(सम्पादकीय नाेट:१४औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाव पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । ९औँ महाधिवेशनदेखि नै पार्टीमा सक्रिय भएका सिन्धुपाल्चाेक जिल्लाका सभापति विकास लामालाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
पहिलो कुरा त, १४ औं महाधिवेशनको सुनिश्चितता हुनुपर्यो । पटक–पटक तिथि परिवर्तन गर्ने काम भएको छ, त्यसले केही आशंका व्यक्त गर्ने ठाउँ बनाइदिएको छ । तैपनि हामीले तयारी अघि बढाएका छौं, समय परिवर्तन संविधानले नै नदिएका कारणले नहोला भन्ने विश्वास छ । अब नेतृत्व कस्तो रहने ? को रहने भन्ने बहस सुरु भइरहेको छ । जसमा नयाँ नेतृत्व चयन हुँदा नेतृत्व हस्तान्तरण गर्दै जानुपर्ने देखिन्छ ।
एउटै व्यक्तिले पटक–पटक नेतृत्व गर्दा केही कमीकमजोरी हुन सक्छ । त्यसले कार्यकर्तामा उत्साह कम हुन्छ । नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने अवस्था छ । त्यसो गर्न सकियो भने आउँदो निर्वाचन कांग्रेसले जित्छ । कांग्रेस यो मुलुकको ठूलो पार्टी बन्छ र सरकार पनि बन्छ– यसमा कुनै शंका छैन । तर, कार्यकर्तालाई निरुत्साहित पार्ने खालको, कार्यकर्तामा निराशा जगाउने खालको नेतृत्वलाई पटक–पटक हामीले निर्वाचित गर्यौं भने त्यसको सन्देश राम्रो जाँदैन । यसको असर निर्वाचनमा पनि पर्छ । त्यसकारण नयाँ नेतृत्व आउनुपर्छ, युवा नेतृत्व आउनुपर्छ भन्ने नै हाम्रो प्रमुख मुद्दा हुनुपर्छ जस्तो मलाई लाग्छ । अर्को कुरा, जनमुखी कार्यक्रमहरु हामीले तय गर्नुपर्यो । आगामी कार्यक्रम के–के हुन् ? कसरी यसलाई अघि बढाउने भनेर कार्यपत्र लिएर भिजनसहितको नेतृत्व आउन सक्यो भने सकारात्मक सन्देश देशभरि फैलन्छ ।
अहिले हामी यथास्थितिमै रहिरह्यौँ, पुराना नेताहरुलाई नै रोज्यौँ भने समस्या उत्पन्न हुन्छ । उहाँहरु सबैलाई सम्मानका साथ बिदाइ गर्दै सल्लाहकारको रुपमा राखेर अघि बढ्नुपर्छ । र, त्यसकै वरिपरि रहेर नेतृत्व युवाले गर्नेगरी १४औँ महाधिवेशन हुनुपर्छ ।
युवा नेतृत्वको बहस
युवाहरु विचारले परिपक्व हुनुपर्छ भन्ने विषयमा दुईमत छैन । तर, पुरानो विधानमा पुरानै केन्द्रीय सदस्यहरु भएकाले चुनाव जित्ने र उहाँहरुको पुरानो शैलीको काम हुने, कांग्रेस पुरानै शैलीले चल्ने अवस्था देखिन्छ । नयाँ ढाँचाले नचल्ने भएको हुनाले कांग्रेसलाई केही न केही असर परेको देखिन्छ । अब पुरानो र नयाँ मिसिन्छ नै । तर, महत्वपूर्ण जिम्मेवारीमा भने युवालाई नै दिनुपर्छ । अध्यक्ष–उपाध्यक्ष, सभापति–उपसभापतिको कुरा छाडिदिएर महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, प्रदेश प्रमुखहरुचाहिँ युवाका हातमा जानुपर्छ ।
हाम्रो विधानअनुसार प्रदेश प्रमुखहरु कार्यरत हुनुपर्थ्याे । तर, अहिले रिक्त छ । प्रदेश प्रमुखहरु पनि युवाले नेतृत्व गर्नुपर्यो । केन्द्रमा महामन्त्रीदेखिको शीर्ष पदहरु युवाले नै लिनुपर्यो । सभापति पदमा उही व्यक्ति पटक–पटक दोहोर्याउनु भन्दा पनि नयाँ मान्छेलाई अवसर दिएर अघि बढ्नुपर्यो ।
देउवाको विकल्प आवश्यक !
पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो क्षमता देखाइसक्नुभयो । उहाँले ५-६ वर्ष सभापति चालाइसक्नुभयो । उहाँको शैली पनि देखिसकियो । अब उहाँको राम्रो–नराम्रो भन्दा पनि ‘मैले लामो समय चलाइसकेँ, म पटकपटक प्रधानमन्त्री पनि भएँ, मेरो उमेर पनि बढी हुँदै गयो भनेर उम्मेदवारी नदिनु राम्रो हुन्छ । हामी अनुरोध गर्छौं, उहाँलाई उम्मेदवारी नदिन र नयाँ नेतृत्वलाई अवसर दिनका लागि ।
कांग्रेसभित्र परिवारवादका कुराहरु पनि केही आइरहेका छन् । १४औँ महाधिवेशनमा मुद्दाका आधारमा नेता चुनिनुपर्छ । अनुहार वा नाताका आधारमा होइन । उम्मेदवारको भावी योजना के छ, मुद्दा केके हुन् ? कति वर्षमा पार्टीलाई कस्तो बनाउने ? मुलुकलाई कता लैजाने ? भन्ने भिजन सभापतिले बोक्न सक्नुपर्छ । मुलुक बनाउने भिजन छ कि छैन ? म फलानोको छोरो भनेर भोट मागेर भएन । भिजनसहित आउनुपर्यो । यो पार्टीलाई यति वर्षमा यहाँ पुर्याउँछु, मुलुकलाई यहाँ पुर्याउँछु ।
मेरो नेतृत्व र पार्टीले दिएको जिम्मेवारीमा यो मुलुक कांग्रेसमय हुन्छ र मैले नेतृत्व गरेको पार्टीले सरकार बनाउँछ र मुलुकलाई एसियामा यो ठाउँसम्म पुर्याउँछ भन्ने भिजन नेतृत्वसँग हुनुपर्छ । यसो हुन सक्यो भने सडक, शिक्षा, रोजगारीलगायतको कुरामा ध्यान पुग्छ । यस्तै खालको नेतृत्व कांग्रेसमा आउनुपर्छ भन्ने मेरो चाहना छ ।
महाधिवेशन कसरी गर्ने ?
हाम्रो नेतृत्वले महाधिवेशन केन्द्रित कामहरु प्रशस्त गर्न सकिरहेको देखिँदैन । यहीँनेर नेतृत्वको कमजोरी पनि प्रकट हुन्छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जुन तयारी गर्नुपथ्र्यो, त्यो गर्न सकेन । महाधिवेशन निर्धारित मितिमै हुनुपर्छ ।
तर, क्रियाशील सदस्यको सन्दर्भमा नेपाली कांग्रेस सिन्धुपाल्चोकको कुरा गर्दा यहाँ एक साताअघि मात्र फाराम प्राप्त भएको छ । अहिलेसम्म हामी वडामै सीमित छौं । वडाबाटै क्षेत्र र जिल्लामा नआएको अवस्था छ । त्यसकारण हामीले विशेष समय माग गरेका छौं । त्यो समय हामीलाई दिँदा हामी पनि ‘इन्ट्री’ गरिहाल्छौं । अरु जिल्लालाई एक–डेढ वर्षसम्मको समय दिँदा पनि काम हुन सकेको छैन । हामीले जम्मा १८ दिनको समय मागेका हौं, त्यो अवधिमा हामी सम्पूर्ण काम सकेर इन्ट्री गराउँछौँ । र, सिन्धुपाल्चोकमा अधिवेशन पनि निष्पक्षताका साथ सम्पन्न हुने छ । सोही अनुसार केन्द्रको पनि तयारी हुनुप¥यो भन्ने हाम्रो माग हो ।
अधिवेशनको विभिन्न प्रक्रिया हुन्छ । कोरोना महामारीका बीच बंगाल जस्तो ठूलो राज्यमा पनि चुनाव नै भएको छ । यो त हाम्रो अधिवेशन मात्र हो । त्यसलाई म्यानेज गर्न सकिन्छ र गर्नैपर्छ । विभिन्न देशमा स्थानीय चुनाव भइरहेको अवस्था छ । जुन बेलामा छिमेकी राष्ट्र भारतमा कोरोनाका दुई लाखभन्दा बढी बिरामी दैनिक देखिँदा पनि चुनाव भएको छ भने हाम्रोमा अधिवेशन नै नहुने भन्ने कुरा मिल्दैन । तर पनि दुई–चार वटा कुरा विधानमा संशोधन गर्नै पर्ने देखिन्छ ।
जस्तो कि, काठमाडौं महानगरपालिकामा ३० हजारभन्दा बढी क्रियाशील सदस्य होलान् । त्यसमा नगर सभापतिको चुन्ने प्रक्रिया विधानतः गलत भएको छ । गलत किन भएको छ भने, सबै क्रियाशीलले भोट हालेर नगर सभापति चुन्न सकिँदैन । सभापतिचाहिँ चारहजार मान्छेले चुन्ने अनि नगर सभापति ३० हजारभन्दा बढीले चुन्ने भयो भने पोखरा, भरतपुर, विराटनगरलगायतका ठूला–ठूला नगरमा के होला ? असम्भव हुन जान्छ ।
हाम्रो सुझाव के हो भने, गाउँपालिकामा पनि वडाको प्रतिनिधि ल्याएर निर्वाचित गर्ने, त्यही अनुरुप नगर र महानगरमा पनि निर्वाचित गर्ने प्रक्रिया हुनुपर्छ । ८औँ महाधिवेशन नै पनि बरु वैज्ञानिक ढंगमा सम्पन्न भएको थियो ।
जिल्ला वा प्रदेशमा मतदान
जुन प्रतिनिधिले क्षेत्रीय सभापति चुन्छन्, त्यही प्रतिनिधिले महासमिति चुन्छन् र तिनले सभापति चुन्छन् । यो त गलत भयो । तहगत रुपमा प्रतिनिधित्व गर्ने व्यवस्था हुनुपथ्र्यो, तर अहिलेको विधानमा छैन ।
मेरो सुझाब– विधानमा थोरै संशोधन हुनु आवश्यक छ । विधान, निर्देशिका केही पनि मानिएको छैन, केन्द्रले पनि मानेको छैन । निर्देशिका मिचेरै समायोजन गरिएको छ । यी सबै कुरालाई दृष्टिगत गर्दै वैज्ञानिक ढंगले परिवर्तन वा संशोधन गरेर जानुपर्ने हुन्छ । अधिवेशन हुन्छ । अघि नै भनेँ बिहार, बैंग्लोर जस्ता ठूलाठूला राज्यमा त निर्वाचन हुन्छ भने यहाँ हुन नसक्ने भन्ने हुँदैन । त्यहाँको जनसंख्या भन्दा नेपालको जनसंख्या निकै कम छ । तर, त्यसका लागि नेतृत्व तहले सबै म्यानेजमेन्ट चुस्त ढंगबाट गर्नुपर्यो ।
अर्को विकल्प के हुन सक्छ भने, हरेक जिल्लामा मतदान गर्ने ठाउँ तोक्नुपर्छ । मानौं, सिन्धुपाल्चोकमा ५० भोट छ भने त्यो भोट यहीँ हाल्ने व्यवस्था मिलाउने । गणना पनि सिन्धुपाल्चोकमै गर्न सकिन्छ नि ! त्यसो गर्न सकिँदैन भने प्रदेशस्तरमा गर्ने । सातवटै प्रदेशबाट निर्वाचन गरेर मत संकलन गर्दैै गणनाको काम गरियो भने भीडभाड पनि कम हुन्छ । सबैभन्दा राम्रो उपाय, जिल्ला-जिल्लामै मतपेटिका राखौं । त्यो पनि भएन भने, प्रदेशस्तरमा मतपेटिका राखेर काम गर्यौं भने राम्रो हुने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।