विप्लव समूहका नेता लामाकाे गुनासो : राज्यले सहमति इमान्दारीपूर्वक पालना गरेन

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । 

गत फागुन २१ गते सरकारसँग भएको ३ बुँदे सहमतिप्रति आफ्नो पार्टी इमान्दार रही कार्यान्वयनको दिशामा गइरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमान्दारितापूर्वक कार्यान्वयन नगरेको लामाले बताए । 

लामाले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी भएको दाबी गरे । ३ बुँदे सहमतिअनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाइ गर्ने काममा पनि ढिलासुस्ती भएको गुनासो उनले गरे । 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाडौंले आइतबार काठमाडौंमा गरेको रक्तदान कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामाले राज्य आफूले गरेको सहमतिप्रति उत्तरदायी भई कार्यान्वयनमा इमान्दार बन्नुपर्ने तर्क गरे । 

लामाले भने, ‘राष्ट्रिय राजनीतिमा निराशा छाएको छ । राजनीतिक पार्टीप्रति, सरकारप्रति, राजनितिक व्यवस्थाप्रति अहिले मानिसहरु सन्तुष्ट छैनन् । त्यसकारणले हाम्रो पार्टीले प्रगतिशील सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद मार्फत नागरिकमा छाएको निराशालाई हल गर्ने र एकपटक नेपाली जनता आफैले जनमत प्रयोग गरेर आफ्नो शासन व्यवस्था छिनोफानो गर्ने वातावरण राज्यले बनाउनुपर्छ भनेर हाम्रो पार्टीले अपिल गरेको छ । तर, दुर्भाग्य हाम्रा ३ बुँदे सहमति , सरकार र हाम्रो पार्टीबीच भएको थियो फागुन २१ गते, धेरै कमरेडहरु अझै पनि जेलमा हुनुहुन्छ । छुट्नुभएको छैन । हाम्रो प्रतिवद्धताप्रति हाम्रो पार्टी इमान्दार छ । कार्यान्वयनको दिशामा हाम्रो पार्टी गइरहेकै छ । तर राज्यले आफ्नो भूमिकालाई जसरी इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपथ्र्यो, ३ बुँदे सहमति कार्यान्वयनमा राज्यले तदारुकता नदेखाएको अहिले राजनीतिक पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी छन् । यो पाटोमा राज्यले आफूलाई समयमा नै इमान्दारीता पूर्वक उभ्याओस् ।’

नेकपा काठमाडौं जिल्ला कमिटीले आइतबार गरेको रक्तदान कार्यक्रममा २५० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १५:५५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया