स्वास्थ्य सामग्री खरिदका विवादित पात्र नै कोभिड–१९ युनिफाइड अस्पतालको प्रमुख

कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकृतमा डा. भूपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् । प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री शेरबहादुर देउवाले बस्नेतलाई प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेका हुन् । बस्नेतले आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियुक्तिपत्र बुझेका छन् ।  
 
बस्नेत यसअघि पनि वीर अस्पतालको निर्देशक बनेका थिए । उनी निर्देशक बन्दा स्वास्थ्य सामग्री खरिदमा विवाद चलेको थियो । ०७४ सालमा उनले ३९ करोडबराबरको स्वास्थ्य सामग्री खरिद गरेका थिए । उक्त खरिद प्रकरणमा विवाद उत्पन्न भएपछि यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायमा मुद्दासमेत परेको थियो । जुन मुद्दाको अहिले पनि छानबिन भइरहेको छ । 

छानबिन टुंगोमा नै नपुग्दै प्रधानमन्त्री देउवाले विवादित छवि बनाएर वीर अस्पतालबाट बाहिरएका बस्नेतलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएका हुन् । 

यस्तो छ बस्नेतको विवादित काण्ड

बस्नेत वीरको निर्देशक हुँदा क्यान्सरको उपचारका लागि आवश्यक पर्ने ‘टोमोग्राफी’ मेसिन ३९ करोडमा किनेका थिए । उनले ट्रेड इन्टरनेसनल प्रालिसँग ३९ करोडको सम्झौता गरिएको थियो ।
 
मेसिन खरिदमा क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले असहमति जनाएका थिए । मेसिनका लागि आवश्यक पर्ने संरचना र मापदण्ड नबनाई मेसिन ल्याएर मात्र नहुने भन्दै उनले असहमति जनाएका थिए । तर, बस्नेतले जबरजस्ती टेण्डर गराएर आफू हट्नुअघि नै मेसिन किनेका थिए । 

एकै व्यवसायीको तीनवटा फर्म कोटेसन हाल्न लगाएर प्रचलित रेटभन्दा महँगोमा मेसिन खरिदका लागि ७० प्रतिशत अग्रीम भुक्तानी दिएर उनी बाहिरिएका थिए । जुन विषय अख्तियारमा छानबिनको क्रममा छ । अख्तियारले छानबिन गरिरहेकै व्यक्ति फेरि प्रमुख बनेर आएका हुन् । 

प्राडा जागेश्वर गौतमलाई सरुवा गर्दै बस्नेतलाई प्रमुखमा नियुक्त गरिएको हो । हिजो मात्रै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सो पदमा डा. रुद्र मरासिनीलाई नियुक्त गरेका थिए । मरासिनीले आज बिहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियुक्तपत्र पनि बुझेका थिए । उनले नियुक्तिपत्र बुझेपनि पदभार सम्हाल्न नपाउँदै देउवाले बस्नेतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएका हुन् । 



अहिले पनि थन्किएर बसेको छ

३९ करोडमा किनिएको ‘टोमोग्राफी’ मेसिन अहिले पनि प्रयोगमा आउन सकेको छैन । ०७४ सालदेखि नै सो मेसिन कन्टेनरभित्र राखिएको छ । कन्टेनरको माथि प्वाल परेर पानी चुहिँदा मेसिनको केही भाग बिग्रिएको छ । 



क्यान्सर विभाग प्रमुख डा. आचार्यले लामो समय बाहिरै राख्दा कन्टेनरको माथि प्लाल परेर केही भाग बिग्रिएको बताए । अमेरिकाबाट आयात गरिएको उक्त मेसिन मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने तयारी रहेको डा. आचार्यले बताए । 

‘बाहिर राख्दाराख्दै प्वाल परेर पानी भित्र पसेको छ । पानी पसेको ठाउँमा बिग्रियो । त्यसलाई मर्मतका लागि बाहिर पठाउनुपर्नेछ । आयातकर्तासँग त्यो विषयमा कुराकानी भइरहेको छ,’ डा. आचार्यले भने । 

  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १९:२१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया