ओलीले माधव नेपाललाई विश्वास नगर्नुका ३ कारण

केही महिना यतादेखि देखिएको नेकपा एमाले विवाद अहिले तत्काल समाधान हुने देखिँदैन । नेकपा एमालेमा दोस्रो पुस्ताका नेताहरु पार्टीका दुई नेता अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउन भरमग्दुर प्रयास गरिरहेका छन् ।

तर, उनीहरुको प्रयासमा खासै तात्विक भिन्नता देखिएको छैन । 

एमालेले १० जना नेता समेटेर विवाद सुल्झाउन बनाएको समितिले दिएको १० बुँदे सुझाव अलपत्र परेको छ । नेकपा एमाले ओली समूह मात्र सम्मिलित स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकले यी १० बुँदालाई अनुमोदन गरेको छ । तर, नेपालले भने आफू यी सबै १० बुँदामा सहमत नभएको बताउँदै आएका छन् ।

यहीबीच शनिबार काठमाडौंमा भएका दुई विभिन्न कार्यक्रममा ओली र नेपालले एकअर्कालाई आरोप मात्र लगाएनन्, दुवैलाई नेकपा एमालेमा अहिले आवश्यक नभएका नेताका रुपमा चित्रणसमेत गरे । ओलीले नेपालजस्ता आन्दोलनप्रति धोका दिने व्यक्तिलाई नेकपा एमालेमा कुनै स्थान नभएको बताए । नेपालले चाहिँ ओलीले संविधानमाथि प्रहार गर्न खोजेको र त्यसलाई आफूले रक्षा गरेको बताए ।

पछिल्लो समय एमालेमा ओली लचक देखिँदा नेपालले कडा शब्दमा अभिव्यक्ति दिन थालेका छन् भने नेपाल अलिक सहज हुँदा ओली आक्रामक रुपमा अभिव्यक्ति दिइरहेका छन् ।

ओलीनिकट नेताहरु नेपाललाई भेट्न जाँदा नेपालले उनीहरुलाई प्रश्न गर्ने गरेका छन्– ओलीलाई कसरी विश्वास गर्ने ?



यही प्रश्न ओलीले पनि नेपालनिकट नेताहरुसँग र आफूनिकट नेताहरुसँग गर्न थालेका छन्– नेपालले गद्दारी गरे, उनलाई विश्वास गर्ने आधार के छन् त ?

प्रधानमन्त्रीबाट ओली हटिसकेपछि उनले बारम्बार आफू पार्टी एकताका लागि जुनसुकै त्याग गर्न तयार भएको बताइरहेका छन् । उनले केन्द्रीय कमिटी बैठकमा पनि आफूले सबै सर्त मान्न तयार भएको बताए । यतिमात्र होइन, उनले केही दिनअघि माधवकुमार नेपाललाई समान हैसियतको अध्यक्ष दिन पनि आफू तयार भएको बताएका थिए ।



तर, यति बताउँदा बताउँदै पनि ओलीले अहिले पनि माधवकुमार नेपाल आफूसँग एकता गर्न आउलान् भन्ने विश्वास गरेका छैनन् ।

‘विश्वास गर्नु पनि कसरी ?’ ओलीनिकट एक नेताले फरकधारलाई भने, ‘उहाँबाट पछिल्ला महिनामा विश्वासघात मात्रै भएका छन्, उहाँ एकोहोरो ओलीलाई सकाउनु पर्छ भन्ने सोचका साथ लाग्नु भएको छ ।’

ती नेतासँग हामीले नेपाललाई ओलीले विश्वास नगर्नुका तीन कारण के हुन् त भनेर सोधेका थियौँ । उनले जवाफमा दिएका तीन कारण हुन्–

 

१. दक्षिणपन्थीसँग मोर्चाबन्दी, आफ्नै पार्टीको सरकार ढलाउन जिम्मेवार

तीन वर्षअघि निर्वाचनमा जाँदा माओवादी केन्द्रसँग चुनावी गठबन्धन बनाएको नेकपा एमालेकै पहलमा निर्वाचन लगत्तै पार्टी एकता भयो । तर, पार्टी एकताले पूर्णता नपाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खटपट सुरु भयो । आलोपालो सरकार गठन गर्ने यसअघि सम्झौता गरेका यी दुई नेताले पार्टीमा बारम्बार अरु सम्झौता पनि गरे । त्यही सम्झौताबीच एउटा सम्झौता भयो– ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने, पार्टीमा प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने ।

तर, यो सम्झौता पनि लामो समय टिक्न सकेन ।

गत पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना मात्र गरेन, नेकपाका यी दुई दललाई छुट्टाछुट्टै बनाइदियो ।

नेकपा एमाले र माओवादी केन्द्रको हैसियतमा यी दुई दलले आआफ्ना गतिविधि गर्न थाले ।

‘तर, नयाँ परिस्थितिअनुसार नेकपा एमालेलाई थप बलियो बनाउनु पर्नेमा नेपाल कमरेड दक्षिणपन्थीहरुसँग सहकार्य गर्न तिर लाग्नु भयो,’ ओलीनिकट ती नेताले भने, ‘यसले अहिलेको हाम्रो पार्टीको अवस्था निम्त्यायो ।’ उनले ओलीको सरकार नेकपा एमालेको सरकार भएको भए पनि माधवकुमार नेपालले लगातार ओलीमाथि वा सरकारमाथि मात्र प्रहार गरेर पार्टीको छवि नै धुमिल बनाएको आरोप पनि लगाए ।

‘एउटा पार्टीभित्र लामो समय अन्तर्संघर्ष हुनसक्छ, पार्टीभित्र वैचारिक मतभेद देखिएला तर त्यसको समाधान अरु पार्टीसँग मिल्न जानु होइन,’ उनले भने, ‘माधव कमरेडले चाहिँ ओलीसँग महाधिवेशनमा पराजित भएको रिस देखाउन हो या किन हो पार्टीलाई नै हराएर आफूलाई जिताउन खोज्नु भयो ।’

 

२. पार्टीभित्रका कुराहरुको गलत प्रचार, कुतर्क र असम्भव कुराको दाबी

पछिल्लो समय नेकपा एमालेमा विवाद देखिएपछि त्यसको समाधानका लागि भएका विभिन्न प्रयासमा एउटा विषय निकै पेचिलो बनिरहेको छ । त्यो हो, अब एमाले एकताका लागि नेता नेपाललाई पनि अध्यक्ष पद दिइने ।

केही दिनअघि अध्यक्ष ओलीले समेत नेता नेपाललाई आफूले समान अध्यक्ष दिने बताएका थिए । तर, नेपालले लामो समयदेखि आफूले अध्यक्षको दाबी नगरेको बताउँदै आएका छन् । 

उनले यस्तो बताए पनि उनीनिकट नेताहरुले ओलीनिकट नेताहरुसँग वार्तामा बस्दा नै नेपाललाई पनि अध्यक्ष बनाउनु पर्ने माग राख्दै आएका छन् । 

शनिबार मात्र सिंहदरबारमा यसअघि बनेको कार्यदलको छलफलपछि एमाले सचिव गोकर्ण विष्टले भनेका थिए, ‘१० बुँदे र दुई अध्यक्षमा भइरहेको छलफल कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिरहेका छौँ ।’ यसको अर्थ हो, नेपाल समूह नेपाललाई पनि एमाले अध्यक्षका रुपमा चाहन्छ ।

अर्कोतिर शनिबार नै काठमाडौं जिल्ला कमिटीको कार्यक्रममा अध्यक्ष ओलीले भनेका थिए, ‘मसँग अध्यक्षमा हारेको मान्छेलाई अहिले अध्यक्ष चाहियो रे !’

नेपालको यो मागलाई असम्भव कुराको दाबी र कुतर्कका रुपमा लिइरहेका छन् अ‍ोलीले । ‘बरु पार्टीको महाधिवेशन छिटो गरौँ भन्ने हुन्छ, तर हिजो महाधिवेशनमा हारिसकेको मान्छेले अहिले अध्यक्ष दाबी गर्न खोज्नु भनेको असम्भव कुरामा जोड दिनु हो,’ ती नेताले भने, ‘अध्यक्ष ओली महाधिवेशन छिटो गर्न तयार हुनु भएको छ । तर, उहाँहरु (नेपाल) ओलीले विधि र विधान मिचेको प्रचार गरिरहनु भएको छ । उहाँहरुले धेरै कुतर्क र गलत प्रचार पछिल्लो समय गर्नु भएको छ ।’ यही कारणले पनि ओलीले नेपाल फेरि एमालेमा आउँछन् भन्ने विश्वास गरेका छैनन् ।

 

३. कम्युनिस्ट आचरण बिर्सनु, अनुशासनको ख्याल नगर्नु

आफ्नो सरकारलाई असहयोग गरेको विषयले भन्दा पनि ओली नेपालप्रति सबैभन्दा रुष्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाका कारण छन् ।

‘सर्वोच्च अदालतमा लाइन लाग्न जानु, राष्ट्रपति कहाँ हस्ताक्षर गर्न जानु,’ ती नेताले भने, ‘आफ्नै पार्टीलाई सरकारबाट प्रतिपक्षमा लैजान जोडतोडका साथ लाग्नु कसरी कम्युनिस्ट आचरण हुन्छ ? कसरी अनुशासनको ख्याल गरेको हुन्छ ?’

उनले प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भए पछि नेकपा एमालेको स्थायी कमिटी बैठकले विश्वासको मत नदिने निर्णय गरे पनि नेपालले आफू र आफूनिकटलाई विश्वासको मत दिन लगाउनुलाई नेपालमाथि अविश्वास गरिने अर्को कारण भएको बताए । ‘त्यति बेला पार्टीमा एकता गर्नका लागि १० बुँदे सम्झौता प्रस्ताव आइसकेको थियो, ओली २ जेठमा फर्किन तयार भइसकेका थिए,’ उनले भने, ‘तर, सर्वोच्चको फैसालाको आडमा नेपालले देउवालाई नै सहयोग गरे । त्यसपछि पनि विभिन्न चरणमा भएका वार्ताका विषयलाई बेवास्ता गर्दै नेपाल गठबन्धन भन्दै हिँडिरहेका छन् । यसले पनि उनीमाथि विश्वास गर्ने आधार कम हुँदै गएको हो ।’

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १५:२२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया