नगरबासीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा

एक सातामा ४८ जनालाई सेवा प्रदान गर्ने गरी काठमाडौँ महानगरपालिकाले वीरेन्द्र अस्पताल छाउनीमा मिर्गौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु गरेको छ ।

कामपाले आफ्नै आर्थिक सहयोगमा र नेपाली सेनाको व्यवस्थापनमा नगरवासी मिर्गौला रोगीका लागि वीरेन्द्र अस्पताल छाउनी अस्पतालबाट यो सेवा सुरु गरेको हो । यस सेवा आठ वटा हेमोडायलाइसिस मेसिनबाट हरेक साता दुई सिफ्टमा सेवा सञ्चालन गरिनेछ । तत्कालका लागि ४८ बिरामीलाई साताको दुई पटक सेवा प्रदान गर्न सकिन्छ ।

अस्पतालका प्रमुख सहायक रथी डा. अरुण शर्मा भन्छन्, ‘सेवा लिन आउने बिरामीले महानगरले दिएको सिफारिसका साथ आउनुपर्छ । यो सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मिर्गौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज-५ पुगि सकेकाका लागि हो ।’

सेवा सञ्चालनका लागि कामपाले आवश्यक भौतिक सामग्री, आठ वटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न अस्पताललाई ३ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरे । उनले भने, ‘तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ ।’

विश्वभरी फैलिएको कोरोना महामारीको दोस्रो लहरमा कामपाले स्वास्थ्य सेवामा कमी हुन नदिने भन्दै सरकारी र सामुदायिक अस्पतालको भौतिक संरचना, उपकरण र जनशक्ति व्यवस्थापनका लागि सहयोग गरेको छ ।



चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रिवि शिक्षण अस्पताललाई १०, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई पाँच, छत्रपाटी निःशुल्क चिकित्सालयलाई चार, नेपाल कोरियामैत्री नगरपालिका अस्पताललाई तीन, महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई दुई, हेल्पिङ्ग ह्यान्डस् सामुदायिक अस्पताललाई दुई, जनस्वास्थ्य सरोकार ट्रस्ट काठमाडौँ मोडल अस्पताललाई दुई र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई थान भेन्टिलेटर सहयोग गरिएको छ । 



  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार ६:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया