नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री विष्णु पौडेल वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन् । पौडेल शुक्रबार मध्यान्ह कोटेश्वरस्थित नेपालनिवास पुगेका हुन् ।
पार्टी एकताको विषयमा कार्यदलले गरेको १० बुँदे सहमतिअनुसार एमालेलाई एक बनाएर लैजाने विषयमा छलफल गर्नका लागि पौडेल नेपालनिवास पुगेका हुन् । यसअघि, हिजो बिहीबार नेपाललाई भेट्न संसदीय दलका उपनेता सुवास नेम्वाङ नेपालनिवास पुगेका थिए ।
गत असार २७ गते एमाले एकताका लागि बनेको कार्यदलले १० बुँदे सहमति गरेको थियो । उक्त सहमतिमा अध्यक्ष केपी शर्मा ओली तर्फका पाँचै जनाले हस्ताक्षर गरेका थिए भने वरिष्ठ नेता नेपाल पक्षका रघुजी पन्तबाहेक ४ जनाले हस्ताक्षर गरेका थिए ।
उक्त कार्यदलको सहमतिलाई एमालेको केन्द्रीय समिति बैठकले स्वीकार गर्दै कार्यदल पनि खारेज गरिसकेको छ । तर, औपचारिक रुपमा कार्यदल नरहे पनि एकताका लागि नेताहरु अनौपचारिक रुपमा निरन्तर छलफलमा रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।