म छोरी पत्रकार होइन : बुहारी-आमा पत्रकार हुँ

हुर्कँदो उमेर । बिएको पढाइ सुरु । साहित्यमा रुची । कल्पनाशीलतामा भुरुरु उडिरहन्थ्यो दाङकी कविता उपाध्यायको मन । त्यो समय उनका स्कुले धेरै साथीको बिहे भइसकेको थियो ।

उनको पनि बिहेको उमेर भएकै थियो । त्यसैले उनी बारम्बार सम्झन्थिन्, ‘साहित्य नबुझेको मान्छेसँग विवाह बन्धनमा बाँधिँदा असहज हुने र जीवनमा दुर्घटनासम्म हुनसक्ने खतरा जोडिएको हुन्छ, सक्छ । किनकि गीत गजलमा वा समग्र साहित्यमा माया-प्रेमका कुरा पनि जोडिएका हुन्छन् । यदि त्यसको मर्म नबुझ्ने जीवनसाथी भए रहरहरू कुल्चिएर खुसीहरू तिलाञ्जलि दिएर बाँच्नुपर्ने दिन नआउला भन्न पनि सकिँदैन भन्ने डर थियो मनमा ।’

कविताको मनको यो भित्री चाहानासँग उनका अंकल (शरद पौडेल) जानकार थिए । त्यसबेला शरदका पार्टनर थिए रोल्पाका दामु मर्सिफुल । दामु पनि साहित्यमा रुची राख्थे । कविताले कविता लेख्दै गर्दा शरदले कयौं पटक भेटेका थिए । त्यसैले उनले छोरीको जीवन साथी दामुलाई रोजे ।

कविताको बिए प्रथम वर्षको अध्ययन चल्दै थियो । उनी जनता क्याम्पस बिजौरी दाङमा अध्ययन गर्थिन् । दामु पनि बसाई र कलेज घोराहीमा थियो । दुवै जनाको भावना बुझेका कविताका अंकलले कहिले कवितालाई कहिले दामुलाई बिहेको कुराले जिस्काइरहन्थे ।

यही जिस्काइबाटै दामु कविताप्रति आकर्षित हुँदै गए । कविता पनि आफ्नै क्षेत्रको मान्छेसँग जोडिन चाहन्थिन् । अंकलले प्रस्ताव गरेको त्यो क्षण सम्झँदै कविता भन्छिन्, ‘गीतकारसँग विवाहको कुरा आउँदा छुट्टै आनन्दको अनुभुति मलाई पनि भएको थियो ।’

दुवै साहित्यिक क्षेत्रमा कलम चलाउने भएको हुँदा दुई परिवारबीच उनीहरूको विवाहको कुरा बिस्तारै अगाडि बढ्यो । त्यो दिन दिउँसोको १ बज्न लागेको थियो । कविता कलजमै थिइन् । उनका भाइ उनलाई लिन कलेजमै आए । भने, ‘बहिनी बिरामी छ तुरुन्त घर जानु पर्‍यो ।’ कविता पनि हतारहतार घर पुगिन् । 



घर पुग्दा वातावरण अर्कै थियो । त्यहाँ त दामु कवितालाई हेर्न पुगेका रहेछन् । त्यो क्षण सम्झँदै कविता भन्छिन्, ‘हाम्रो विवाहको कुरा दुई परिवारबीच अन्त-अन्तसम्म पुगिसकेको रहेछ । त्यो कुरा पनि मैले त्यसैबेलामात्र थाहा पाएकी थिएँ । दुवै परिवारको मन, विचार र भावना मिलेपछि उहाँको र मेरो भेटवार्ताका लागि तय गरिएको त्यो कार्यक्रममा हामी दुईजना सहित अंकल बस्ने भेट्ने, गफ गर्ने वातावरण मिलाइएको रहेछ ।

त्यो भेट नै मेरो उहाँसँग जीवनको पहिलो भेट थियो । त्यो भेटमा उहाँले मलाई धेरै प्रश्न गर्नुभयो भैले खुरुखुरु जवाफ दिएँ । मेरा मनमा पनि सैयौं प्रश्नका पर्खाल थिए । तर, मैले उहाँलाई एउटा पनि प्रश्न गरिनँ, किनकि म छोरी थिएँ । छोरी मान्छे केटाहरूसँग धेरै बोल्नुहुन्न खुलेर बोल्नुहुन्न भन्ने पाठ सिक्दै आएकी मलाई प्रश्न गर्ने आँट नै आएन । फेरि अंकलको अगाडि के बोल्नु कसरी बोल्नु ? तर, बडो हिम्मत जुटाएर एउटा प्रस्ताव गरेकी थिएँ ‘बिबाहपछि हरेक कुरामा कम्प्रोमाइज हुनुपर्छ है ।’



त्यसबेला दामुलले लेखेको ‘आउँछु भनी पापिनीले भर किन पार्नु... ज्यानै दिने वाचा गरी माया किन मार्नु.....’ बोलको गीत भर्खर रेकर्ड भएको थियो । सन्तोष श्रेष्ठको संगीतमा रामकृष्ण ढकालले गाएको यो गीत त्यसताका रेडियोमा खूब बज्थ्यो । कविताले पनि गुनगुनाउँदै हिँड्थिन् ।

यही गीत लेख्ने मान्छेसँग बिहेको कुरा भएको हो भन्ने थाहा भएपछि कवितालाई लाग्यो, ‘यत्तिको लेख्ने मान्छेले मलाई पनि साथ दिनुहुन्छ होला । मेरा गीतमा शंका उपशंका गर्नुहुन्नहोला ।’ त्यसपछि दामुको आश्वासन अनुसार उनको साथ सहयोग पाउने कुरामा विश्वस्त भइन् । अनि बिहेको लागि राजी भइन् ।

२०६० जेठ ११ गते कविता र दामुको मागी विवाह भयो । कविता र दामुको अहिलेको जीवन हेरेर उनीहरूको प्रेम विवाह भएको भन्ने धेरै छन् । कविता भन्छिन्, ‘हामीलाई भेट्ने सबैले हाम्रो प्रेम विवाह भएको भन्छन् । तर, म आज सबैलाई प्रष्ट पार्न चाहन्छु हामी प्रेमपछिको विवाह होइन विवाह पछिको प्रेममा छौं ।’

कवितालाई परिवारको मञ्जुरीमा दुई कलमजीवीहरूको मिलन भएको त्यो दिन एउटा ठूलो सपना पूरा भए झैं लागेको थियो । भन्छिन्, ‘यस बाहेक एक्लो र सादा जीवन रंगीन भएपछि त्यसमा रंग भर्दै जाने अनि सफलताको शिखर चुम्दै अघिबढ्ने रहर त कसलाई हुँदैन र ? हामी पनि यस्तै रहर र सपना सजाउँदै सहयात्रीका रूपमा अघि बढिराखेका छौं ।

हाम्रो मन मिल्छ, विचार मिल्छ । अलिअलि झगडा पनि हुन्छ । झगडा एक अर्काको हितका लागि गर्छौं । हामी मनमा कुरा गुम्स्याउँदैनौं । एकअर्का ठोसिँदै, माझिँदै, निखारिँदै अघि बढिराखेका छौं ।’

विवाहको २ वर्षसम्म कविताले आफ्नो पढाइलाई प्राथमिकतामा राखिन् । बिए अन्तिम वर्षको परीक्षा दिएपछि बच्चा जन्माउनु पर्छ भन्ने सहमति थियो । यही सहमतिले गर्दा कविताको पढाइ रोकिएन । बिहे गरेको २ वर्षपछि उनी पहिलो पटक गर्भवती भइन् । पहिलो पटक आमा बन्दै छु भनेर थाहा पाउँदा कविता निक्कै सर्माएकी थिइन् ।

भन्छिन्, ‘नर्सले तपाईंको गर्भमा बच्चा छ भनेपछि एकातिर डरजस्तो अर्कोतिर खुसी जस्तो खै के के भयो त्योभन्दा बढी लाज नै लाग्यो । अब के गर्ने भन्ने खुलदुली पनि निकै भयो । दिनहरू बित्दै गए बाबु पेटमा सल्बलाउन थालेपछि निकै खुसीको अनुभूति हुन्थ्यो । हुन त बच्चा सबैले जन्माउँछन् । तर, खै किन म त्यो बेला आफूलाई संसारकै भाग्यमानी ठान्थेँ ।’

कविताले अगाडि भनिन्, ‘अरू समान्य बेलाको भन्दा आफू गर्भवती हुँदाको समय फरक भइहाल्दो रहेछ । त्यति बेला हामी दुवै जना पढ्दै थियौं । उहाँ पनि एमए सकेर एक वर्षे बिएड पढ्दै हुनुहुन्थ्यो । म त्यतिबेला बिएको परीक्षा सकेर फुर्सदको समयमा काममा जोडिएकी थिएँ ।

प्यूठानको स्वर्गद्वारीमा सञ्चालन हुनलागेको राष्ट्रिय कविता महोत्सव २०६२ को सचिवालयमा मैले भोलेन्टियरका रूपमा काम गर्दै थिएँ । यस बाहेक ममा पारिवारिक जिम्मेवारी थपिँदै थियो । अस्तिसम्म छोरी थिएँ, कसैकी श्रीमती भएँ, बुहारी भएँ, अब छिटै आमा बन्दै थिएँ । मैले धेरै जिम्मेवारी बहन गर्नु थियो । आफू आत्मनिर्भर भइनसकेको हुँदा कसरी गर्ने भन्ने चिन्ता पनि लाग्थ्यो ।’

बच्चा गर्भमा हुँदा कवितालाई निक्कै वान्ता हुन्थ्यो । उनलाई बान्ताले शरीरमा आएको कमजोरीभन्दा पनि मेरो कमजोरीले बच्चा अपाङ्ग पो जन्मन्छ कि भन्ने चिन्ताले सताउँथ्यो । उनी ६ महिनाकी गर्भवती थिइन् । त्यतिबेला कविता र दामुको बसाइ घोराहीमा थियो । उनकी बुढी सासु गाउँको घरमा (गजुल) बितिन् । उनी पहिलो पटक २ महिना घरमा बसिन् । यतिबेला उनले परिवार बुझ्ने मौका पाइन् ।

म दाङकी चेली पहाडमा विवाह भएको थियो । रीतिस्थिति चाल चलन खासै मिल्दैनथे । त्यतिबेला सम्म हातहातमा फोन थिएनन् । कविताका माइतीतर्फका गाउँमा कोही नभएको हुँदा सम्झेर कहिलेकाहीँ न्यास्रो लाग्थ्यो अनि रुन्थिन् ।

उनी रुँदा उनकी सासु पनि सँगै रुन्थिन् र भन्थिन्, ‘नरोऊ छोरी मान्छेको कर्म जहाँ लेखेको छ त्यहीँ जानुपर्छ ।’ आफू आमा बन्ने चरणमा आफ्नी आमाको पनि खूब सम्झना आउँने रहेछ । त्यसैले कविता बेलाबेला भक्कानिन्थिन् । उनलाई आफू रुँदा परिवार पनि भावुक बने झैं लाग्थ्यो अनि आफूलाई आफैँ सम्हाल्थिन् ।

दामु कामको सिलसिलामा फिल्डमा गइरहन्थे । फिल्ड जानुपर्ने भए पनि घरमा भएका बेला साँझ बिहानको आफ्नो समय कविताकै लागि दिन्थे । सकेजति माया, सकेजति केयर गर्थे । तर, त्यो माया व्यक्त गर्दैनथे । बिरामी भए औषधी किनेर ल्याइदिने, आफैं खाना बनाउन तम्सिने, साथीभाइसँग उसलाई बिसन्चो भयो के गर्ने भनेर चिन्ता प्रकट गर्ने गर्थे, तर सामुन्नेमा आएर छुने, मसार्ने केही शब्द व्यक्त गर्ने गर्दैनथे । कविता त्यो माया पनि चाहन्थिन् ।

त्यो समय गर्भ र बच्चाका बारेमा खुलेर कुरा हुँदैनथे । कवितालाई लागिरहन्थ्यो गर्भको मान्छे उसको बाबा जस्तो होला कि म जस्तो भन्ने । खुलदुली भइरह्यो । 

उनको पेट हेरेर, उनको शरीरमा देखिएका लक्षण हरेर गाउँका मानिसहरू भविष्यवाणी गर्थे । भन्थे, ‘यतिधेरै वाकवाकी गर्ने मान्छेको त छोरी हुन्छ, तिमी पल्टिरहन्छ्यौ छोरी पाउनेलाई अल्छी बढी लाग्छ,  छोरा दायाँ चल्छ छोरी बायाँ चल्छ तिम्रो बायाँ चल्दो रहेछ छोरी नै जन्मन्छ ।’ जसले जे भविष्यवाणी गरे पनि कविताको भित्री चाहना थियो, ‘छोरी जन्मियून् ।’ उनलाई लाग्थ्यो, ‘म छोरी जन्माउँछु अनि यो समाजलाई छोरा र छोरीका बीचको विभेद अन्तको प्रयास आफैंबाट थाल्छु ।’

देशमा संकटकाल लागेको थियो । दसैंको टीकाको दिन सबै जना घर गएका थिए । दामु र कविता घोराहीमा थिए । बेलाबेला डड्याम–दुडुम गोली चल्थ्यो । बजार निस्कने अवस्था थिएन ।

त्यही साँझ कवितालाई व्यथाले च्याप्यो । अब कसरी अस्पताल जाने । त्यसबेला कविताका ठूलो बुवाका छोरा अच्युत मजगैयाँ घोराहीमा सशस्त्र प्रहरीका डिएसपी थिए । गाडीका लागि उनैलाई खबर गरियो । उता महेन्द्र बहुमुखी क्याम्पस दाङका प्राध्यापक प्रेम शाह मार्फत् नेपाल प्रहरीको गाडीलाई पनि खबर भएको रहेछ । दुवै गाडीसँगै आएपछि संकटकालका बीच रातको साढे ९ बजे कविता महेन्द्र अस्पताल पुगिन् ।

जिल्लाको अस्पताल एकै दिन १६ जना सुत्केरी भएको हुँदा बेड पनि राम्रो पाइएन । तर, अस्पताल पुगेको केही समयमै कविता आमा बनिन् । उनले छोरालाई जन्म दिइन् ।

त्यो बेलाको प्रसव व्यथाभन्दा पनि अस्पतालका नर्सको व्यवहार सम्झँदा कविताको मन अहिले पनि भारी भएर आउँछ । नर्सले रातको ९ बज्दासम्म दसैंको टीका लगाउन पाएकी रहिनछिन् । अब टीका लगाउन जाने भन्ने बेलामा कविता अस्पताल पुगिन् । टीका लगाउन नपाएको झोँकमा ती नर्स कवितासँग झर्किने, रिसाउने गरिन् ।

कवितालाई पहिलो पटक बच्चा देख्दा त निकै चिन्ता लागेको थियो । उनी दुःखी भएकी थिइन् । भन्छिन्, ‘नर्स बाहिर निस्किएका बेला बाबु जन्मिए ।  जन्मिएको करिब ५-७ मिनेटसम्म बाबु रोएनन् । म कराएपछि सुढेनी दिदी भित्र आउनुभयो । अनि बाबुको खुट्टामा उचालेर बाहिर लिएर गएपछि मरेको रहेछ भन्ने लाग्यो । त्यो बेला निकै पीडाको अनुभूति भयो । फेरि भित्र लिएर आएर पैतलामा बिस्तारै पिटेपछि बाबु रोए ।

उनको रुवाइ सुनेपछि प्रसव पीडाको सबै दुःख भुले झैं भयो । सायद त्योभन्दा सुखको क्षण आजसम्मको भोगाइमा अरू केही छैन होला ।’

छोरो जन्मिएपछि कविता आफूलाई निक्कै पूर्ण महसुस गर्थिन् । छोराको जन्मपछि कविताको जीवन झन सहज बन्दै गयो । दामुको अधिकृतमा नाम निस्कियो ।

त्यसपछि उनीहरू दाङ छोडेर रोल्पा फर्किए । त्यसपछि करिब ३ वर्ष उनले होलिभिजन आवासीय माध्यमिक विद्यालय लिबाङमा माविसम्म पढाइन् । उनी बच्चा हुर्काउँदाको त्यो क्षण सम्झदै भन्छिन्, ‘बोर्डिङ छोडेर सदरमुकाममा रहेको गैरसरकारी संस्था विकास सरोकार समाज डिकोस रोल्पामा प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेँ ।

बच्चा सानो भएको हुँदा केही असहज त भयो । तर, पनि श्रीमान् र परिवारको साथ पाएको हुँदा खासै असहज परिस्थितिको सामना गर्नुपरेन । बरु त्यही समयमा मैले एमएको पढाइ पनि सकें । मेरो परिवार शिक्षा प्रेमी हुनुहुन्छ । परिवारको प्रेरणा र सहयोगका कारण १० महिनाको बाबु घरमै छोडेर परीक्षा दिन दाङ गएँ ।

मेरो हरेक सफलतामा मेरा माइती तथा घर परिवारका सबै सदस्यहरूको साथ, सहयोग, माया र हौसला मिसिएको छ । सायद यो अवसर नपाएको भए आज म यो ठाउँसम्म आउँदैनथें होला । त्यसैबेला म महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल रोल्पाको अध्यक्ष भएर दुई कार्यकाल काम गर्ने सौभाग्य पनि पाएँ ।

त्यसपछि राष्ट्रिय समाचार समितिमा पनि केही वर्ष रोल्पाबाट रिपोर्टिङ गरे, त्यो बेला लेखेको आलेख ‘गर्भैदेखि सुरु हुन्छ महिला हिंसा’ का कारण राससबाट सम्मानित पनि भएँ । यसबाहेक मैले धेरै साहित्यिक र पत्रकारिता पुरस्कार पाएकी छु । सम्मानित पनि भएकी छु ।’ 

अहिले कविता जूनकीरी सञ्चार साप्ताहिकमा प्रकाशक सम्पादकको भूमिका छिन् । भन्छिन्, ‘म छोरी पत्रकार होइन । बुहारी र आमा पत्रकार हुँ । हाम्रो समाजमा विवाहपछि धेरै छोरीहरू भातभान्छामा सीमित रहेका थुप्रै उदाहरण छन् । सायद परिवारबाट अवसर र सहयोग नपाएको भए म पनि भातभान्छामा सीमित रहन्थेँ होला ।’ बच्चा हुर्काउनु पर्ने कुराले कविताको काममा कहिले असर परेन ।

जिल्ला बाहिर जाँदा छोरालाई घरमै हजुरबा हजुरआमासँग घरमा छाडेर जान्थिन् । जागिरका क्रममा काममा निस्कँदा २-३ वर्षदेखि छोरा पनि उनीसँगै अफिसमा गए । त्यहाँका कार्यालय सहयोगी दाइहरूले नै बाबुलाई हुर्काए । कहिले काहीँ समय उस्तै पर्दा कविता बाबुलाई कोठामा थुनेर धेरै खेलौनाको बीचमा छोडेर निस्कन्थिन् । भन्छिन्, ‘उनी कहिल्यै रोएनन् । बरु म बाहिरबाट फर्कदा दिसा-पिसाबमा मुछिएर हेरिनसक्नु हुन्थ्यो । त्यो बेला मन चसक्क हुन्थ्यो ।’

कविताले बाबुको स्तनपानको अधिकारलाई ३ वर्षसम्म खोसिनन् । ‘निकै व्यस्तताका बाबजुद पनि छोरालाई तेल लगाएर मालिस गरें । उनको खानामा पनि मैले सधैं ध्यान दिएँ । करिब ३ वर्षसम्म सधैं घरमा बनाएको खाजा, लिटो लगायतका खानेकुरा खुवाएँ ।’

उनका छोरा सानैदेखि उत्साहित थिए । २ वर्षको हुँदा पाकेको दालमा परेर पोल्यो, एक पटक भुइँमा लडेर निधारमा काट्यो, तीन वर्षको उमेरमा तलाबाट लडेर टाउकोमा चोट लाग्यो ।

त्यो क्षण सम्झँदै कविता भन्छिन्, ‘त्यो बेलामा त रुवाबासी नै भयो । म कृतज्ञ छु भगवानसँग उनले रक्षा गरे । तर, बाहिरी चोटमात्र भएका कारण उनलाई सञ्चो भयो । अहिले सम्झन्छु सानोमा उत्साहित बच्चाले केही सिकिराखेको हुँदो रहेछ । त्यस्तो बेलामा बच्चालाई समय दिनुपर्दो रहेछ भन्ने लाग्छ । दुवै जना व्यस्त भएका कारण दिनुपर्ने जति समय दिन पाइएन भनेर दुःख लाग्छ ।’

‘बच्चाले सिक्ने उमेरमा साथीभाइ तथा उनीहरूको संगतले प्रभाव पार्दो रहेछ । उनीहरूले सिक्ने बेलामा जस्तो वातावरण पाए त्यस्तै जीवनशैली बनाउँदा रहेछन् । त्यसैले उनीहरूका हरेक गतिविधि नजिकबाट नियाल्नु पर्दो रहेछ’, कविताले अनुभव सुनाइन् ।

‘उमेर अवस्था अनुसार उनीहरूमा शारीरिक तथा मानसिक विकास हुँदै जाँदो रहेछ । यो कुरालाई अभिभावकले विशेष ध्यान दिनुपर्छ भन्ने लाग्छ । यसका साथै बालबालिकाको रुचि र चाहनालाई पूरा गर्ने वातावरण मिलाउनु पर्छ’, उनी भन्छिन्, ‘उनीहरू जे चाहन्छन् त्यो सहज रूपमा उपलब्ध गराउनु अभिभावकको कर्तव्य हो यसमा सचेत र सजग बन्नुपर्छ । यदि बालबालिकाले नराम्रो कुरा चाहेको छ नराम्रो काममा उत्सुक भएको छ भने पिटेर, हप्काएर होइन सम्झाएर उनीहरूलाई सिकाउनु पर्छ ।’

आफूले छोरालाई पिटेको अनुभव उनीसँग छैन । ‘ हामीले गालीसम्म पनि गरेका पनि छैनौं । उनका हरेक कुरा, हरेक गतिविधिलाई नियालिराखेका हुन्छौं । बाटो बिराउन खोज्दा डोर्याउन प्रयत्न गर्छौं’, उनले थपिन्,  ‘हामी दुवैजना व्यस्त भएका कारण हामीले बाबुलाई सानैदेखि स्कुल को क्यान्टिनमा नास्ताको व्यवस्था मिलाएका छौं । तर, कहिलेकाहीँ बिदाको दिनमा उनलाई नास्ताका लागि दिएको १०-२० रुपैयाँ उनले कहिले नास्तामा खर्च गरेनन् । बरु त्यो पैसा जम्मा गरेर कथाका पुस्तकहरू पढ्ने गरेको थाहा पाएपछि हामीले नै उनलाई पुस्तक किनेर ल्याइदिन्थ्यौँ ।’

पछिल्ला दिनमा उनले पुस्तक किन्न छोडेका छन् । मान्छेहरू मोबाइलले बच्चालाई बिगार्छ, पढाइमा असर गर्छ भन्छन् । तर, उनीसँग सानैदेखि मोबाइल साथमा छ । कक्षा ५ मा पढ्दादेखि उनको आफ्नै मोबाइल छ । उनी कहिले पनि मोबाइलको दुरुपयोग गर्दैनन् । बरु उनले मोबाइलमा पढेका जानेका कुरा उनको बाबा र आमालाई सिकाउँछन् । उनी किताबभन्दा बढी समय मोबाइलमा बिताउने गर्छन् ।

‘पोहोर सालसम्म म कहिलेकाहीँ किताब किन नपढेको भनेर गुनासो गर्थे । तर, उनी कक्षा ८ को परीक्षामा नगर प्रथम भएपछि यो गुनासो पनि गर्न छोडेकी छु । स्कुल भर्ना भएदेखि आजसम्म उनी सधैं प्रथम भएका छन् ।’

कविताका छोरा अहिले १५ वर्ष भए । बन्दाबन्दीका कारण उनको कक्षा ९ को परीक्षा रोकिएको छ । उनको भविष्यको चिन्ता उनका आमाबाबुलाई छैन । उनी आफैं आफ्नो भविष्यको बारेमा सोच्न थालिसकेका छन् । कानुन पढेर देशको बिग्रँदो अवस्था सुधार गर्ने उनको लक्ष्य रहेको कविताले बुझेकी छन् । यसका साथै उनलाई साहित्यमा रुचि छ । उनले बाह्र वर्षको उमेरमा ‘पञ्चमणि’ उपन्यास लेखेर आफ्नो पहिचान स्थापित गरिसकेका छन् ।

बच्चालाई के बनाउने भन्ने बारेमा अभिभावकलाई चिन्ता र चासो हुन्छ हुनुपर्छ तर प्रेसर दिनुहुँदैन भन्ने कवितालाई लाग्छ । भन्छिन्, ‘अभिभावकले बच्चालाई मार्ग निर्देशन गरेमात्र पुग्छ । उनीहरूको लक्ष्य के छ ? चाहना के छ ? सो अनुसारको वातावरण तयार गर्ने काम अभिभावकको हो । हामी उनलाई सहज वातावरण मिलाउने काम गर्छौं । बाँकी कुरामा चिन्तित छैनौँ ।’

कविता अगाडि भन्छिन्, ‘हामी दुवैजनाले बाबुसँग साथीको व्यवहार गर्छौं । घरको कामकाज सिकाउँछौँ काममा लगाउँछौँ पनि । बाबुमा मिलेर काम गर्नुपर्छ भन्ने भावनाको विकास भइसकेको छ । घरभित्रका सबै काम उनी गर्न सक्छन् । बिदाको दिनमा वा बिहानको समयमा प्रायः चिया बनाउने, खाजा बनाउने काम उनको हो । हामीले नभ्याउँदा वा नसक्दा खाना पनि बनाउँछन् ।’

कवितालाई आजसम्म सन्तानबाट कुनै किसिमको तनाव झेल्नुपरेको छैन । बरु हरेक कुरामा गर्व गर्ने वातावरण पाएको खुसी साट्छिन् ।

‘उनमा नेतृत्व गर्ने खुबी पनि छ । उनले विद्यालयमा विभिन्न किसिमका गतिविधि सञ्चालन गर्दै आएका छन् । उनका हरेक क्रियाकलापबाट हामी आजसम्म खुसी नै छौं । आफ्नो बच्चालाई अरूका बच्चासँग तुलना गर्नु हुँदैन र हामी गर्दैनौं पनि । हामी उनलाई सकेजति तारिफ गर्छौं । फुर्क्याएर काममा लगाउँछौं । घरभित्रको केही काम बिराउँदा सम्झाउँछौँ । तर, उनी हामीभन्दा बुझ्ने भइसकेका छन् ।’

कविता र दामुले छोरो जन्मनुअघि नै फैसला गरेका थिए, ‘छोराछोरी जे भए पनि एकै सन्तान जन्माउने ।’ कविताको रहर थियो छोरी । तर, छोरा जन्मिए । अहिले उनीहरू खुसी छन् । भन्छिन्, ‘छोराछोरी जे भए पनि हाम्रै सन्तान हो । बराबर अवसर दिनुपर्छ भन्ने लाग्छ । हाम्रो छोरालाई हामीले सबै काम गर्न सिकाएका छौं । उसलाई परिवारमा छोरा र छोरीको बीचको विभेद आजसम्म थाहा छैन ।’

  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार ९:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया