युरो कप : अन्डरडग टोलीको उदय

युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कपको १६ औँ संस्करणको  क्वाटरफाइनमा पुग्ने टोलीको टुंगो लागेको छ ।

युरोपका विभिन्न ११ सहरमा सञ्चालन भइरहेको प्रतियोगिताको मंगलबार रातिबाट अन्तिम १६ का खेलहरू सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ टोलीको छिनोफानो भएको हो । यसपटकको युरोकपमा डेनमार्क, इटाली, चेक गणतन्त्र, बेल्जियम, स्पेन, स्विट्जरल्यान्ड, इङ्ल्यान्ड र युक्रेनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

उपाधि दाबेदार मानिएका साविक विजेता पोर्चुगल, फ्रान्स र जर्मनी भने अन्तिम १६ बाटै बाहिरिएका छन् । 

क्रोएसिया, अष्ट्रिया, नेदरल्यान्ड, वेल्स र स्विडेनले पनि क्वाटरफाइनलको यात्रा तय गर्न सकेनन् ।
 
युरो कपको क्वाटरफाइनल पुग्ने ८ टोलीमध्ये ५० प्रतिशत अर्थात् ४ अन्डरडग टोली हुन् । अन्तिम १६ मा पुगेका टोलीलाई हेर्ने हो भने पनि ७ अन्डरडग टिम थिए । तीमध्ये डेनमार्क, स्विट्जरल्यान्ड, चेक गणतन्त्र र युक्रेनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

अन्तिम १६ बाटै बाहिरिए पनि अस्ट्रियाले उपाधि दाबेदार मानिएको इटालीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । खेल भने अतिरिक्त समयमा २-१ ले गुमायो । समूह चरण पार गर्न नसके पनि फिनल्यान्ड र हंगेरीले आफूभन्दा बलिया टोलीसँग राम्रो प्रदर्शन गरे ।

पहिलोपटक युरो कप खेलिरहेको फिनल्यान्डले पहिलो खेलमै डेनमार्कलाई १-० ले पराजित गर्दै सबैलाई आश्चर्यमा पारेको थियो । फिनल्यान्ड दोस्रो खेलमा रुससँग १-० र तेस्रो खेलमा बेल्जियमसँग २-० ले पराजित भयो । 



पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित भएको हंगेरीले पनि फ्रान्स र जर्मनी विरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍याे । हंगेरीले फ्रान्ससँग १-१ र जर्मनीसँग २-२ को बराबरी खेलेको थियो ।

 फुटबल केवल बलिया टोलीले मात्र जित्दैनन्, उनीहरूका लागि यस्ता अन्डरडग टोली टाउको दुखाइका विषय बन्न सक्छन् । यो युरो कपको माध्यमबाट अन्डरगड टिमले पूरा विश्व फुटबललाई यस्तै सन्देश दिएका छन् ।
 
यस्तो रह्यो क्वाटरफाइनल प्रवेश गरेका ४ अन्डरडग टोलीको प्रदर्शन : 



डेनमार्क

डेनमार्कले प्रतियोगिताको पहिलो खेलमै अप्रत्यासित दुर्घटनाको सामना गर्नु पर्‍याे । फिनल्यान्ड विरुद्धको खेलमा डेनमार्कका मुख्य खेलाडी क्रिस्टियन एरिक्सन अचानक बेहोस भएर मैदानमा ढल्न पुगे । उनी बेहोस भएपछि १५ मिनेट मैदानमै प्राथमिक उपचार गरियो । त्यसपछि उनलाई अस्पताल लगियो ।

करिब डेढ घन्टा खेल रोकिएर पुन: सञ्लानमा आयो । तर डेनिस खेलाडी यसका लागि मानसिक रूपमा तयार थिएनन् भन्ने प्रस्टै देखिन्थ्यो । जसको फलस्वरूप डेनमार्कले १-० ले खेल गुमायो । 

डेनमार्कले बेल्जियम विरुद्धको दोस्रो खेल पनि २-१ ले गुमायो ।

रुससँगको खेलअघि एरिक्सन अस्पतालबाट घर फर्किए । यसले केही उत्साहित बनेको डेनमार्कले रुसविरुद्ध ४-१ को सानदार जित निकाल्दै समूह ‘बी’को उप विजेताको रूपमा अन्तिम १६ मा स्थान बनायो ।

सुरुवाती दुई खेल गुमाएको डेनमार्कले अन्तिम १६ को यात्रा तय गर्ला भन्ने सायदैले सोचेका थिए होलान् ।

अन्तिम १६ मा डेनमार्कको भेट अर्को अन्डरडग टोली वेल्ससँग भयो । यो खेलमा पनि ४-० को सहज जित निकाल्दै आफू कमजोर नभएको संकेत दियो ।
डेनिस खेलाडीले आफ्नो जित एरिक्सनलाई समर्पित गरेका थिए । 

 स्विट्जरल्यान्ड

पहिलो खेलमा वेल्ससँग १-१ को बराबरी खेलेको स्विट्जरल्यान्डले दोस्रो खेलमा इटालीसँग ३-० ले पराजित भयो । तेस्रो खेलमा टर्कीमाथि ३-१ को जित निकाल्दै स्विट्जरल्यान्ड समूह ‘ए’ बाट उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा अन्तिम १६ मा पुगेको हो । 

अन्तिम १६ मा स्विट्जरल्यान्डले अप्रत्यासित नतिजा निकाल्ने क्रममा उपाधि दाबेदार मानिएको विश्व विजेता फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्‍याे । 

निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेलको निणर्य पेनाल्टी सुट आउटबाट लिइएको थियो । फ्रान्सका युवा स्टार केलियन एमबाप्पे पेनाल्टीमा चुक्दा स्विट्जल्यान्डले ५-४ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गर्‍याे ।
 
चेक गणतन्त्र

पहिलो खेलमा स्कटल्यान्डलाई २-० ले पराजित गरेको चेक गणतन्त्रले दोस्रो खेलमा क्रोएसियासँग १-१ को बराबरी खेल्यो । 

तेस्रो खेलमा इङ्ल्यान्डसँग १-० ले पराजित भए पनि चेक गणतन्त्र समूह ‘डी’ बाट उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।
अन्तिम १६ मा भने नेदरल्यान्डमाथि २-०को जित निकल्यो ।

युक्रेन 

पहिलोे खेलमा नेदरल्यान्डसँग ३-२ ले पराजित भएको युक्रेनले दोस्रो खेलमा उत्तरी म्यासेडोनियालाई २-१ ले हरायो । अन्तिम खेलमा अस्टियासँग १-० ले पराजित भए पनि उसले समूह ‘सी’बाट उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा अन्तिम १६ मा स्थान बनाएको हो ।

अन्तिम १६ मा अर्को अन्डरडग टिम स्विडेनलाई २-१ ले पराजित गर्दै युक्रेनले पहिलोपटक युरो कपको क्वाटरफाइनलमा स्थान पक्का गर्‍याे । 


 

  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार १४:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया