नक्कली नागरिकता बनाउने एक भारतीयसहित २ जना पक्राउ

नक्कली नागरिकता बनाउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका-२ का ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भई हाल बहुदरमाई नगरपालिका-२ मा बस्दै आएकी २८ वर्षीया कविता कुमारी भनिने सीता पटेल रहेका छन् । 

धुरुपले सीतालाई छोरी भन्दै जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता बनाइदिएका थिए । सीताले २०७० पुस ११ गते ३४-०१-७०-१०३५२ नम्बरको नागरिकता लिएकी थिइन् । भारत घर भएकी सीताले कविता कुमारीको नामबाट नागरिकता लिएकी थिइन् । धुरुपले नागरिकता बनाउन बुबा बनेर सनाखत गरेका थिए । 

कविता कुमारीले झुटा विवरण पेस गरी नागरिकता लिएको भन्ने सूचनापछि प्रहरी खटिएको थियो । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सीतालाई वीरगञ्ज महानगरपालिका-१३ श्रीपुरबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा बोकेको झोलामा नक्कली नागरिकता फेला परेको पर्सा प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । 

पक्राउ परेका दुवै जनालाई नागरिकता सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए । नेपाल नागरिकता ऐन, २०६३ ले दफा २१ झुठो विवरण पेस गरी नागरिकता बनाउन रोक लगाएको छ । 

कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिएर नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरेर सजाय पाएमा उक्त नागरिकता स्वतः रद्द हुनेछ ।

त्यस्तै, कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १३:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया