Sun, 26 May, 2019


ओम भण्डारी घर फर्किंदै छन्
फरकधार / असोज १०, २०७५

पाँच दिनअघि ट्राफिक महाशाखामा भेटिएका थिए, ओम भण्डारी । इटहरीबाट उपचारका लागि काठमाडौं आएका भण्डारी पैसा सकिएपछि घर फर्किन नसकेर काठमाडौंमा सहयोग मागिरहेका थिए । 

सहयोग माग्नकै लागि भण्डारी असोज ५ गते ट्राफिक प्रहरी महाशाखा पुगेका थिए । त्यसयताका पाँच दिन भण्डारीका जीवनका सबैभन्दा कठिन दिन रहे । बुढो ज्यान लिएर भण्डारी काठमाडौंका सरकारी कार्यालयमा सहयोगको याचना गर्न थाले । तर, सरकारी अड्डाले न उनको कुरा सुने न उनलाई सहयोग गर्ने तत्परता नै देखाए ।

सहयोगको अपेक्षासहित पुल्चोक मन्त्री निवाससम्म पुगेका भण्डारीलाई मन्त्री निवासको गेटभित्र प्रवेश नै दिइएन । लगातार दुई दिनसम्म मन्त्री निवासको गेटबाट फर्काइएका भण्डारी बिरामी ज्यानसहित काठमाडौंका सडकमा भौँतारिइरहे । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि उनलाई आश्वासनबाहेक अरू केही दिन सकेन । 

२० दिनअघि भण्डारी उपचारका लागि काठमाडौं आएका थिए । पिसाब पोल्ने र पिसाबमा रतग देखिने समस्या देखिएपछि १५ हजार रुपैयाँ बोकेर भण्डारी काठमाडौं आएका थिए । वीर अस्पतालमा उनले जँचाए । 
जीवनकालमा दोस्रोपटक काठमाडौं आएका भण्डारीका लागि उनको दोस्रो काठमाडौं यात्रा जीवनकै अँध्यारो पाटो बन्न पुग्यो ।

पञ्चायतकालमा गाउँकै विद्यालयमा शिक्षकसमेत रहेका भण्डारी आजभोलि भने बत्तीको (पूजाआजामा बालिने) व्यापार गर्छन् । भण्डारीले काठमाडौं यति निष्ठुरी हुन्छ भन्ने कल्पना पनि गरेका थिएनन् । भण्डारीका लागि काठमाडौं, आफ्नो जीवनजस्तै निर्दयी लाग्यो ।
 
वीर अस्पतालमा एक्सरे, सिटी स्क्यान, रगत, पिसाबजस्ता विभिन्न जाँच गर्दै भण्डारीको काठमाडौं बसाइ लम्बिँदै गयो । लम्बिँदै गएको काठमाडौं बसाइले उनको खर्च पनि बढायो ।

होटेलमा तिर्नै पैसा पनि नपुग्ने भएपछि उनले श्रीमतीलाई १५ सय पैसा पठाउन लगाए । श्रीमतीले पठाएको पैसाले होटेलको बाँकी रकम त तिरे । तर, अब घर कसरी जाने ? घर जाने टिकट खरिद गर्ने पैसा नभएपछि भण्डारी राजधानीका सरकारी अड्डा धाउन थाले । ढाका टोपीमा सजिएर हिँड्ने भण्डारीले आफ्नो शिरको टोपी नै माग्ने भाँडो बनाउन थाले । दुर्भाग्य ! काठमाडौंलाई उनको माग्ने कला रुचेन । त्यही भएर त उनले घर फर्किने टिकट खरिद गर्ने पैसा पनि माग्न सकेनन् ।

सबै सरकारी कार्यालयबाट निराश र हतास बने पनि उनले हार मानेका थिएनन् । अन्तिम प्रयासस्वरुप भण्डारी बुधबार सिंहदरबार छिर्ने योजनामा थिए । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारले उनलाई घर फर्काउँछ कि भन्ने विश्वास भण्डारीलाई थियो ।

‘कतै केही भएन, सिंहदरबारमा कसैले सहयोग गर्छ कि ?’ भण्डारीले आशावादी हुँदै भनेका थिए । नभन्दै भण्डारीको आशा पूरा भयो । भण्डारी घर फर्किन पाउने भए । घर फर्किने टिकट हातमा परेपछि खुसी देखिएका भण्डारीले भने ‘दया, माया अझै सकिएको रहेनछ ।’ घरै फर्किन नपाउने हुँ कि भनेर चिन्तित बनेका ६९ वर्षीय भण्डारीलाई घर फर्किन पाउँदा संसारै जितेको अनुभव भइरहेको छ । ‘हिजो–अस्तिसम्म त, काठमाडौंमा मान्छे नै छैनन्जस्तो लाग्थ्यो,’ भण्डारीले हातमा रहेको टिकेट जतनसाथ गोजीमा राख्दै भने । 

तर, भण्डारीलाई घर फर्काउने काम सिंहदरबारका अधिकारीले भने गरेका होइनन् । सिंहदरबार जाँदै गरेका भण्डारीलाई फरकधारको संयोजनमा गोर्खाकी बिनु कार्कीले घर फर्किने टिकट उपलब्ध गराउन सहयोग गरिन् । ‘बुढो मान्छे घर फर्किन नपाएको देखेपछि माया लाग्यो,’ कार्कीले भनिन्, ‘उहाँलाई घर फर्काउन पाउँदा खुसी लागेको छ ।’

७ दशकको यो जीवनकालमा भण्डारीले पहिलोपटक एक्लिएको महसुस काठमाडौं आएर गरेका हुन् । काठमाडौं बसाइका यी २० दिन भण्डारी आफ्नो स्मरणबाट मेटाउन चाहन्छन् । भण्डारीलाई डाक्टरले २ महिनापछि फेरि जाँच गराउन आउनू भनेका छन् । तर, भण्डारी अब काठमाडौं आउने त परको कुरा, काठमाडौं सम्झिन पनि चाहँदैनन् । भण्डारी आफ्नो जीवनबाट ‘काठमाडौं च्याप्टर’ सदाका लागि बन्द गर्न चाहन्छन् । किनभने उनी अब काठमाडौंबाट घर फर्किंदै छन् ।
 
 


यो पनि नछुटाउनुहोस्