अस्तित्वको खोजीमा तीन कलाकार

सम्पत्तिको लागि आफूभन्दा निकै जेठा केटासँग विवाह गरेकी इच्छाको भित्री ‘इच्छा’ अरु नै हुन्छ । उनको त्यो इच्छा जीवनकालमा पूरा हुन सक्दैन । सानैमा बाबु–आमा गुमाएकी इच्छाको काँध भाइको जिम्मेवारीले थिचिएको हुन्छ । आफूमा आइपरेको भार कम गर्न पनि सम्पत्तिवाला बृद्धसँग विवाह गर्नु उनको बाध्यता हो । बच्चा भने विवाहइतर सम्बन्धबाट जन्माउँछिन् । त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चाका कारण आफ्नो इज्जत जाने भएपछि उनले आफैंले जन्माएको बच्चाको हत्या गर्छिन् । यो हत्याले उनलाई जीवन बाँच्दासम्म कति पोल्यो थाहा छैन । तर, मरेपछि पनि शान्ति मिल्दैन । यो आशान्त आत्माको प्रतिनिधित्व गर्दै मञ्चमा देखिन्छिन् कलाकार उषा रजक । 

अस्तित्वको खोजीमा उनीसँगै देखिन्छन् कलाकार विपिन कार्की । आजाद बनेका उनी एक क्रान्तिकारी युवक हुन् । क्रान्तिका कवितासमेत लेखेका उनी आन्दोलनको मोर्चाबाट भागेका हुन्छन्, एक भगौडा क्रान्तिकारी । जिउँदो रहँदा श्रीमतीलाई खुबै यातना दिएर आफूलाई मर्द ठानेका यी पात्र मरेपछि भने आफूलाई निकै काँतर सम्झन्छन् । सधैं दुःख दिँदा पनि कुनै प्रतिक्रिया नजनाउने श्रीमतीले उनका बारेमा के प्रतिक्रिया देलिन् भन्ने चिन्ता उनमा आफैं मरेपछि पनि मरेको छैन । उनी मरेपछि पनि चिन्तामा छन्, ‘अब पृथ्वीमा मेरो गाथा कस्तो बन्ला ? श्रीमतीले मेरोबारे के भन्लिन् ?’ त्यो भन्दा ठूलो चिन्ता उनलाई उनकी श्रीमती नरोएकोमा छ । उनी बेलाबेला भनिरहन्छन्, ‘तेरा दुःखी आँखाले कहिल्यै रुन जानेन !’

यी दुई पात्रसँगै देखिन्छिन् अभिलाषा । पृथ्वीमा रहँदा पवित्रा खड्का भनेर सम्बोधन गरिने उनी समलिंगी हुन् । उनी भित्रको समलिंगी भाव हुर्कंदै जाँदा नाताले भाइ पर्ने एक युवकसँग प्रेम बस्छ । काकाका छोरा उनको प्रेममा पर्छन् । यही प्रेमका कारण उनका भाइले आत्महत्या गर्छन् । भाइको आत्महत्याको रापले उनलाई मृत्युपछि पनि पोल्न छाड्दैन । 

पृथ्वीलोकबाट छुटेर अर्को लोकमा गएका यिनै तीन पात्रको वरिपरि घुमेको छ नाटक ‘अनुपस्थित तीन ।’ करिब १ घण्टा १० मिनेटको यो नाटक उनीहरुकै मनोदशामा केन्द्रित छ । मृत्युपछि पनि आफ्नो अस्तित्वको खोजी गरिरहेका उनीहरु एकअर्कासँग गल्तीबोध, आत्मालोचना गरिरहेका देखिन्छन् । पृथ्वीका यी अनुपस्थित तीन पात्र महिला, पुरुष र समलिंगी आफ्नै अस्तित्वको खोजीमा हुन्छन् ।

यो नाटक फ्रान्सेली नाटककार जाँ पल सात्र्रको ‘नो एक्जिट’लाई नेपालीमा अनुवाद गरिएको हो । अवतार पाठकले अनुवाद गरेको नाटकको परिकल्पना तथा निर्देशन घिमिरे युवराजले गरेका हुन् । आइतबारबाट मञ्चन सुरु भएको यो नाटक शिल्पी थियटरको गोठाले नाटक घरमा २० गतेसम्म चल्ने छ । नाटक हेर्न थिएटरसम्म जान नसक्ने दर्शकले फेसबुकमार्फत् लाइभ पनि हेर्न सक्ने युवराजले बताए । 

कोरोनाका कारण गोठाले नाटकघरमा लामो समय ताला लाग्यो । घिमिरे युवराजको मनमा छटपटी चलिरह्यो । त्यही छटपटीका बीच अघिल्लो लकडाउनकै समयमा उनले तीनजना खारिएका कलाकारलाई लिएर अनलाइनमार्फत् यो नाटक प्रस्तुत गरे । नेपाली रङ्गमञ्चमा यो नौलो प्रयोग थियो । 



कोरोनाको दोस्रो लहर सुरु हुनुअघि नै यो नाटकको मञ्चन गर्ने तयारी थालिएको थियो । तर, समय सोचेकाे जस्तो भएन । बल्ल खुल्न अनुमति पाएको नाटकघरमा पुनः ताला लाग्यो । त्यसैले निर्देशक घिमिरेलाई लाग्यो नौलो प्रयोग गरौं । प्रयोग केही हदसम्म सफल भयो । 

निषेधाज्ञा खुकुलो भएसँगै उनले नाटक घरमा लागेको ताला खोले, मञ्च र त्यसवरपर लागेको माकुराको जालो हटाए । पुनः यो नाटकको अभ्यास सुरु गरे । नाटकको अभ्यास गर्दैगर्दा उनले मनमनै अठोट गरे, ‘यो पटकचाहिँ नाटक मञ्चन गर्छु ।’ उनका मनमा प्रश्न जन्मियो, ‘यस्तो बेला एक्लाएक्लै बसेर सास मात्रै फेर्दा बाँचेको मानिन्छ ? कि साँच्चै जीवित भएको महसुस गर्न विकल्पहरुको खोजी आवश्यक छ ?’ त्यही परिस्थितिजन्य विकल्पको अभ्यास हो नाटकघरमा थोरै दर्शक राखेर गरिएको नाटक मञ्चन । 



उनले भने, ‘अस्तित्वको लडाइँमा बाँच्नु के हो सात्र्रको नाटक नो एक्जिटले गहिरो विचार छाडेर जान्छ । यस धर्तीमा बाँच्नु भनेको स्वास फेर्नु मात्रै हैन । स्मृति र अस्तित्वसँगै जोडिएर आउँछ जीवन । यो बेला यो नाटक मञ्चन सान्दर्भिक लाग्यो । संसारमा चलेका राम्रा नाटक पढ्ने र त्यसमाथि अभ्यास गर्ने रहर पनि हो ।’

लामो समय थिएटर बन्द हुँदा रंगकर्मीहरु निकै प्रभावित बने । आर्थिक रुपले पनि मारमा परेका रंगकर्मीको अवस्था पुरानै लयमा फर्किन समय लाग्छ । तर, रंगमञ्चको बाटो चलायमान बनाउन पनि नाटक चलाउनै पर्ने थियो । यसका लागि आफूले जोखिम उठाएको घिमिरेले बताए । उनी भन्छन्, ‘मलाई आफूले गरेका काम बचाउनु छ । कुनै पनि हालतमा आफ्नो काममा फर्किनु छ । अवस्था गाह्रो नै छ । गाह्रो भनेर काम रोक्यौं भने अगाडि बढ्ने ठाउँ हुँदैन ।’

नाटक ‘अनुपस्थित तीन’ मार्फत् विपिन चार वर्षपछि रंगञ्चमा फर्किएका हुन् । उनले चार वर्षअघि ‘हरियो ढुंगा’मा अभिनय गरेपछि फिल्ममा प्रवेश गरेका थिए । त्यसपछि फिल्ममै व्यस्त रहेका विपिनका कोरोना कालमा फिल्म निर्माण ठप्प भएपछि फुर्सदिला बने । यही फुर्सदिलो समयमा घिमिरेले प्रस्ताव गरे । विपिन नाटकमा फर्किए । यो नाटकमार्फत् फुर्सद सदुपयोग मात्रै नगरेको विपिन सुनाउँछन् । भन्छन्, ‘आफ्नो दायित्व पूरा गरिरहेको छु ।’ नाटकका लागि यो निकै चुनौतिपूर्ण समय रहेको बताउँदै उनले यो अप्ठ्यारो समयमा नाटक गर्नु रंगकर्मीको दायित्व रहेको बोध व्यक्त गरे । 

लामो समयपछि रंगमञ्चमा फर्किंदा पुराना दिनहरु एकाएक नयाँ लागिरहेको छ उषालाई । दुई वर्षदेखि साइन गरेका फिल्म र नाटक अलपत्र छन् । ‘छुटेका तीन’ मार्फत् रंगमञ्चमा फर्किन पाउँदा राहत मिलेको छ उषालाई । 

  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १६:३१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया