अत्याधुनिक हतियारसहित सुन पसल लुट्ने समूहका पाँचजना पक्राउ

 मोरङमा अत्याधुनिक हतियारसहित सुन पसल लुटपाट गर्न आएकामध्ये पाँचजना पक्राउ परेका छन् ।

मोरङको सुन्दरहरैचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहका पाँचजना पक्राउ परेका हुन् । उनीहरूलाई मोरङकै केराबारी क्षेत्रबाट मंगलवार राति पक्राउ गरिएको हो । 

सो समूहबाट सुन पसल लुटपाट गर्न प्रयोग गरिएको स्वचालित हतियार स्टर्लिङ मेसिन गन (एसएमजी), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न दुईजना फरार रहेकाले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक भएको छैन । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न हतियारमा प्रयोग हुने ७० राउन्ड गोली पनि बरामद भएको छ ।

लुटपाट गर्ने समूहको खोजीमा जिल्ला प्रहरी कार्यालय मोरङ, १ नं. प्रदेश प्रहरी कार्यालयको (रिट) समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टिम परिचालित भएको थियो ।

घटना भएको १२औँ दिनपछि यो समूहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेकाहरूको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।



‘ज्वेलर्स लुटपाट गर्न आउने समूहका केही सदस्यलाई राति १२ बजे केराबारी क्षेत्रबाट पक्राउ गरेका हौँ,’ उनले भने ‘थप अनुसन्धान हुँदै छ ।’ घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ ।



  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १९:१३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया