सुदूरपश्चिममा होल्डिङ सेन्टर निर्माण हुँदै

संघीय सरकारले देशभरका विभिन्न नाैवटा स्थानमा ठूलो लगानीमा होल्डिङ सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको दोस्रो लहर महामारीका रूपमा फैलिएपछि संघीय सरकारले देशभरिका मुख्य सीमा नाकाहरूमा होल्डिङ सेन्टर निर्माण गर्ने योजना ल्याएको थियो । कोरोना संक्रमण भारतबाट नै नेपालमा बढी फैलिएका कारण सीमानाकाको २ किलोमिटर आसपासमा होल्डिङ सेन्टर निर्माणको काम अघि बढाउने निर्णय भएको थियो ।

सुदूरपश्चिममा दुई ठूला होल्डिङ सेन्टर धनगढीमा निर्माण भइरहेका छन् । कैलालीमा धनगढी उप-महानगरपालिका-३ मा रहेको प्रगति सामुदायिक वनको डेढ बिघा क्षेत्रफलमा होल्डिङ सेन्टर निर्माण भइरहेको हो । 

सरकारले होल्डिङ सेन्टर निर्माणको जिम्मा नेपाली सेनालाई सुम्पिएको छ । २८ करोड ८१ लाखमा निर्माण भइरहेको होल्डिङ सेन्टरमा ५५ वटा भवन निर्माण हुने छन् । असोज महिनाभित्र होल्डिङ सेन्टर निर्माण सम्पन्न गर्नुपर्ने छ ।
 
समयमै निर्माण सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वड लगायतका व्यक्तिहरूले होल्डिङ सेन्टर निर्माण स्थलको अनुगमन गरेका छन् ।

निर्माण स्थलको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले काम गर्दा कुनै अवरोध आएमा सहकार्य गर्न आग्रह गरे । निर्माण सामग्रीहरूको अभाव भए स्थानीय सरकारसँग समन्वय गर्न पनि उनले निर्देशन दिए । ‘होल्डिङ सेन्टर समयमा सम्पन्न गर्नुपर्ने छ । त्यसका लागि स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्न आवश्यक छ’, मुख्यमन्त्री भट्टले भने । 

अहिले कोरोना संक्रमण दर न्यून भए पनि तेस्रो चरणको कोरोना आइहालेको खण्डमा गौरीफण्टा नाका नजिक  पूर्व तयारीका लागि होल्डिङ सेन्टर निर्माण भइरहेको छ । ‘निर्माण भइरहेको होल्डिङ सेन्टरमा कोरोना संक्रमितलाई राख्ने हो’, धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले भने, ‘अब भारतबाट आउने मानिसहरूमा संक्रमण पोजेटिभ देखिएमा घर जाने अवस्था नरहने हुनाले त्यस्ता मानिसहरूलाई कम्तीमा पनि १० दिन होल्डिङ सेन्टरमा राखिने छ ।’



संक्रमितका साथै क्वारेन्टिनमा राख्नुपर्ने मानिसहरूलाई भने होल्डिङ सेन्टरभित्रै संक्रमितसँग सम्पर्क नहुने गरी छुट्टै ठाउँ व्यवस्थापन गरिने तयारी पनि सरकारको छ । यसअघि संक्रमणको पहिलो र दोस्रो लहरमा पनि भारतबाट अनियन्त्रित तरिकाले मानिसहरू स्वदेश फर्किएपछि संक्रमण ह्वात्तै बढेको थियो । मेयर वडले तेस्रो चरणको तयारीका लागि होल्डिङ सेन्टर निर्माण हुन लागेको बताए ।

तटबन्धनको माग



होल्डिङ सेन्टर मोहना नदीको नजिकै निर्माण भइरहेको छ । मोहना नदी नजिक निर्माण भइरहेको हुँदा तटबन्धनको आवश्यक रहेको स्थानीयको माग छ । ‘होल्डिङ सेन्टर निर्माण भइरहेको छ । स्थानीयका लागि खुसीको कुरा हो’, धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष बलबहादुर ऐरले भने, ‘तर, यसलाई बचाउन होल्डिङ सेन्टरसँगै जोडिएको मोहना नदीमा तटबन्धन पनि आवश्यक रहेको छ ।’ 

तटबन्धन नबन्दा होल्डिङ सेन्टर नै मोहनाको जोखिममा रहने  स्थानीयहरूको भनाइ रहेको छ ।

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १५:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया