‘सन्तान जन्मेपछि आमाबाबुको उद्देश्य फराकिलो हुन्छ’

कुनै समय गायिका सत्यकला राईको सपना थियो– समाज सेवा गर्ने । त्यही समय खोटाङको सुङ्देल भन्ने ठाउँमा बाढीपहिरो गयो । ठूलो जनधनको क्षति भयो । त्यहाँका थुप्रै मान्छे संकटमा परे । राहत बोकेर बाढीपहिरो प्रभावित क्षेत्रमा पुगिन्, सत्यकला । त्यहीँ भेट भयो नायक नवल खड्कासँग ।

नवलसँगको यो भेटले सत्यकलाको जिन्दगीको बाटो मोडियो । यही भेटमा साटिएको थियो सत्यकला र नवलको मन । दुवैको मन मिलेपछि सपना पनि एकै दिशामा बहेका थिए । दुवैको साझा सपना थियो– समाज सेवा गर्नु । यसबाहेक गीत गाएर आफ्नो परिचय बनाएकी सत्यकला गायनकै माध्यमबाट आफ्नो लोकप्रियता जोगाउन चाहन्थिन् । नवल अभिनयकै माध्यमबाट कला क्षेत्रमा स्थापित हुन चाहन्थे । दुवैले एकअर्काका सपना साकार पार्न साथ दिने निधो गरे । उनीहरुले २०६६ सालमा बिहे गरे । 

बिहे गरेपछि अर्थोकभन्दा सत्यकलाको जीवनमा बच्चाको सपना प्रथम भएर आयो । विवाहको पछिल्लो वर्ष उनी गर्भवती भइन् । पहिलो पटक आमा बन्दैछु भन्ने खबर पाएको दिन सत्यकलाको मनमा कताकता काउकुती लागेको थियो । कताकता डर जस्तो कम्पन पनि उत्पन्न भएको थियो । समग्रमा धेरै खुसी सञ्चारित भएको थियो । 
अरु सामान्य अवस्थामा भन्दा गर्भवती भएका बेला सोचाइमा आउने कुरा निक्कै फरक हुने सत्यकला बताउँछिन् । भन्छिन्, ‘बच्चा कस्तो जन्मेला ? मेरो गर्भको बच्चा स्वस्थ छ कि छैन होला ? मेरो पेटमा हुर्किरहेको बच्चालाई मैले के खाँदा राम्रो हुन्छ होला भन्ने सोच बारम्बार आउँछ । अरु सामान्य बेलामा यस्ता सोचाइ आउने कुरा पनि भएन ।’

गर्भवती भएको समय सत्यकलालाई निक्कै वाकवाकी लाग्थ्यो । खाना खान मन लाग्दैनथ्यो । फेरि उनी सोच्थिन्, ‘मेरो पेटमा भएको बच्चाको लागि पनि मैले खानु पर्छ ।’ आफ्नो गर्भमा भएको बच्चामा नकारात्मक असर नगरोस् भनेर उनी निक्कै सचेत हुन्थिन् । गर्भमा रहेको बच्चा राम्रो हुन आमाको आचरण र व्यवहार पनि राम्रो हुनुपर्ने सत्यकलाले बुझेकी थिइन् । उनी भन्छिन्, ‘गर्भवती समयमा खाना मात्रै नभएर आफूले गर्ने व्यवहार र सोच्ने कुरा पनि राम्रो हुनुपर्छ । तर यो समय मुड भने बदली भइरहन्छ ।’

गर्भवती भएको समय सत्यकलाका श्रीमान्ले निक्कै ख्याल राखे । उनलाई खान मन लाग्दैनथ्यो, तर नवल नेपालका हरेक जसो स्थानमा पाइने खानेकुरा खोजी गरेर ल्याइदिन्थे । पोषणयुक्त खानेकुरा ल्याएर सत्यकलालाई कर गरेर खुवाउँथे । उनको स्वास्थ्य अवस्थाका बारे निकै चासो राख्थे । सत्यकला पनि गर्भमा बच्चा हुँदाको खुसी आफ्ना श्रीमान्सँग साट्थिन् । अप्ठ्याराहरु सुनाउँथिन् । उनीहरु पालो गर्दै हुनेवाला आफ्ना छोराछोरीका नाम राख्थे ।

असारको महिना थियो । सत्यकलालाई प्रसव व्यथा सुरु भयो । उनी ओम अस्पताल भर्ना भइन् । कलिलो उमेर, पहिलो पटक आमा बन्दै गरेकी सत्यकलालाई धेरै कुरा थाहा भएन । उनलाई लामो व्यथा लाग्यो । अस्पताल भर्ना भएको पर्सिपल्ट मात्रै उनी पहिलो पटक आमा भइन् । उनकी छोरी जन्मिइन् । छोरीको स्पर्शपछि उनले सबै पीडा भुलिन् । आमा बन्दाको पहिलो खुसी व्यक्त गर्ने कुनै शब्द आजसम्म भेट्टाएकी छैनन् सत्यकलाले । भन्छिन्, ‘आफ्नो बच्चामा आफ्नै छाया अथवा आफ्नो अर्को रुप देखेको जस्तो हुन्थ्यो ।’ केही वर्षको अन्तरालमा सत्यकला फेरि आमा भइन् । अहिले उनका ३ छोरी छन् ।



आमा बनेपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आएको सत्यकला बताउँछिन् । बच्चा हुर्काउने क्रममा उनलाई कहिल्यै झिँजो लागेन । सधैं रमाइलो लाग्यो । अझै पनि रमाइलोसँग बच्चा हुर्काउँदै गरेको सत्यकलाले बताइन् । भन्छिन्, ‘बच्चा भएपछि बाबु–आमाको जीवनमा एक किसिमको जिम्मेवारी बढ्नुका साथै ठूलो परिवर्तन भैहाल्छ । आफ्नो बच्चासँग रमाउँदै–खेल्दै दिन बितेको पत्तै हुँदैन । फेरि बच्चा भैसकेपछि आफ्नो लक्ष्य पनि फराकिलो हुँदै जाने रहेछ । आफ्नो लागि भन्दा बच्चाको लागि बाँच्न थालिँदो रहेछ ।’



बच्चा भएपछि सत्यकला केही समय गीत गाउन बाहिर निस्कन सकिनन् । उनको करिअरमा थोरै ब्रेक लाग्यो । तर ब्रेक लागेको करिअरले फेरि गति समात्ने विश्वासका साथ उनले बच्चासँग समय बिताइन् । आफ्ना सन्तानलाई समय दिइन् । आफ्ना बच्चा सामान्य बिरामी भए भने पनि उनी निकै आत्तिन्थिन् । तुरुन्तै सम्हालिन्थिन् र बच्चालाई के भएको छ, त्यही अनुसारको हेरचाह गर्थिन् । भन्छिन्, ‘आमा हुनु भनेको समय र समस्या अनुसार तुरुन्तै निर्णय लिन सक्नु पनि रहेछ ।’ 

आमा भएपछि सत्यकलाले महसुस गरिन, आमा भन्नु भन्दा धेरै फरक रहेछ आमा भएपछिको जिन्दगी । उनी थप्छिन्, ‘आमा भन्दा सबै जिम्मेवारी आमाकै थाप्लोमा छाडेर वेपर्वाह दौडिन पाइन्थ्यो । आमा भएपछि धेरै सोच्नु पर्ने, जिम्मेवारी बढ्ने र बच्चाहरुको सम्पूर्ण जिम्मेवारी आफैंमाथि पर्दो रहेछ । आमा भएपछि जति जिम्मेवारी बढे पनि खुसी र आनन्द मिल्दो रहेछ ।’

अहिले उनका बच्चा हुर्कने क्रममा छन् । भन्छिन्, ‘मेरा बच्चाहरु असल र गुणी मानव भएर बाँचून् भन्ने लाग्छ । किनभने जो जुन क्षेत्रमा गए पनि यी गुणहरु हुनु जरुरी छ ।’ छोराछोरीलाई यो बन भनेर अभिभावकले बोझ दिन नहुने सत्यकलाको बुझाइ छ । भन्छिन्, ‘उनीहरु जे बन्न चाहन्छन्, उनीहरुमा जे गुण र क्षमता छ ती गुण र क्षमतालाई उजागर गर्न सहयोगी भूमिका खेल्नुपर्छ । उनीहरुलाई राम्रो र नराम्रो कुराका बारेमा चाहिँ बोध गराउनु पर्छ । आफ्ना बच्चालाई राम्रो र नराम्रो कुरा छुट्याउन सक्ने बनाउनु नै हामी दुवै जनाको सपना हो ।’

  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १२:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया