विराटनगरका मेयरले आफ्ना नेता तथा कार्यकर्तालाई खाेप लगाएकाे भन्दै महानगरकाे गेटमा स्थानीयकाे धर्ना

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई आफ्ना नेता तथा कार्यकर्ताहरूलाई कोरोना विरुद्धको खोप लगाएको आरोप लागेको छ । मेयरले घरघरमा गएर खोप लगाइदिएको विरोधमा अहिले विराटनगर महानगरपालिकाको गेटमा स्थानीय धर्ना बसेका छन् । 

बुधबार राति विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफू निकटका नेता तथा कार्यकर्ताहरूलाई घरमै गएर  खोप बाँडेको आरोप स्थानीयको छ । 

घटनाको विषयमा छानबिन गर्न माग राख्दै महानगरको गेटमा धर्ना बसेको कांग्रेस नेता दिपक चापागाईँले जानकारी दिए ।

महानगरका मेयर पराजुली सहितको टोली  विराटनगर महानगरपालिका वडा नम्बर  ५ निवासी कांग्रेस युथ समितिका सभापति बिमलराज भण्डारीको घरमा पुगेर खोप लगाइदिएको स्थानीयको दावी छ । स्थानीयले थाहा पाएपछि उनीहरू विरोधमा उत्रिएका थिए । निकटका नेता कार्यकर्तालाई  खोप लगाउन थालेपछि घटनास्थल अगाडि ठूलो भीड जम्मा भएको थियो । 

स्थानीयको विरोधपछि मेयर पराजुली दौडँदै कांग्रेस नगर उपसभापति प्रविण जोसीको गाडी चढेर भागेको स्थानीयले बताए । 

मेयर निकटका मानिसले खोप लगाएको भन्दै उनकै कार्यकर्ताले फेसबुकमा राति नै फेसबुकमा लाइभ गरेका थिए ।  तत्काल लाइभ भएका ती भिडियो पछि हटाइए पनि भिडियो भने सार्वजनिक भएका छन् । 



खोप दुरुपयोग गरेको बारेमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।   महानगरपालिकामा ६५ हजार डोज खोप रहेको उनले दाबी गरे ।  

कांग्रेसको पार्टी चुनाव नजिकिँदै गर्दा  आफूलाई बदनाम गराउने प्रयास भएको मेयर पराजुलीको भनाइ छ ।



विराटनगर महानगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष मिनकुमार आचार्यले मेयरले रातिको समयमा खोप लगाउन आफै गएको भन्ने कांग्रेसका नेताहरूबाट नै जानकारीमा आएको बताए । ‘मेयरले यस्ता कार्य गर्नु निन्दनीय हो । आमजनताले खोप पाउनु पर्छ तर आफन्त, नेता र कार्यकर्ता भन्दै हिँड्नु गलत हो’,उनले भने ।

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १३:३७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया