनि सुरु गरेका छन् ।  

पार्टी एकताले एकातिर खनालको वरियता घट्यो भने अर्कोतिर तत्कालीन एमालेका उपमहासचिव विष्णु पौडेल नेता तथा कार्यकर्तालाई सरप्राइज दिँदै नेकपाको महासचिव भए । अहिले उनी पार्टीभित्र सबैभन्दा शक्तिशाली नेता भएर देखा परेका छन् । फलस्वरुपः उनलाई भेट्न भैंसेपाटीस्थित उनको निवास पुग्ने नेकपाका नेता–कार्यकर्ताको संख्या दिनहुँ बढ्दो छ । 

यसको फाइदा उठाउँदै पौडेलले आफू अनुकूल चल्न सक्ने नेताहरुसँग विशेष मिटिङ गरिरहेको नेकपाका अर्का एक नेताको दाबी छ । ‘उहाँको गुट मौलाइसकेको छैन, तर विस्तारै विकास भइरहेको छ,’ उनले भने, ‘अब नेकपामा पौडेल गुट भनेर भन्न थालियो भने उहाँको गुटलाई चिन्दा हुन्छ ।’

उता, माओवादीबाट आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टीभित्र आफ्नै प्रकारको समीकरण बनाएका छन् । जसको कारण उनीसँग पार्टीका दुवै अध्यक्ष रिसाउने पक्षमा छैनन् । आफूले पार्टी र सरकारमा पाएको अनुकुलताको फाइदा उठाउँदै बादल बिस्तारै आफ्नो गुट निर्माणमा लागेको पूर्वमाओवादीभित्र छलफलको विषय बनेको छ ।

पार्टी प्रवक्ताबाट राजीनामा दिएर पार्टीलाई घुक्र्याएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई चाहिँ यसअघि उनी नजिक रहेका नेताहरुले पनि धोका दिन थालेका छन् । श्रेष्ठ यतिबेला के गर्ने के नगर्ने अन्योलमा परेको नेताहरु बताउँछन् । प्रवक्ता राजिनामाको चर्चादेखि नै ओली–प्रचण्ड उनीप्रति त्यति खुसी छैनन् । अर्कोतिर उनकै कार्यकर्ता भनिएका नेताहरु पनि विस्तारै साइड लागिरहेका छन् ।

नेकपामा ओली र नेपाल गुट एक हुँदा पार्टीमा बलियो स्थान पाउने अनुमान गरेका माधव नेपाल चाहिँ अहिले निराश भएका छन् । तल्ला कमिटी एकताबारे ओली पक्षले ‘बढार्न’ खोजेको आरोप लगाउँदै आएका उनले आफ्नो गुटलाई चलायामान बनाउन प्रयास गरिरहेका छन् ।

उनीनिकट मानिएका नेता भीम रावल एकीकृत पार्टीको सचिवालयमा समेत नपरेपछि माधव नेपाल केही अघि देखि नै सशङ्कित भएका थिए । तर, रावलको गुनासोलाई पार्टीले बेवास्ता गर्यो । 

यो कुरा रावलमा मात्र सीमित रहेन । अहिले पनि नेकपाका तल्ला कमिटीहरुमा यस्ता गुनासाहरु बढिरहेका छन् । तर, नेताहरुले यसको बेवास्ता गरेको नेकपाका नेताहरु बताउँछन् ।

‘हिजो पूर्वएमाले र माओवादी केन्द्र हुँदा पनि त्यस्तो प्रकारको समस्या नभएको होइन,’ एक नेताले भने, ‘अहिले पनि गुटउपगुटको विकास भएको गन्ध आउन थालिसकेको छ ।

उता, यस विषयमा बुझ्न फोन गर्दा नेकपाका अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा भने, ‘पार्टीभित्र गुट उपगुट विकास भएको छैन, हल्लाहरु चलेका होलान्, अहिले त नेतृत्वका सबैजना एक भएर पार्टी बलियो बनाउन मात्र लागिरहेका छन् ।’

तर, स्वयं प्रचण्ड भने अब विस्तारै ओलीसँग उनीहरुबीच पहिले भएको सम्झौता सम्झाउने पक्षमा पुगेका छन् । केही दिनअघि भारतमा हुँदा भारतीय मिडिया द प्रिन्टका लागि दिएको एक अन्तर्वार्तामा केपी ओली र उनको विशेष सहमति भएको स्वीकार गरेका थिए । एमालेका एक वरिष्ठ नेताले पनि यस विषयमा भने, ‘हो, बाहिर आएको छैन तर अहिलेका घटनाक्रम बुझ्दा प्रचण्ड र ओलीबीच आधाआधा प्रधानमन्त्री हुने सहमति भएको बुझ्न सकिन्छ ।’

प्रधानमन्त्रीमा मात्र होइन, यी दुईबीच महाधिवेशनपछि पार्टीको अध्यक्ष प्रचण्ड हुने विषयमा पनि सहमति भइसकेको नेकपा नेताहरुले बताउन थालेका छन् । यसका लागि प्रचण्ड अहिले देखि नै तयारी लागेको नेकपाका एक नेताले बताए । 

प्रधानमन्त्री ओली आफैंमा पनि बहुमत सहितको सरकारको नेतृत्वको कारण पछि पार्टीमा कुनै विवाद आएको खण्डमा आफू सुरक्षित हुन आफ्नो पक्षधरका नेताहरुलाई नजिक बनाउन खोजिरहेका छन् ।

विशेषगरि शंकर पोखरेल, ईश्वर पोखरेल, शेरधन राई, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरुको ओलीको सम्बन्धमा चिसोपना आएको र यसका कारण उनले आफ्नो गुट जोगाउन विशेष पहल गर्न थालेको नेकपाका नेताहरुले बताउन थालेका छन् । तर, अर्कोतिर दुई पार्टी मिलेर एक भएकाले आफूलाई माधव नेपाल, वामदेव गौतमलगायतका नेताहरुले पनि समर्थन सुरु गरिसकेको ओलीले अनुमान गर्न थालेका छन् ।

नेकपाका केन्द्रीय सदस्य वेदुराम भूसाल भने यतिबेला नेकपामा गुट–उपगुटको कुनै कुरा नै नभएको बताउँछन् । ‘भर्खर पार्टी एकता भएको ४ महिना मात्र पुगेको छ । तल्ला कमिटीको कुनै एकता भएको छैन् । एकता नै नभइ गुट चर्कियो भन्ने त होइन,’ उनले भने, ‘गुटका कुरा हल्ला मात्र हुन् ।’

तर, उनी कम्युनिस्ट पार्टीमा गुट हुने कुरालाई सामन्य भएकाले अहिले नेकपामा गुट बढे पनि चिन्ताको विषय मान्नु नपर्ने बताउँछन् ।

  • प्रकाशित मिति : असोज ४, २०७५ बिहीबार १७:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया