डेनमार्क भर्सेस चेक गणतन्त्र : सेमिफाइनल प्रवेशकाे लक्ष्य, यस्तो छ इतिहास !

युरो कप अन्तर्गत तेस्रो क्वाटरफाइनलमा शनिबार (आज) दुई अन्डरडग टिम डेनमार्क र चेक गणतन्त्र प्रतिस्पर्धा गर्दै छन् । 

खेल नेपाली समयअनुसार राति पौने १० बजे अजरबैजानको बाकुमा हुनेछ । दुवै टोली सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । 

डेनमार्कले वेल्समाथि ४–० को र चेक गणतन्त्रले उपाधि दाबेदार मानिएको  नेदरल्यान्डमाथि २-० को जित हात पार्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । 

हालसम्म डेनमार्क र चेक गणतन्त्रले ११ खेलमा एक अर्काको प्रतिस्पर्धा गरेका छन् ।  जसमा डेनमार्कले २, चेक गणतन्त्रले ३ खेल आफ्नो पक्षमा पार्दा ६ खेल बराबरीमा सकिएको छ ।

यी दुईले पहिलो पटक सन् १९९८ मा एक अर्काको सामना गरेका थिए । यो मैत्रीपूर्ण खेलमा चेक गणतन्त्र १-० ले विजयी भयो । 

मैत्रीपूर्ण खेल अन्तर्गत सन् २०१६ मा भएको पछिल्लो भेटमा दुवै टोलीले १-१ गोल गरेका थिए । यी दुईबीच युरो कपमा भएका दुवै भेटमा नतिजा चेक गणतन्त्रले आफ्नो पक्षमा पारेको छ । 



उसले डेनमार्कमाथि सन् २००० को युरोमा २-० र २००४ को युरोमा ३-० को जित दर्ता गरेको थियो ।  चेक आज पनि डेनमार्क विरुद्धको इतिहासलाई दोहोर्याउँदै सेमिफाइनल प्रवेश गर्ने प्रयासमा हुनेछ ।

डेनमार्क पनि चेक गणतन्त्र विरुद्धको इतिहासलाई भुलाउँदै सेमिफाइनल प्रवेश गर्ने दाउमा हुनेछ । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका यी दुई टोली बीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ । 
 
प्लेयर टु वाच



कास्पर डोलबर्ग (डेनमार्क)
चेक गणतन्त्रविरुद्ध मैदान उत्रिँदा सबैको नजर युवा फरवार्ड कास्पर डोलबर्गमा हुने छ । २३ वर्षीय कास्परले टिमका लागि २ खेल खेल्दा २ गोल नै गरेका छन् । कास्पर चेक गणतन्त्रका लागि टाउको दुखाइको विषय बन्न सक्छन् । 

प्याट्रिक सिक (चेक गणतन्त्र)
सिक चेक गणतन्त्रको आक्रमणका मुख्य हतियार हुन् । उनी ४ खेलबाट ४ गोल गर्दै युरो कपमा गोल्डेन बुटको दौडमा छन् । 

पोचुर्गलका क्रिस्टियानो रोनाल्डो भन्दा मात्र १ गोलले पछि रहेका सिकलाई डेनर्माकविरुद्ध गोल गर्दै बराबरी गर्ने अवसर पनि छ । २५ वर्षीय सिक डेनमार्कका लागि घातक बन्न सक्छन् । 

  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १२:४०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया