अनामनगरको सरकारी जग्गामा बनेका टहरा महानगरपालिकाले हटायो

अनामनगरको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरी निर्माण गरिएका घर टहरा काठमाडौँ महानगरपालिकाले हटाएको छ । 

काठमाडौँ महानगरपालिकासँग समन्वय नै नगरी टहरा बनाएर विभिन्न गतिविधि गरेकाले ती टहरा हटाइएको नगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौँ महानगरपालिका व्यवस्थापनको निर्णयअनुसार नै हटाइएको बताए ।

 ‘हामीलाई जानकारी भए अनुसार करिब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरूले त्यहाँ टहरा बनाउनु भएको रहेछ,’ ज्ञवालीले भने, ‘स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ-डिजाइन तयारी अवस्थामा छ । हामीले काम अघि बढाउन उहाँहरूलाई पटक-पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौँ ।’

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपति सापकोटाले पनि पटक-पटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको जानकारी दिए । ‘उहाँहरूको अभियानप्रति हाम्रो विमति छैन,’ सापकोटाले भने, ‘तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माण गर्ने, हरियाली बढाउने हाम्रो अभियानमा अवरोध गर्दै उल्टै अटेर गर्ने कुरा उचित होइन ।’

उनले पनि अब त्यो स्थानमा हरियाली पार्क निर्माण हुने बताए । टहरा हटाउने सिलिसिलामा केही झडप समेत भएको थियो भने अवरोध गर्ने केही पक्राउ परेका छन् ।





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १६:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया