रोकिएन सिनेमा हल बन्द हुने क्रम

देश कोरोना महामारीको चपेटामा पर्नुअघि देशभर १९३ सिनेमा घर सञ्चालनमा थिए । कोरोनाको पहिलो लहरमै केही सिनेमा घर सदाका लागि बन्द भए । कोरोनाको दोस्रो लहर सकिँदा पनि सिनेमा घर बन्द हुने क्रम भने रोकिएको छैन ।

कोरोनाका कारण लामो समय बन्द भएका कतिपय हल गोदाममा परिणत हुँदै गएका छन् । कोरोना सुरु भएपछि अहिलेसम्म दर्जन बढी हल बन्द भए । लामो समय चलचित्र क्षेत्र सुनसान हुँदा हल सञ्चालकहरूमा ठूलो अन्यौलता पैदा भयो ।

अहिले हल सञ्चालकहरू वैकल्पिक पेशामा लाग्न थालेका छन् । हल बन्द गरेर अन्य पेशाको मनस्थिति बनाएका हल सञ्चालक पुनः यही क्षेत्रमा फर्किने सम्भावना नरहेको नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा बताउँछन् । ‘हल बन्द गर्नुको अर्थ अरू नै पेशा अंगाल्नु हो’, शर्माले भने । 

कतिपय हल बन्द गरेर गोदामलाई भाडामा दिइएको छ । कतिपय हल सञ्चालकले सिनेमा घर भएको जग्गा बेचेर अन्य व्यवसाय गर्ने तयारी थालेका छन् । कोरोनाका कारण चलचित्र क्षेत्र अस्तव्यस्त बनेको भन्दै  सरोकारवालाहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।

पछिल्लो समय मात्रै काठमाडौंको ‘सिद्धार्थ चलचित्र मन्दिर’ बन्द भयो । कोरोनाकाल लम्बिँदै जाने हो भने अन्य हल पनि बन्द हुने शर्मा बताउँछन् । चलचित्र क्षेत्र पुरानै लयमा फर्किन्छ भन्ने नभएको बताउँदै शर्माले भने ‘अझै कति समय अवस्था सामान्य हुँदैन, थाहा छैन । त्यसैले हलहरू बन्द हुने क्रम अझै रोकिँदैन ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार एउटा सिनेमा हल बनाउन औसतमा ६ करोड रुपैयाँ लाग्दछ । एउटा सिनेमा हलमा ६ करोड लगानी हुँदा २८ वटा हलको लागत एक अर्ब ६८ करोड रुपैयाँ हुन्छ । एक अर्ब ६८ करोडका हल बन्द भइसकेका संघका महासचिव शर्माले बताए । 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १३:५८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया