धनुषामा जग्गाको विषयमा दुई पक्षबीच झडप हुँदा दुईजना घाइते

धनुषाको बटेश्वरमा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।

घाइते हुनेहरूमा वडा नम्बर-३ बस्ने श्यामसुन्दर दास र रामनारायण दास रहेको बटेश्वर प्रहरी चौकीले जनाएको छ ।

स्थानीय रासलाल दासले २०३० सालमा सहदेव महतोलाई आफ्नो नाममा रहेको १३ धुर जग्गा बिक्री गरेका थिए । पछि गाउँपालिकाले नाप नक्सा गर्दा १९ धुर जग्गाको नक्सा कटाएको पाइएपछि रासलाल र सहदेवको परिवारबीच विगतदेखि विवाद हुँदै आईरहेको थियो । 

सोमबार दुवै पक्षबीच विवाद भएपछि सहदेव महतोका परिवारजन मध्येका रामकमल महतो, सुरेन्द्र महतो र दिलीप महतो कुटपिट गर्दा रासलाल दासका छोराहरू श्यामसुन्दर दास र रामनारायण दास घाइते भएको बटेश्वर प्रहरी चौकीले जनाएको छ ।

श्यामसुन्दरको टाउकोमा चोट लागेको छ भने रामनारायणको कन्चटमा चोट लागेको छ ।

यद्यपि रासलालका परिवारले झडपमा ५ जना घाइते भएको दावी गरेका छन् । उनीहरूका अनुसार ढुंगा तथा लाठीले प्रहार गरेपछि विजय दास, निभादेवी र रासलाल दास समेत घाइते भएका छन् ।



घाइतेहरूको उपचार प्रादेशिक अस्पतालमा भइरहेको आफन्त विजय दासले जानकारी दिए । 

यता घाइते श्यामसुन्दर दासले जिल्ला प्रहरी कार्यालय धनुषामा बटेश्वर गाउँपालिका सहित ४० वर्षीय रामकमल महतो, ३२ वर्षीय सुरेन्द्र महतो र २७ वर्षीय दिलीप महताेविरुद्ध जाहेरी दर्ता गराएका छन् ।



घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामकमल र सुरेन्द्रलाई पक्राउ समेत गरेको छ ।

  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १६:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया