निरन्तर ५ दिनको गिरावटपछि नेप्सेमा एकैदिन करिब ८० अंकको उछाल

सेयर बजारमा मंगलबार एकैदिन ७९.४४ अंकको बाउन्सब्याक भएको छ । पछिल्लो पाँच कारोबार दिनमा १९१ अंकले नेप्से घटेकोमा मंगलबार एकैदिन करिब ७९.४४ अंकको बढोत्तरी भएको हो । तीव्र गिरावट आएको बजारमा सेयर बिक्री गरेर नगद सञ्चीति राखेका ठूला खेलाडीको बजारमा पुनरागमनसँगै नेप्सेमा उच्च बढोत्तरी देखिएको हो ।

अघिल्लो मंगलबार नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ वटा कम्पनीको नामसहित विज्ञप्ति सार्वजनिकपछि बजार ऋणात्मक हुन थालेको थियो । तर, मंगलबार नेप्से २.६१ प्रतिशतले बढेर २९१३.८४ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १५.४७ अंकले बढेर ५३५.६१ बिन्दुमा पुगेको छ ।

झन्डै एक साता बजार लगातार ओरालो दिशामा लाग्दा लडखडाएको साना तथा मध्यम स्तरका लगानीकर्ताको आत्मविश्वासमा आजको सुधारले ढाडस दिएको छ । यससँगै पाँच दिनमा गुमेको सूचकको आधा हिस्सा एकैदिनमा फिर्ता भएको छ ।

मंगलबार नेप्से सूचक उच्च अंकले बढे पनि कारोबार रकम भने खासै बढ्न सकेन । अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम डेढ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ । सोमबार २२७ कम्पनीको १ लाख ३० हजार ३९७ पटकको कारोबारमा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार रुपैयाँबराबरको २ करोड ३० लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको बजारमा मंगलबार भने २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर कुल १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको खरिद बिक्री भएको छ । 

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन् । जसमा विकास बैंक, हाइड्रोपावर र फाइनान्स कम्पनी उपसमूहको सूचक ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

विकास बैंकको सूचक सर्वाधिक ५.७७ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत्को ५.४७ प्रतिशत, वित्तको ५.८ प्रतिशत, होटल्स तथा पर्यटनको ३.१३ प्रतिशत, बैंकिङको २.३३ प्रतिशत, व्यापारिकको ०.५७ प्रतिशत, निर्जीवन बिमाको २.६ प्रतिशत बढेको छ ।
 
यसैगरी उत्पादन तथा प्रशोधनको २.७५ प्रतिशत, अन्यको १.५७ प्रतिशत, लघुवित्तको १.२६ प्रतिशत, जीवन बिमाको २.२२ प्रतिशत र म्युचुअल फण्डको १.३७ प्रतिशत सूचक बढेको हो । ३३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार ६ कम्पनीको भने घट्यो ।



यस दिन कारोबारका क्रममा ३३ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । यस दिन पाँच कम्पनीको सेयर १० प्रतिशतले बढेको छ भने २८ कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । मंगलबार जानकी फाइनान्स, बरुण हाइड्रोपावर, जलविद्युत् लगानी तथा विकास कम्पनी, ङादी ग्रुप पावर र पञ्चकन्या माई हाइड्रोपावर उच्च रुपले सेयरमूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा परेका छन् । 
त्यस्तै, मंगलबार ६ वटा कम्पनीको सेयरमूल्य भने सामान्य घटेको छ । यस दिन गोर्खाज फाइनान्सको सेयरमूल्य १.५९ प्रतिशतले घटेको छ भने रुरु जलविद्युत्को ०.३१ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ०.२० प्रतिशत, नेरुडे लघुवित्त, सुर्योदय लघुवित्त र सबैको लघुवित्तको सेयरमूल्य ०.०६ प्रतिशतले घटेको छ ।



  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १६:३७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया