युरो कप फाइनलका राेचक पक्ष

१६औँ संस्करणको उपाधिका लागि आइतबार इंग्ल्यान्डले घरेलु मैदान वेम्बली स्टेडियममा इटालीको सामना गर्दै छ । खेल नेपाली समयअनुसार राति पौने १ बजे हुनेछ।

पहिलोपटक युरो फाइनल प्रवेश गरेको इंग्ल्यान्ड घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्ने प्रयासमा हुनेछ ।

सन् १९६९ को युरोपियन च्याम्पियन इटाली पनि इंग्ल्यान्डलाई हराउँदै दोस्रोपटक युरो कपको उपाधि जित्न चाहन्छ । 

यस्तो छ युरो कप फाइनल इतिहास 

सन् २०१६ : १०९औँ मिनेटमा इडरको गोल 

 



सन् २०१६ को युरो कपको उपाधि पोर्चगलले हात पारेको थियो । फाइनल खेलका नायक थिए, इडर । 

बराबरीतिर लम्किएको खेलको १०९औँ मिनेटमा इटरले गोल गरेपछि आयोजक फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलो युरो कप उपाधि हात पार्यो । 



धेरैपटक एउटै नतिजा

युरो कपका ५ फाइनलमा समान नतिजा निस्किएका छन् । सन् १९६०, १९६४, १९८०,१९९६ र २००० को युरो फाइनलमा २–१ को नतिजा निस्किएको थियो । 

लगातार दुईपटक उपाधि उचाल्ने स्पेन एक्लो टोली

युरो इतिहासमा लगातार दुई उपाधि हात पार्ने स्पेन एक्लो टोली हो । उसले सन् २००८ मा जर्मनी र २०१२ मा इटालीलाई पराजित गर्दै लगातार दुई उपाधि हात पारेको थियो । 


 
एकपटक मात्र विजेताको छिनोफानो पेनाल्टीमार्फत

युरो इतिहासमा अहिलेसम्म मात्र एकपटक विजेताको टुंगो पेनाल्टी सुट आउटबाट लगाइएको छ । 

सन् १९७६ को युरो कपमा चेकोस्लोभाकिया (हाल चेक गणतन्त्र) ले पश्चिम जर्मनी (हाल जर्मनी)लाई पेनाल्टी सुट आउटमा ५–३ ले पराजित गर्दै उपाधि उचालेको थियो।
 
जर्मनी सर्वाधिक फाइनल खेल्ने टोली

सर्वाधिक युरो फाइनल खेल्ने टोली हो, जर्मनी । उसले हालसम्म ६ युरो फाइनल खेलेको छ । 

जर्मनीले १९७२, १९८० र १९९६ को उपाधि उचाल्दा सन् १९७६, १९९२ र २००८ मा उप विजेता बनेको थियो । 

गोल्डेन गोलबाट उपाधि विजेताको टुंगो

युरो इतिहासमा दुईपटक उपाधि विजेताको टुंगो गोल्डेन गोलमार्फत लगाइएको छ । 

सन् १९९६ को फाइनलमा चेक गणतन्त्रविरुद्ध जर्मनीका ओलिभर बेइर्होफ तथा सन् २००० को फाइनलमा इटालीविरुद्ध फ्रान्सका डेबिड तार्जगुइटले गोल्डेन गोल गर्दै टोलीलाई विजेता बनाएका थिए । 

पहिलो सहभागितामै उपाधि हात पार्ने टोली

हालसम्म ३ टोलीले पहिलो सहभागितामै युरो कप उपाधि हात पारेका छन् । सोभियत संघ (हाल रुस)ले सन् १९६०, इटालीले १९६८ र पश्चिम जर्मनी (हाल जर्मनी)ले १९७२ मा उपाधि हात पारेका थिए । 

खेलाडी र प्रशिक्षकका रुपमा युरो उपाधि हात पार्ने ब्रेटी भोगट्स एक्ला व्यक्ति

अहिलेसम्म ब्रेटी भोगट्सले मात्र खेलाडी तथा प्रशिक्षकका रुपमा युरो उपाधि उचालेका छन् । 

भोगट्सले पश्चिम जर्मनीका लागि सन् १९७२ मा खेलाडी र सन् १९९६ मा प्रशिक्षका रूपमा युरो कप उपाधि जितेका थिए । 
 
युरो फाइनलमा सर्वाधिक गोल अन्तरको जित 

सन् २०१२ को युरो फाइनलमा स्पेनले इटालीमाथि ४–० को फराकिलो जित दर्ता गरेको थियो । यो युरो कप फाइनलमा सर्वाधिक गोल अन्तरको जित हो ।
 
लगातार ३ युरो कप फाइनल खेल्ने जर्मनी एक्लो टोली

जर्मनी लगातार ३ युरो कप फाइनल खेल्ने एक्लो टोली हो । उसले सन् १९७२, १९७६ र १९८० को युरो फाइनल खेलेको थियो । 

जर्मनीले १९७२ र १९८० को युरो कप उपाधि उचाल्दा १९७६मा भने उपविजेता बनेको थियो । 

  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १७:४८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया