टाेकियाे ओलम्पिकमा सहभागी भएका पाका तथा कम उमेरका खेलाडी

३२ औँ ग्रिष्मकालीन ओलम्पिक हाल जापानको टोकियो सहरमा चलिरहेको छ । यस पालीको संस्करणमा पाका तथा कम उमेरका खेलाडिकाे सहभागिताले राम्रै चर्चा पाएको छ।

सबैभन्दा पाको उमेरकी ६६ वर्षीया मेरी हन्ना तथा सबैभन्दा कम उमेरकी १२ वर्षीया हेन्ड जाजाले यो वर्षको ओलम्पिकमा  निकै चर्चा बटुले ।

हन्ना अस्ट्रेलियन घोडसवार हुन् भने जाजा सिरियन टेबल टेनिस खेलाडी हुन् । 

भन्ने गरिन्छ कि मनको रहरलाई उमेरले छेक्दैन । र, यस कुरालाई दुवैले प्रमाणित गरेका छन् । यहाँ जापान ओलम्पिकमा सहभागी भएका पाका तथा कम उमेरका खेलाडीका बारेमा चर्चा गरिएकाे छ । 

मेरी हन्ना (अस्ट्रेलिया)

मेरीले करिअरको सातौँ ओलम्पिक खेलिसकेकी छिन् । उनी ओलम्पिकबाट पहिलो चरणबाटै बाहिरिसकिएकी छिन् । उनले टिम ड्रेसेज विधामा सहभागित जनाएकी थिइन् ।



उनले ओलम्पिकमा अहिलेसम्म कुनै पनि पदक जित्न सकेकी छैनिन् । कुनै पदक हात नपार्दा पनि उनले आफ्नो खेल्ने इच्छालाई भने जीवितै राखिन् ।

हन्नाले ४ वर्षको उमेरमा नै घोडसवार गर्न सिकेकी थिइन् । बुवा आमाको फर्ममा उनले पहिलो पटक घोडसवार गर्न सिकेकी हुन् । पछि उनले यसैलाई पेशाको रूपमा अँगालिन् । यसै सिलसिलामा उनले धेरै पदक हात पारिन् । उनले सन् २०२० मा ड्रेसेज राइडर अफ दि इयर अर्वाड पनि हात पारेकी थिइन् । 



सन् १९७२ मा उनीभन्दा पनि पाको उमेरकी लोर्न जोनस्टोनले ७० वर्षको उमेरमा ओलम्पिकमा भाग लिएकी थिइन् । 

सा लियन नी (लक्जम्वर्ग) 

लक्जम्वर्गकी ५८ वर्षीया सा लियन नी अर्की पाकी टेबल टेनिस खेलाडी हुन् । उनी जारी ओलम्पिकमा दक्षिण कोरियाकी शिन युबिनसँग पराजित हुँदै पहिलो चरणबाट बाहिरिइन् ।

सन् १९८३ मा चीनको राष्ट्रिय टोलीबाट वल्र्ड टेबल टेनिस च्याम्पियनसिप जितेकी उनले १९९१ देखि भने लक्जम्वर्गबाट खेल्न थालिन् ।

उनले २०१६ मा रियो दि जेनेरियोमा भएको ओलम्पिकमा पनि लक्जम्वर्गबाट सहभागिता जनाएकी थिइन् । हालसम्म ४ वटा ओलम्पिकमा सहभागिता जनाइ सकेपनि उनले कुनै पनि पदक चुम्न सकेकी छैनन् । 

अब्दुल्लाह अल रसिदी(कुवेत) 

यसै वर्ष चर्चामा आएका अर्का पदकधारी पाका खेलाडी हुन्- अब्दुल्लाह अल रसिदी । ५७ वर्षीय रसिदीले यो ओलम्पिकमा कुवेतका लागि सुटिङमा कास्य पदक हात पारे । सन् २०१६ को रियो ओलम्पिकमा पनि उनले कास्य पदक जितेका थिए । 

सुटिङमा ४ पटक विश्वकप जितिसकेका रसिदीले एसियन सुटिङ च्याम्पियनसिपमा ६ वटा स्वर्ण तथा ३ वटा रजत हात पारेका छन् । यसैगरी एसियन गेम्समा उनले २ वटा स्वर्ण र एक रजत पदक प्राप्त गरेका छन् । 

इच्छाशक्ति भए उमेरले रोक्न नसक्ने उदाहरण उनले राम्रोसँग दिएका छन्।
 
यस वर्षको ओलम्पिकमा उमेरका कारण एकदमै चर्चा कमाएको खेल हो–स्केटबोर्डिङ र टेबल टेनिस । यी दुवै खेलमा सानो उमेरका खेलाडीले सहभागिता जनाएका थिए ।

हेन्ड जाजा(सिरीया)

पहिलाे पटक ओलम्पिकमा भाग लिएकी १२ वर्षीया जाजा टोकियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी हुन् । उनी अस्ट्रियाकी खेलाडी जिया ल्यूसँग पराजित हुँदै पहिलाे चरणबाटै बाहिरिइन् ।

जाजाले गत वर्ष भएको एसियन छनोट खेलमा ४२ वर्षीया मारियाना सहकनीलाई पराजित गर्दै ओलम्पिकको यात्रा तय गरेकी थिइन् । त्यति बेला उनको उमेर जम्मा ११ वर्ष थियो । 

उनी उमेरमा सानी भए पनि उनको खेलप्रतिको रुचि  कुनै अनुभवीको भन्दा कम छैन । उनले सिएनएन सँगको कुराकानीमा भनेकी थिइन् ‘मेरो रगतमा खेल छ ।’ उनको यो भनाइले उनको खेलप्रेम प्रष्ट झल्काउँछ । 

निशिया मोमीजी (जापान)

जापानकी १३ वर्षीया निशियाले यस वर्ष ओलम्पिकमा स्वर्ण हात पारेकी छिन् । उनले पहिलो पटक ओलम्पिकमा समावेश भएको स्केट बोर्डिङ स्पर्धामा स्वर्ण जितेकी हुन् । पहिलो प्रयासमा नै आफ्नो पोल्टामा स्वर्ण पारेकी उनी जापानको लागि ओलम्पिकमा स्वर्ण जित्ने सबैभन्दा कान्छी खेलाडी हुन् । उनले जापान टाइम्ससँगको कुराकानीमा भनेकी छिन्, ‘म धेरै खुसी छु, सोच्दै नसोचेको सफलता पाएकोमा । मैले मेरो उत्कृष्ट प्रदर्शन दिएको थिएँ । फलस्वरूप मैले पदक जितेँ ।’

रेस्सा लियल (ब्राजिल) 

१३ वर्षीया रेस्साले महिला स्केट बोर्डिङमा रजत पदक हात पारेकी हुन् । रेस्साले पहिलो पटक ओलम्पिकमा भाग लिएकी थिइन् । रेस्सालाई निशिया मोमीजीले हराएकी हुन् । एकै खेलमा उत्रिएका उही उमेरका दुई प्रतिस्पर्धीले खेलपश्चात् एक अर्कामा खुसी पनि साटेका थिए । 

(एजेन्सीहरूकाे सहयाेगमा)

  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १५:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया