logo-img

भूकम्पपछि पुनर्निर्माण : चिटिक्क परेका दरबारजस्ता स्कुल

२०७२ साल बैशाख १२ गते शनिबार बिहान ११:५६ बजे गोर्खाको बारपाक केन्द्रविन्दु भई ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो। १५ किमी गहिराइबाट गएको यो भूकम्प वि.सं. १९९० पछि नेपालमा गएको सबैभन्दा ठूलो भूकम्प हो।

देशभर करिब ९ हजार मान्छेले ज्यान गुमाए भने २२ हजार भन्दा बढी घाइते भए।

भूकम्पका कारण देशभरका ३२ जिल्ला प्रभावित भएका थिए। अति प्रभावित जिल्ला मध्ये मकवानपुर पनि एक हो। उक्त भूकम्पमा परी मकवानपुरमा ३३ जनाले ज्यान गुमाएका थिए भने ७७१ जना घाइते भएका थिए।  

भूकम्पबाट  जिल्लामा ४६ वटा सरकारी भवन, ६५ वटा स्वास्थ्य संस्था, १२४ गुम्बालगायत मठ मन्दिरहरूमा क्षति भएको थियो। 

उक्त भूकम्पमा थुप्रै विद्यालय भवनहरु ढलेका थिए। भूकम्पमा ढलेका विद्यालयहरु धमाधम पुनर्निर्माण भइरहेका छन्। विद्यालय भवन पुनर्निर्माणपछि भौतिक संरचनाका आधारमा हेर्दा मकवानपुरको शैक्षिक क्षेत्रमा कायापलट भएको पाइन्छ। 

दरबारजस्ता भौतिक संरचना 



भूकम्पपछि बनेका विद्यालय भवन दरबारजस्ता ठूला र चिटिक्क देखिएपछि स्थानीय खुसी देखिन्छन्। आफू विद्यालय पढ्दाको अवस्था र अहिलेको विद्यालय भवनको तुलना गर्छन् उनीहरु। 

मकवानपुरका भीमफेदीका हरिशरण हटुवाल भन्छन् ‘हाम्रा पालमा टहरा, रुखमुनि बसेर विद्यालय अहिले दरबार जस्ता स्कुल बने।’



विद्यालय भवन मात्रै राम्रो भएर नहुने पढाइको स्तर पनि बढे सुनमा सुगन्ध हुने स्थानीयको भनाइ छ। विद्यालयको भवन अनुसार शैक्षिक स्तर सुधार्न पनि प्रयत्न गरिरहेको हेटौंडा–२ स्थित सिद्धार्थ माविका प्राचार्य मोहन शर्मा बताउँछन्। 

लामो समय आधुनिक विद्यालयका प्रधानाध्यापक भएका पूर्वशिक्षक देव श्रेष्ठ भूकम्प पछिको पुनर्निर्माणको निकै प्रशंसा गर्छन्। अब भौतिकसँगै शैक्षिक गुणस्तरमा पनि ध्यान दिनु पर्नेमा श्रेष्ठको पनि जोड छ। 

मकवानपुरका ५१६ विद्यालयमध्ये ४०९ विद्यालयका २ हजार ३१० कक्षाकोठालाई भूकम्पले पूर्ण क्षति पुर्याएको थियो।  

३ वर्षदेखि तीनवटा मोडालिटीमा क्षति पुगेका विद्यालयको पुनर्निर्माण कार्य अगाडि बढाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका कार्यालय प्रमुख बद्री पाठकले जानकारी दिए।

पहिलो मोडालिटी अनुसार विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने कूल विद्यालय भवन ३२१, १०२६ कक्षाकोठा, १४९ शौचालय र ८४  विद्यालय खानेपानी कार्यक्रम रहेको  छ। 

जसमा  आर्थिक वर्ष  २०७३/०७४ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा र २०७४/०७५ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा निर्माण सम्पन्न भए।

 २०७५/०७६ (प्रथम) मा  ६५ विद्यालय भवनका २०० कक्षाकोठा, आ.व. २०७५/०७६ (दोश्रो)मा  ५१ विद्यालय भवनका  १५३ कक्षाकोठा तथा ७० शौचालय निर्माण भएको पाठकले जानकारी दिए। 

यस्तै २०७६/०७७ मा ६१ विद्यालय भवनका २०५ कक्षाकोठा, ७९ शौचालय र ८४ खानेपानी व्यवस्थापन कार्यक्रम प्राप्त भएको थियो।  उक्त कार्यक्रम आव २०७७/७८ मा निर्माण भएको उनले बताए। 

यस्तै  आव २०७७/७८ का लागि  ८ विद्यालय भवनका २८ कक्षाकोठा निर्माणका लागि कार्यक्रम थप भई आएको पाठकले जानकारी दिए। 

जापान सरकारको ऋण सहयोग (जाइका) र एशियाली विकास बैंक (एडिबी)को तर्फबाट  केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत ठेक्का सम्झौता भएका गरी कूल ५६ विद्यालयका ७०० कक्षाकोठा टेण्डर प्रक्रियाबाट निर्माण हुने क्रममा रहको छ।

 त्यस्तै संघसंस्थाका तर्फबाट स्थायी प्रकृतिका जम्मा ३२ विद्यालयमा २२१ कक्षाकोठा निर्माण भएको पनि पाठकले जानकारी दिए।

पाठकका अनुसार आव २०७७/७८ को असार मसान्तसम्म जिल्लामा तीनवटै मोडालिटीबाट कुल ४०९ विद्यालय भवनका १९४७ कक्षाकोठा निर्माण कार्य अगाडि बढेका थिए। जसमा ३७५ विद्यालयका १६६५ कक्षाकोठा निर्माण सम्पन्न भएका छन्। 

त्यस्तैगरी १४९ शौचालय र ८२ विद्यालयमा खानेपानी व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ। सबै गरी ३४ विद्यालयका २८२ कक्षाकोठा निर्माणधीन रहेका छन्। हाल एसियाली विकास बैकको ऋण सहयोगमा थप ४ विद्यालय निर्माणका लागि टेण्डर प्रक्रियाको सूचना प्रकाशन भइसकेको छ।

जग्गा अभाव, न्यून विद्यार्थी, यातायातको पँहूच नपुगेका र आवश्यक्ता नभएका जस्ता कारणले जिल्लाका १३८ विद्यालयलाई निर्माण कार्यक्रममा समावेश गर्न नसकिएको पाठकले बताए।

खर्च प्रगति उच्च

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा कार्यालयको खर्च प्रगति उल्लेखनीय छ।  कार्यालयको आर्थिक वर्ष  २०७७/७८ को भौतिक प्रगति ९८.२० प्रतिशत रहेको छ। 

कुल बजेट ४७ करोड ४५ लाख ८४ हजार २०८ रुपैयाँ मध्ये ४६ करोड २४ लाख ९२ हजार ४ सय ६३ अर्थात ९७.४५ प्रतिशत रहेको छ।  कार्यालयको  चालुतर्फ बजेट  १ करोड १२ लाख ८७ हजार ३२  मध्ये ८६.९३ प्रतिशत अर्थात ९८ लाख १२ हजार ९०६ रुपैयाँ खर्च भएको छ।  

यस्तै पूँजीगत तर्फको बजेट ४६ करोड ३२ लाख ९६ हजार ८८८ मध्ये खर्च  ४५ करोड २६ लाख ७९ हजार  ५५७ रुपैयाँ अर्थात ९७.७० प्रतिशत रहेको कार्यालय प्रमुख पाठकले जानकारी दिए।

  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया