यी हुन् टोकियो ओलम्पिकमा चर्चा कमाएका खेलाडी

ओलम्पिकलाई विश्व खेलकुदको महामेलाको रूपमा लिइन्छ । यति बेला यो महामेला जापानको टोकियोमा चलिरहेको छ । 

जारी ३२ औँ ग्रिष्मकालीन ओलम्पिकमा ३३ खेलका ३३९ विधा समावेश गरिएको छ । टोकियो ओलम्पिकमा विश्वका २०० भन्दा बढी देशका ११ हजारभन्दा बढी खेलाडीले सहभागिता जनाएका छन् । तीमध्ये केही खेलाडी विभिन्न कारणले चर्चामा आएका छन् ।

६६ वर्षीया अस्ट्रेलियन घोडसवार मेरी हन्नाले टोकियो ओलम्पिकमा सबैभन्दा पाको खेलाडी बन्दै चर्चा कमाउँदा १२ वर्षीया सिरियन टेबल टेनिस खेलाडी हेन्ड जाजाले सवैभन्दा कान्छी खेलाडी बन्दै चर्चा बटुल्न सफल भइन् ।

विश्व टेनिसका चर्चित अनुहार सर्बियाका नोभाक जोकोभिच, अस्ट्रेलियाकी एस्ले बार्टी र आयोजक जापानकी नाओमी ओसाका भने हारका कारण चर्चामा रहे ।

५ स्वर्ण हात पारेका अमेरिकी पौडीबाज सेलेब ड्रेसल पनि चर्चाको शिखरमा पुगे ।

यहाँ जारी टोकियो ओलम्पिकमा पदक जितेर चर्चा कमाएका केही नयाँ खेलाडीको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।



हिडिलिन डियाज 



३० वर्षीया भारोत्तोलक डियाज फिलिपिन्सका लागि ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी हुन् । 

उनले टोकियो ओलम्पिकमा महिला ५५ केजी तौल समूहमा कुल २२४ किलो भार उठाउँदै ओलम्पिक कीर्तिमान सहित स्वर्ण पदक हात पारेकी हुन् । डियाजले स्न्याचतर्फ ९७ र क्लिन एन्ड जर्कतर्फ १२७ किलो भार उठाइन् । 

यसअघि उनने सन् २०१६ ओलम्पिकमा रजत, एसियन युथ वेटलिफ्टिङ च्याम्पियनसिपमा २ स्वर्ण र १ रजत तथा साउथइस्ट एसियन गेम्समा १ कास्य पदक हात पारेकी थिइन् ।

फ्लोरा डुफे

३३ वर्षीया डुफेले ट्रायथलनबाट बर्मुडाका लागि पहिलो ओलम्पिक स्वर्ण दिलाइन् । उनले महिला एकलमा १ घन्टा ५५ मिनेट ३६ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारेकी हुन् । 

यसअघि फ्लोराले आइटियु ट्रायथलन वर्ल्ड च्याम्पियनसिपमा समान २-२ स्वर्ण र १ रजत, आइटियु क्रस ट्रायथलन वर्ल्ड च्याम्पियनसिपमा २ स्वर्ण र १ रजत लगायत थुप्रै पदक हात पारिसकेकी छन् । 

फरेस एल बाख

२३ वर्षीय भारोत्तोलक फरेस एल बाखले कतारका लागि पहिलो ओलम्पिक स्वर्ण हात पारे। 

उनले पुरुष ९६ केजी तौल समूहमा कुल ४०२ किलो भार उठाउँदै ओलम्पिक कीर्तिमान सहित स्वर्ण हात पारेका हुन् । फरेसले स्न्याचतर्फ १७७ र क्लिन एन्ड जर्कतर्फ २२५ किलो भार उठाए । 

फरेसले यसअघि वर्ल्ड च्याम्पियनसिपमा १-१ रजत र कास्य, एसियन्स गेम्समा १ रजत, एसियन च्याम्पियनसिपमा  १ रजत, जुनियर वर्ल्ड च्याम्पियनसिपमा २ स्वर्ण र १ कास्यसहित थुप्रै पदक हात परेका थिए । 

रेस्सा लियल

१३ वर्षीया रेस्साले पहिलो पटक ओलम्पिकमा समावेश गरिएको स्केट बोर्डिङबाट ब्राजिलका लागि रजत पदक हात पारेकी हुन् । 

रेस्साले महिला एकल स्ट्रिट स्पर्धामा १४.६४ अंक जोड्दै रजत हात पारिन् । यसअघि उनले वर्ल्ड च्याम्पियनसिपमा १-१ रजत र कास्य पदक जितेकी थिइन् । 

मोमिजी निशिया

१३ वर्षीया निशियाले पहिलो पटक ओलम्पिकमा समावेश गरिएको स्केट बोर्डिङमा जापानका लागि स्वर्ण पदक हात पारिन्  ।

महिला एकल स्ट्रिट स्पर्धामा १५.२६ अंक जोड्दै स्वर्ण हात पार्दै उनी जापानका लागि  ओलम्पिक स्वर्ण जित्ने सबैभन्दा कान्छी खेलाडी बनिन् । 

यसअघि निशियाले वर्ल्ड च्याम्पियनसिप तथा एक्स गेम्समा रजत पदक हात पारेकी थिइन्। 

आबे दाजु बहिनी

टोकियो ओलम्पिकमा जापानी जुडो खेलाडी आबे दाजुबहिनी हिफुमी (दाजु) र युटा (बहिनी) ले स्वर्ण जित्दै कीर्तिमान कायम गरे । 

दुवैजना ओलम्पिकमा एकै दिन एकै खेलबाट स्वर्ण जित्ने पहिलो दाजु बहिनी बने । युटाले महिला ५२ केजी मुनि तौल समूहमा स्वर्ण हात पारेको २० मिनेटपछि  हिफुमीले ६६ केजी मुनि तौल समूहमा स्वर्ण हात पारे । 

२१ वर्षीया युटाले टोकियो ओलम्पिकमै मिक्स टिम स्पर्धामा पनि रजत हात पारिन् । उनले वर्ल्ड च्याम्पियनसिपमा २ स्वर्णसहित थुप्रै पदक जितेकी छन् ।

२३ वर्षीय हिफुमीले टोकियो ओलम्पिकमै मिक्स टिम स्पर्धामा पनि रजत हात पारे । उनले वर्ल्ड च्याम्पियनसिपमा २ स्वर्ण र १ कास्यसहित थुप्रै पदक जितेका छन् ।

एम्मा म्याकेओन

२७ वर्षीया अस्ट्रेलियन पौडीबाज म्याकेओनले टोकियो ओलम्पिकमा ४ स्वर्ण र ३ कास्यसहित ७ पदक जितेर तहल्का मच्चाइन्  ।

उनले महिला १०० र ५० मिटर फ्रिस्टायल, ४ गुणा १०० मिटर फ्रिस्टायल रिले, ४ गुणा १०० मिटर मिड्ले रिलेमा स्वर्ण पदक हात पारिन् ।

एम्माले मिक्स ४ गुणा १०० मिटर मिड्ले रिले, महिला १०० मिटर बटरफ्लाई र ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा कास्य पदक जितिन् ।

एम्माले यसअघि रियो ओलम्पिकमा महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा स्वर्ण, ४ गुणा १०० मिटर मिड्ले रिले र ४ गुणा २०० मिटर फ्रिस्टायलमा रजत र २०० मिटर फ्रिस्टायलमा कास्य पदक हात पारेकी थिइन् ।

यी बाहेक भारतका लागि भारोत्तोलनमा रजत हात पारेकी २६ वर्षीया चानु मिराबाई, कुवेतलाई कास्य दिलाएका ५७ वर्षीय सुटर अब्दुल्लाह अल रिसीदी, २५ वर्षीया जापानी पौडीबाज युइ ओहासी लगायतका खेलाडी पनि राम्रो चर्चा कमाए । 
 

 

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १६:४८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया