मैथिली केन्द्रीय विभागमा अनलाइन कक्षाका लागि लाखौँ खर्चिए पनि कक्षा सञ्चालनमा आएन

जनकपुरधामस्थित त्रिभुवन विश्व विद्यालयको मैथिली केन्द्रीय विभागले अनलाइन कक्षा सञ्चालनका लागि लाखौँ रुपैयाँको सामान खरिद गरे पनि दक्ष जनशक्तिको अभावमा ती सामान थन्किएका छन् ।

विभागले अनलाइन कक्षा सञ्चालनका लागि ३ लाख ५४ हजारको समान खरिद गरे पनि कक्षा भने अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन । गत असोज महिनामै खरिद गरिएका ती सामानहरू दक्ष जनशक्ति अभावमा थन्काएर राख्नु परेको लेखापाल सञ्जीव दासले बताए । 

उनले भने, ‘गत असोज महिनामा अनलाइन कक्षा सञ्चालन गर्ने अभिप्रायले त्रिभुवन विश्व विद्यालयले ७ लाख रुपैयाँ उपलब्ध गराएको थियो । जसमध्ये ३ लाख ५४ हजार खर्च भएको छ । त्यस पैसाबाट ल्यापटप, मोबाइल, क्यामेरा, क्यामेरा स्ट्यान्ड, मिनी स्पिकर, वायरलेस हेडफोन, प्रोजेक्टर, इन्भर्टर, ब्याट्री लगायतका सामग्री खरिद गरिएको छ ।’ 

विभागले अनलाइन कक्षा सञ्चालनका लागि ७६ हजार ३२७ रुपैयाँको ल्यापटप, ४० हजार ७०७ रुपैयाँको रेडमी ९ प्रो म्याक्स मोबाइल, ४ हजार ७० रुपैयाँको दुई थान क्यामेरा स्टयान्ड, ७६३ रुपैयाँमा मिनी स्पिकर, ६ हजार १०६ रुपैयाँमा वायरलेस हेडफोन र ५८ हजार रुपैयाँमा क्याननको क्यामेरा खरिद गरेको उनले जानकारी दिए ।

शिक्षकहरूलाई अनलाइन कक्षा सञ्चालनका लागि तालिम दिने योजना रहे पनि शिक्षकहरूमा प्राविधिक ज्ञानको अभावका कारण कक्षा सञ्चालन गर्न नसकिएको लेखापाल दासले बताए ।

विभागको अवस्था दयनीय



जनकपुरधामस्थित त्रिभुवन विश्व विद्यालयको मैथिली केन्द्रीय विभागमा अहिले ३० जना विद्यार्थी मात्रै अध्ययनरत छन् । विभागको अवस्था भने दयनीय बन्दै गइरहेको छ । 

रामसागर रामस्वरुप बहुमुखी क्याम्पसको हाताभित्रै रहेको सो विभागमा कार्यरत कर्मचारी तथा प्राध्यापकहरूले कुनै वास्ता नगर्दा यसको अवस्था दयनीय बन्दै गइरहेको पाइएको हो । 



एक कर्मचारीले भने, ‘अधिकांश शिक्षकहरू घरमै बसेर तलब खाने गरेकाले कक्षासम्म सञ्चालन हुँदैन । उनीहरू आआफ्नो मनोमानी तरिकाले काम गर्छन् । विभागप्रति कसैको कुनै चासो छैन । सबैथोक लथालिङ्ग छ ।’

दुईवटा कोठामा मात्रै सञ्चालनमा हुँदै आएको विभागमा अहिले २ जना कर्मचारी तथा ५ जना शिक्षक कार्यरत रहेका छन् । उनीहरूको तलब तथा सेवा सुविधामा प्रतिमहिना २० लाख रुपैयाँ खर्च हुँदै आइरहेको छ ।

यस सम्बन्धमा विभाग प्रमुख श्यामा महतोसँग जानकारी लिन खोज्दा उनी बोल्न चाहिनन् । उनले भनिन्, ‘मेरो कार्यकाल समाप्त भएको ४ दिन भइसकेकाले म यहाँको वस्तुस्थितिको विषयमा कुनै कुरा गर्न सक्दिनँ ।’
यता, विद्यार्थी क्याम्पस नआएकाले केही समय बसेर घर फर्कनु पर्ने बाध्यता रहेको विभागका प्राध्यापक रुपेश सिंहले बताए ।
 

  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १९:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया