सर्वोच्चको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदियो : नेता रायमाझी

नेकपा(एमाले)का नेता टोपबहादुर रायमाझीले सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको बताएका छन् । 

मंगलबार एमालेले घोषणा गरेको आइटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै रायमाझीले सर्वोच्च अदालतले राजनीतिक नियुक्ति गरे जसरी प्रधानमन्त्री नियुक्त गरेर देशमा प्रतिक्रान्ति गरेको आरोप लगाए । 

संसदको औचित्य समाप्त भइसकेको दाबी गर्दै उनले भने, ‘योभन्दा जनताको जनादेशको अपमान के हुन्छ ? तिनै नेताहरु आफ्नो औचित्य सिद्धिइसक्यो, आफ्नो अधिकार अर्कोले लिइसक्यो ।’ 

राजनीतिक पार्टी, दलहरु र जनप्रतिनिधिले गर्न सक्ने निर्णय अर्कैले गरिदिनु भनेको प्रतिक्रान्ति भएको उनको भनाइ थियो । 

सोही कार्यक्रममा बोल्दै नेकपा(एमाले)का नेता प्रभु साहले सर्वोच्च संस्था राष्ट्रपतिले गरेको निर्णयलाई उल्ट्याउने स्थितिले राज्यका अंगहरुबीचको सन्तुलन कायम हुन नसकेको बताए । 
आइटी आर्मीले राज्यका निकायमा भएका कमी–कमजोरीलाई औँल्याउँदै जनतालाई सुसूचित गराउन जरुरी रहेको उनले बताए । 

नेकपा(एमाले)मा गएका पूर्वमाओवादी नेताहरुको अगुवाइमा गठन भएको आइटी आर्मीले जनताको मुक्ति तथा मुलुकमा सामाजिक न्याय, सुशासन कायम गर्न सहयोग गर्ने नेताहरुको दाबी थियो । चन्द्रभूषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी तीनै तहमा संगठन निर्माण गर्ने जनाइएको छ । 





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार २०:५२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया