अनलाइन कक्षा निल्नु न ओकल्नु !
न सन्दर्भ सामग्री, न शिक्षकको क्षमता

सरिता पोखरेलले पाँच दिनअघि आफू काम गर्ने कार्यालयमा बिदा मागिन् । कार्यालय प्रमुखले कारण सोधे । उनले जवाफ दिइन्, ‘छोरीको टेस्ट छ, त्यही भएर ।’

७ वर्षकी उनकी छोरी श्रेया पोलिस्टार सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा २ मा पढ्छिन् । कोरोनाका कारण विद्यालय बन्द भएपछि २ कक्षामा पढ्ने श्रेयाको अनलाइन कक्षा चलिरहेको छ ।  अनलाइन कक्षा भएपछि आमा सरितालाई पनि छोरीसँगै बस्नुपर्ने बाध्यता छ । 

शिक्षकले के पढाए, टिपी दिनुपर्छ । गृहकार्य हेरिदिनुपर्छ । सरिताले गुनासो गर्छिन्, ‘छोरीलाई हेरेर बस्नु कि कार्यालय जानु ? अनलाइन कक्षाले गर्दा आफू पनि छोरीसँगै पढ्नुपर्ने बाध्यता छ ।’

इटहरी–४ की सुजाता घिमिरेलाई छोराछोरी पढाउन र घर भान्छाको कामको समय मिलाउन हम्मे परेको छ । ‘एकछिन ओल्टोकोल्टो लाग्यो भने क्लास छाडेर युट्युब हेर्न थालिहाल्छन्,’ उनले अनलाइन कक्षाले दिएको दुःख सुनाइन् ।

उनी आफू पनि छोराछोरीसँगै बस्नुपरेको छ । विद्यालय नलागेका कारण उनले बाहिर गएर काम गर्न पाएकी छैनन् । ‘घरमा केटाकेटी मात्रै छन् । अनलाइन कक्षा हुन्छ । त्यही भएर म पनि उनीहरुसँगै घरैमा छु,’ उनी भन्छिन् । 

विराटनगरकी  हिमा अधिकारीले त अनलाइन कक्षाका कारण जागिर नै छाडेकी छन् । छोरीको अनलाइन कक्षाको रेखदेखका लागि उनले स्थानीय सहकारीमा कलेक्टरको रुपमा गर्दै आएको काम छाड्नुपरेको हो । आफू नबसी छोरीले नपढ्ने उनी बताउँछिन् । भन्छिन्, ‘छोरीलाई पढाउन जागिर छाडेँ ।’



कोरोना माहामारीका कारण भौतिक रुपमा कक्षा सञ्चालन हुन नसकेपछि अहिले प्रदेशमा धेरैजसो निजी विद्यालयले प्रविधिको प्रयोग गरेर सिकाइ गतिविधि अगाडि बढाएका छन् । 

निजी तथा आवासीय विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनका अनुसार संगठनमा ११ सय विद्यालय आवद्ध छन् । ती विद्यालयमा सात लाख हाराहारीमा विद्यार्थी छन् । प्रदेश एकमा प्याब्सनमा आवद्ध २५ प्रतिशत विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् । 



यसरी हेर्दा निजी विद्यालयमा अध्ययन गर्ने एक लाख ७५ हजार विद्यार्थीका लागि अहिले अनलाइन कक्षा सञ्चालन भइरहेको छ । तर, अनलाइन कक्षा सञ्चालन भएका विद्यालयमा पनि ५० प्रतिशत विद्यार्थीले मात्रै कक्षा लिइरहेको प्याब्सन प्रदेश अध्यक्ष युवराज वशिष्ठले बताए । 

यो तथ्यांकलाई सही मान्ने हो भने प्याब्सनमा आवद्ध विद्यालयका ८७ हजार विद्यार्थी अनलाइन कक्षाको पहुँचमा छन् । प्रदेश एक सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखाका प्रमुख मानबहादुर बस्नेतले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अनलाइनको पहुँचमा एकदमै थोरै रहेको बताए । 

सहरी क्षेत्र विराटनगर, इटहरी, धरान र दमकका केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि विद्यार्थी कममात्रै सहभागी हुने गरेको बस्नेतको भनाइ छ । उनका अनुसार अन्य वैकल्पिक माध्यमबाट सिकाइ गतिविधि अगाडि बढाइएको छ । 

अनलाइन कक्षामा विद्यार्थीको पहुँच थोरै भए पनि यसका कष्ट भने निकै छन् । अभिभावकलाई त समस्या छ नै, स्वयम् कक्षा सञ्चालन गर्ने विद्यालय र शिक्षकहरुलाई पनि कष्ट छ । 

प्याब्सनका वशिष्ठ भन्छन्, ‘अनलाइन कक्षा निल्नु न ओकल्नु भएको छ । सञ्चालन नगराैँ, उपाय छैन- गरौं समस्या नै समस्या छ ।’

न सन्दर्भ सामग्री, न शिक्षकको क्षमता !  
अहिले अनलाइन कक्षाहरु जुम, गुगल मिट, एमएस टिममार्फत् सञ्चालन भइरहेका छन् । ठूला र सुविधा सम्पन्न केही विद्यालयले आफ्नै एप्स तयार पारेर अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।  

तर, भर्चुअल कक्षा सञ्चालन गर्न सन्दर्भ सामग्रीको अभाव छ । जसका कारण किताब अगाडि राखी घोकाएर पढाउने बाध्यता छ । कतिपय विद्यालयले भने सन्दर्भ सामग्री आफैं बनाएका छन् ।  

किताबमै भएका पाठहरुलाई सहयोगी हुने भिडियो, फोटोजस्ता सन्दर्भ सामग्रीहरु छैन । गुगल, युट्युब वा अन्य विभिन्न साइटहरुमा खोजी गर्दा यी सामग्री नपाइने भने होइन । यसका निम्ति विद्यालय, शिक्षक प्रविधिमैत्री हुन आवश्यक छ । यसका लागि सवै शिक्षकहरुमा क्षमता नहुने प्याब्सन प्रदेश सचिव सुमित थापा बताउँछन् । ‘हाम्रा विद्यालय र शिक्षक प्रविधि मैत्री छन् त ? यो आफैंमा ठूलो चुनौती र समस्या हो,’ उनले भने । 

भर्खर अनलाइन कक्षा सुरु गर्न लागेका सामुदायिक विद्यालयमा अझ धेरै समस्या छ । इटहरीको सरस्वती सदन माध्यमिक विद्यालयले भर्खरै शिक्षकलाई तालिम दिएको छ । तर, शिक्षक पूर्ण रुपमा तयार भएको अवस्था छैन । 

रामधुनी नगरपालिकाका सविन दाहालले कोरोना संक्रमणको पहिलो लहरदेखि नै अनलाइन कक्षा पढाइरहेका छन् । बारम्बार विद्युत्को लाइन गइरहनु र ‘इन्टरनेट स्लो’ उनले भोग्ने मुख्य समस्या हुन् । 

‘चिच्याइचिच्याइँ बोलाउँदा पनि नबोल्ने, माइक र भिडियो अफ गरेर हिँड्दिने विद्यार्थीको व्यवहारले हैरान बनाउँछ,’ शिक्षक सविन भन्छन् । ‘प्राविधिक समस्याका विषयमा अभिभावक र विद्यार्थीले सोधिरहन्छन्, म तरिका सिकाइरहन्छु । तर, पोहोरको तुलनामा क्षमता बढेको छ,’ उनले भने । शैक्षिक क्षेत्रमा कोरोना संक्रमणपछि सुरु अनलाइन कक्षा सञ्चालन गर्न अभिभावक, शिक्षक, विद्यार्थी र विद्यालय सबैलाई समस्या छ । 

कोरोना संक्रमणका कारण अप्ठ्यारो अवस्थामा पुगेको शैक्षिक सत्रलाई खेर जान नदिन सुरु भएको हो अनलाइन कक्षा । विनायोजना सुरु भएको अनलाइन कक्षालाई निकै पछि मात्र नेपाल सरकारले निर्देशिका बनाएर मान्यता दिएको थियो । 

गत शैक्षिक सत्रमा जसोतसो धानेको अनलाइन पढाइ यो वर्ष पनि निर्विकल्प बन्न पुगेको छ । तर, अनलाइन कक्षाको प्रभावकारिताबारे पनि अहिले बहस सुरु भएको छ । नेपालको शैक्षिक वातावरणमा अनलाइन शिक्षण सिकाइ कति प्रभावकारी हुन्छ भन्नेबारे चासो र चिन्ता बढेको छ ।

अनलाइनमा पहुँच  
विभिन्न विकल्पहरुमध्ये अनलाइन कक्षा अन्यभन्दा केही उपलब्धिमूलक रहेको पालिका र विद्यालयहरुको बुझाइ छ । तर, विद्यालय र विद्यार्थीको पहुँच कत्तिको छ भन्ने बुझेर मात्रै शिक्षण सिकाइ अगाडि बढाइने इटहरी उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदी बताउँछन् । इटहरी उपमहानगरपालिकामा कति प्रतिशत विद्यार्थी अनलाइनको पहुँचमा छन् भन्ने कुनै तथ्यांक छैन । 

विद्यालय जाने विद्यार्थी कति प्रतिशत इन्टरनेट-अनलाइन, कति रेडियो-टेलिभिजनको पहुँचमा छन् ? यसको पनि कुनै तथ्यांक उपमहानगरसँग छैन । ‘हामीसँग यसको कुनै यकिन डाटा छैन, तर यो शैक्षिक सत्रबाट विद्यालयहरुलाई सर्वेक्षण फाराम पठाएका छौं । त्यो फाराम आएपछि डाटा तयार गर्न सकिन्छ,’ सुवेदी भन्छन् । असार मसान्तसम्म संकलन भएका सर्वेक्षण फारामबाट अवस्था मूल्यांकन गरी विकल्पसहितको पढाइ सुरु गर्ने उपमहानगरको योजना छ । 

सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालय र त्यसमा पढ्ने विद्यार्थीको इन्टरनेट र अनलाइनमा पहुँच धेरै छ । संस्थागत विद्यालय पढाउने अभिभावकहरु आर्थिक हिसाबले पनि सक्षम छन् । उनीहरुले इन्टरनेट र अनलाइन सेवा खरिद गर्न सक्छन् । 

तर, सामुदायिक विद्यालयमा बालबच्चा पढाउने अभिभावकले इन्टरनेट, मोबाइल खरिद गर्न नसक्ने सरस्वती सदन माविका प्रधानाध्यापक वाशुदेव कर्ण बताउँछन् । 

सामुदायिक विद्यालय बामे सर्दै 
इटहरीका निजी विद्यालयहरुले अघिल्लो वर्षदेखि नै अनलाइन कक्षा सञ्चालन गरेका थिए । सुरुमा ठूला कक्षा र पछि ५ कक्षा मुनिका विद्यार्थीलाई पनि सहभागी बनाए । ‘सुगम ठाउँमा त म्याक्सिमम् वा भनाैँ शतप्रतिशत नै छ । तर, ग्रामीण क्षेत्रका विद्यालयहरुमा भने ५० प्रतिशतजति विद्यार्थीले अनलाइन कक्षा लिइरहेका छन्,’ प्याब्सन प्रदेश १ का सचिव थापाले भने ।  

यस्तो पढाइमा सामुदायिक विद्यालयको अवस्था नाजुक छ । अघिल्लो वर्ष सामुदायिक विद्यालयहरुले अनलाइन कक्षा चलाएनन् । तर, यस शैक्षिक सत्रबाट प्रायः सबैले अनलाइन कक्षा चलाउने तयारी गरिरहेका छन् । 

सरस्वती सदनले यस पटकदेखि ८, ९ र १० कक्षाका लागि अनलाइन पढाइ सुरु गर्दै छ । विद्यालयले जेठ र असार तेस्रो सातासम्म अनलाइनमा कसरी पढाउने भनेर शिक्षक-शिक्षिकालाई तालिम दिएको थियो ।

‘हुन त हाम्रो स्कुल ग्रामीण क्षेत्रमा छ, विद्यार्थी सबै खेतिकिसानी, मजदुरी गर्नेका छोरोछोरी छन् । अनलाइन पहुँच एकदमै कमजोर छ । तर पनि सुरु चाहिँ गर्दै छौं,! कर्ण भन्छन् ।  

इटहरी ४ स्थित श्री कविर माविले पनि अनलाइन कक्षा सुरु गर्दै छ । यो इटहरीको मुख्य बजार क्षेत्रमा पर्छ । तर, यहाँ पढ्न आउने सुकुम्बासी, ज्यालामजदुरी गर्ने परिवारका छोराछोरी  छन् । सबैको इन्टरनेट पहुँच छैन । 

‘डिजिटल डिभाइड’ 
सबै विद्यार्थीसँग समान डिजिटल डिभाइस र इन्टरनेट सुविधा हुन सक्दैन । यसले विद्यार्थीबीच ‘डिजिटल’ विभाजन बढाउने कतिपयको भनाइ छ । निजी र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीबीच विभाजनको खाडल थप बढ्दै जाने शिक्षाविद्हरुको चिन्ता छ । 

इटहरी ५ का नवीन राईलाई छोराका लागि मोबाइल र इन्टरनेट जुटाइदिन समस्या छ । ‘विद्यालयले अनलाइन पढाउने भनेपछि छोराले घरमा इन्टरनेट जोड्न कर गरिहेको छ,’ नविनले भने, ‘तर, त्यो किन्न मलाई गाह्रो छ ।’ 

ज्यालामजदुरी गर्ने नवीनका लागि गुजारा नै कठिन छ । मासिक इन्टरनेट खर्च उनका लागि थप आर्थिक बोझ हुने अवस्था छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थी अनलाइन कक्षाबाट वञ्चित हुने सम्भावना अधिक छ । 

सँगैको साथी अनलाइन कक्षा पढिरहँदा आफूले पढ्न नपाउँदा बालबालिकामा मनोवैज्ञानिक रुपमा नकारात्मक असर पर्न सक्छ । बाल मस्तिष्कमा परेको असर जीवनभर नमेटिने हुन सक्छ । यसले परिवार र पढाइप्रति नै वितृष्णा पैदा गरिदिन सक्ने कतिपय मनोचिकित्सकको भनाइ छ ।  

मूल्यांकन र कक्षा वृद्धि 
अघिल्लो शैक्षिक सत्रमा अनलाइन पढाएका निजी विद्यालयहरुले अन्तिम परीक्षा भने घरघरमा प्रश्न पत्र पुर्याएर लिए । उपमहानगरले पटकपटक आग्रह गर्दा पनि त्यसरी परीक्षा लिएपछि विज्ञप्ति नै निकालेर कारबाही गर्नुपर्ने अवस्था आयो । 

अघिल्लो शैक्षिक सत्रमा आन्तरिक मूल्यांकनका आधारमा कक्षा चढाइयो । तर, यसरी कक्षा चढाउँदा समस्या आउने कतिपय शिक्षकहरु बताउँछन् । 

डीभीएम स्कुल इटहरीका सञ्चालक वेणु सिटौलाको स्तर वृद्धिको विषयमा फरक मत छ । ‘विद्यार्थीलाई पढाउनै नपाई मूल्यांकनका आधारमा कक्षा चढाउनु विद्यार्थीलाई नै गाह्रो पार्नु हो,’ उनले भने, ‘एउटा कक्षामा सम्पूर्ण पाठ्यक्रम नपढी अघि बढ्दा विद्यार्थीलाई नै भार पर्ने छ ।’ 

इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख सुवेदी भन्छन् ‘शिक्षण सिकाइबिना नै माथिल्लो कक्षामा प्रमोसन गर्दा उनीहरुको शैक्षिक जग कमजोर हुन्छ । सिकाइ अधुरो र अपुरो हुन्छ ।’

शिक्षण सिकाइको मूल्यांकन आधार स्पष्ट नहुँदा त्यसको भार विद्यार्थीलाई नै पर्ने देखिन्छ । अनलाइन कक्षाको मूल्यांकन कसरी गर्ने भन्ने समस्या छ । निर्देशिकाले यो विषयमा स्पष्ट बोलेको छैन । 

प्रदेश र स्थानीय तहले पनि अनलाइन कक्षा मूल्यांकनको कुनै मापदण्ड बनाउन सकेका छैनन् । यसले पनि भोलि अर्को समस्या ल्याउने देखिन्छ । 

अनलाइन कक्षाको मूल्यांकन कसरी गर्न सकिन्छ भन्ने विषयमा निजी तथा सामुदायिक विद्यालय र शैक्षिक क्षेत्रका जानकारसँग छलफल चलिरहेको इटहरी उपमहानगरपालिका शिक्षाका शाखाका फाल्गुनी काफ्लेले जानकारी दिए । अनलाइन कक्षा सञ्चालन गर्ने शैक्षिक सत्रको सुरुवातदेखि नै मूल्यांकनको स्पष्ट आधार दिएन भने अन्तिम समयमा कक्षा वृद्धि गर्न पुनः समस्या आउँछ । 

कोरोना संक्रमणले विद्यालयहरु भौतिक रुपमा सञ्चालन नहुने अवस्था आएपछि नेपाल सरकारले वैकल्पिक शिक्षा सहजीकरण निर्देशिका जारी गर्यो । २०७७ को असारबाट सोही निर्देशिका अनुसार शिक्षण सिकाइ सञ्चालन गर्न भनेको छ । निर्देशिका अनुसार संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो ठाउँबाट सिकाइ सहजीकरण गर्न शिक्षा मन्त्रालयले आदेश दिएको छ । 

रेडियो, एफएम, टीभी, इन्टरनेट, अनलाइन र अफलाइन कुनै पनि माध्यमबाट आफ्नो सहजता हेरी सञ्चालन गर्न भनिएको छ । विद्यालय र विद्यार्थीको पहुँच र उपलब्धता हेरी प्रदेश र स्थानीय तहले समन्वय गर्न पनि भनेको छ । 

निर्देशिका अनुसार स्थानीय तहले आफ्नो अनुकूलतामा कक्षा सञ्चालन गरेका छन् । स्थानीय रेडियो, एफएममार्फत् माथिल्लो कक्षाका विद्यार्थीलाई पढाउने काम भएको देखिन्छ । 

सुनसरीको बराह नगरपालिकाले एक गैरसरकारी संस्थासँगको सहकार्यमा इटहरी एफएममार्फत् कक्षा सञ्चालन गरेको थियो । अरु स्थानीय तहले पनि एफएम रेडियोमा पाठ कार्यक्रम सञ्चालन गरेको पाइन्छ ।  

प्रदेश सरकारको आर्थिक सहयोगमा एनटीभी इटहरीले एसईई परीक्षा दिने विद्यार्थीका लागि कक्षा सञ्चालन गरेको थियो । योसँगै इटहरी उपमहानगरपालिकामा सामुदायिक विद्यालयहरुले टोलटोलमा गई स–साना समूह बनाएर सन्दर्भ सामग्री उपलब्ध गराउँदै शिक्षण सिकाइ जारी राखेका छन् । 

  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १५:३९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया