विराटनगरका मेयरले कोरोना खोपमा विभेद गरेको एमालेको आरोप

नेकपा एमाले विराटनगर कमिटीले सो महानगरका मेयरले कोरोना खोपमा राजनीतिक विभेद गरेको आरोप लगाएको छ ।  

महानगरपालिका नेतृत्वले जनताको पक्षमा काम नसकेको भन्दै एमालेले ५२ बुँदे सुझाबसहितको ज्ञापन पत्र बुझाएको छ । 

निर्वाचित भएको चार वर्ष बितिसक्दा पनि महानगरका प्रमुख भीम पराजुलीले आफूले घोषणा गरेको काम समेत गर्न नसकेको आरोप ज्ञापनपत्रमा लगाइएको छ ।
 
एमाले विराटनगरका अध्यक्ष सागर थापासहितको टोलीले बुधबार ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य तथा फोहोरमैला व्यवस्थापन, शिक्षा, कर, युवा तथा खेलकुदका क्षेत्रलगायतका समस्याबारे प्रश्न उठाइएको छ । 

मेयर पराजुलीले खोप वितरणमा अनियमितता गरेको, सुशासन कायम गर्न नसकेको, विकास निर्माणको काम प्रभावकारी नभएको, भएका परियोजनाको काम पनि गुणस्तरीय नभएको एमालेको आरोप छ ।
 
महानगरको नेतृत्वमा रहेर चार वर्षको पूरा गरिसक्दा पनि सामुदायिक शिक्षालयको दूरावस्था रहेको, विद्यालय दलगत राजनीति गर्ने अखडाकै रुपमा स्थापित भएको, नमुना विद्यालयको संख्या थपिएको भनेर झुटको सहारा लिएर कमजोरी ढाकछोपको प्रयास भएको भन्दै एमालेले ज्ञापन पत्र बुझाएको हो । 

कोरोनाविरुद्धको खोप पाउन कांग्रेसकै कार्यकर्ता हुनुपर्ने गलत मान्यता स्थापित गर्न खोजेर महानगर प्रमुखले चरम बेथितिलाई स्थापित गर्न खोजेको ज्ञापनपत्रमा उल्लेख छ  । 

ज्ञापन पत्रमा भनिएको छ, ‘कोभिडको महामारीमा जनतालाई न्यूनतम सेवा प्रवाह नगरी कार्यकर्ताको घर–घरमा मात्र अक्सिजन र खोप पुर्याउने कार्य निन्दनीय काम हो ।’



कार्यकालको प्रारम्भमै ठूला करदातालाई करछुट र साना तथा मध्यम करदातालाई करको दर वृद्धि गरी आहत दिने काम गरेको ज्ञापनपत्रमा उल्लेख छ । 



  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार २०:१०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया