संसद भवन निर्माण छिटो सक्न सभामुख सापकोटाको निर्देशन
फाइल तस्बिर

सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधिन संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित आयोजनालाई आग्रह गरेका छन् । 

सभामुख सापकोटाले शुक्रबार दिउँसो अवलोकन भ्रमण गरेपछि आयोजना पदाधिकारीहरूलाई तोकिएको समयभन्दा अगाडि नै सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए । 

कोरोनाका कारण प्रतिकूल स्थिति रहेको उल्लेख गर्दै सभामुख सापकोटाले भवन निर्माणका लागि आवश्यक सामग्रीको जोहो गर्ने काममा मिहिन ढंगले लाग्न पनि निर्माण कम्पनी ‘टुन्डी सेक ज्वाइन्ट भेन्चर’को ध्यानाकर्षण गराए । सभामुख सापकोटाले राष्ट्रकै सबैभन्दा गौरवपूर्ण आयोजना भएकाले यो भवनको निर्माण कार्य समयमै सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी पूरा हुने विश्वास समेत व्यक्त गरे । 

सभामुख सापकोटाले भने, ‘यो भवन चाँडोभन्दा चाँडो सम्पन्न होस् । किनभने हामी अहिले पनि भाडा तिरेर संघीय संसद भवन संचालन गरिरहेका छौँ । हामी चाँडोभन्दा चाँडो आफ्नै भवनमा सर्न चाहन्छौँ । समयमै सम्पन्न गर्नका लागि आयोजनाले आफ्नो कामको गति बढाउनु पर्दछ । कोरोनाको प्रतिकूलतालाई चिर्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नु पर्दछ ।’

संघीय संसद सचिवालयले सो भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न समन्वय गर्नका लागि आवश्यक व्यवस्था मिलाउने पनि जनाएको छ । सभामुख सापकोटाले सो भवन निर्माणका लागि समन्वय गर्न संसद सचिवालयमा पनि जिम्मेवारी तोकिदिने जानकारी दिए । उनले सो भवन निर्माणका लागि आयोजनालाई कुनै समस्या भए आफूले प्रधानमन्त्रीसँग पनि समन्वय गरेर समाधान गरिदिने स्पष्ट पारे । 

२० महिना अघिदेखि निर्माण सुरु गरिएको सो आयोजनाको लागत करिब ५ अर्ब ६७ करोड ६१ हजार अनुमान गरिएको छ । साँढे ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो भवनको निर्माण कार्य सोचेअनुसार अघि बढ्न नसकेको आयोजनाको भनाइ छ । कोरोनाका कारण आवश्यक सामग्रीको व्यवस्थापन गर्न नसक्दा भवन निर्माणको काममा ढिलाइ हुन गएको आयोजनाका प्रमुख दिलिप शेखर श्रेष्ठले बताए । 



संसद भवन १७३ रोपनी ८ आना क्षेत्रमा बन्दैछ । यस क्षेत्रमा ८ वटा ब्लकहरु निर्माण हुनेछन् । संघीय संसद भवन परिसरभित्र ४ सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रियसभा, पुस्तकालय, संग्रहालय, चमेना गृह सहितको व्यवस्था हुनेछ । 



  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १५:३४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया