न्यु डायमन्ड भलिबल क्लबका ‘हीरा’ कुमार राई

न्यु डायमन्ड एकेडेमी (स्पोट्र्स क्लब) अहिले नेपाली भलिबलमा एक स्थापित नाम भइसकेको छ। यो क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निवार्ह गर्दै आएको छ।

नेपाली महिला भलिबलमा बलियो मानिने विभागीय टोलीलाई कुनै क्लबले हराउन सक्छ भने त्यो न्यु डायमन्ड नै हो। उसले विभिन्न घरेलु प्रतियोगितामा यो तथ्य प्रमाणित गरिसकेको छ। 

प्रतिभा माली, कृपा अधिकारीजस्ता अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरिसकेका हुन् या रिया कुवँर, वाल्मिका आचार्यजस्ता नेपाली भलिबलमा पाइला चाल्दै गरेका खेलाडी हुन्, ती न्यु डायमन्डकै उत्पादन हुन्।

नेपाली भलिबलमा थुप्रै प्रतिभालाई जन्माएको न्यु डायमन्डलाई भने जन्म दिने व्यक्ति भने कुमार राई हुन्। पहिलेदेखि नै भलिबलमा निकै रुचि राख्ने राईको लगावका कारण न्यु डायमन्ड जन्मिएको हो। उनैले विभिन्न बाधा–अवरोधलाई पन्छाउँदै टोलीलाई अहिलेको अवस्थामा ल्याएका हुन्। 

बच्चैदेखि भलिबलमा लगाव

राईलाई सार्ने उमेरदेखि भलिबलमा गहिरो लगाव थियो। मोजाको बल खेल्दै हुर्किएका राई जिल्ला स्तरीय खेलाडीसम्म बने। 



‘मैले जीवनमा खेलेको एक मात्र खेल भनेकै यही भलिबल हो। हामी मोजाको बल खेल्दै हुर्किएका हौं,’ राईले फरकधारसँग भने, ‘कक्षा ६ मा पढ्दा मैले पहिलो पटक साँच्चैको भलिबल छोएको थिएँ। राम्रो खेल्ने भएकाले विद्यालयको टिममा पर्न कुनै गाह्रो भएन। त्यसपछि विभिन्न जिल्ला स्तरीय खेलहरु खेलियो।’

कक्षा १० मा पढ्दा राइले वीरेन्द्र सिल्ड प्रतियोगिता खेले। यो प्रतियोगितामा उनको टोलीले दोस्रो स्थान हासिल गर्यो। एसएलसी दिएपछि राई उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए। त्यसपछि भने उनको ध्यान खेलमा भन्दा पढाइमा बढी जान थाल्यो। 



शिक्षक बनेपछि प्रशिक्षण करिअर सुरु

राईले २०४८ सालबाट शिक्षण पेशा सुरु गरे। त्यतिबेला उनी ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा पढाउँथे। शिक्षणसँगै उनले विद्यालयको भलिबल टिमको पनि जिम्मेवारी सम्हाले, तर २०६१ सालमा आयोजना भएको एक प्रतियोगिताको विषयलाई लिएर विवाद भएपछि उनले त्यो विद्यालय छाडे। 

राईले ब्राइट फ्युचर छाडेपछि २०६२ बैशाख ५ गतेबाट न्यु डायमन्ड एकेडेमी सुरु गरे। पहिलो वर्ष ८० विद्यार्थी भर्ना हुँदा उनलाई केही निराश बनाए पनि आफ्नो भलिबलप्रतिको मोहलाई भने कमी हुन दिएनन्। 

‘ब्राइट फ्युचरबाट छुट्टिएर न्यु डायमन्ड सुरु गर्दा पहिलो वर्ष भने केही निराश थिएँ,’ उनले सुनाए, ‘हजारदेखि १२ सय विद्यार्थी भएको ठाउँबाट जम्मा ८० जना भएको ठाउँमा आउँदा निराश हुनु त स्वाभाविकै हो।’

भलिबल छाडेर एथलेटिक्सको प्रशिक्षणमा

न्यु डायमन्ड सुरु भएको वर्ष राईले पुरुष भलिबल टोलीको निर्माण गरे, तर सोचे अनुरुपको सफलता हात लागेन। ‘न्यु डामन्डमा छात्रा भन्दा भन्दा छात्र खेलाडी भएकाले मैले पुरुष भलिबल टिम तयार पारेको थिएँ,’ राईले भने, ‘हामीले केही प्रतियोगितामा सहभागिता पनि जनायौं, तर सफलता हात लागेन।’

पुरुष भलिबलमा लगानी गरेर केही उपलब्धि हात नलाग्ने बरु खर्च बढ्ने रहेछ भन्ने ठानेर केही समयपछि राईले प्रशिक्षण नै बन्द गरे। त्यपछि उनी एथलेटिक्सको प्रशिक्षणतिर लागे।

‘भलिबलमा राम्रो नहुने देखेपछि केही होला कि भन्ने आशले एथलेटिक्सको प्रशिक्षण त सुरु गरियो, तर अरुबाट राम्रो साथ र सहयोग पाउन भने सकिएन,’ राई भन्छन्, ‘खेलाडीहरुले चाउचाउ र बिस्कुटको भरमा कतिञ्जेल प्रतियोगितामा भाग लिन सक्छन् ?’ एथलेटिक्समा पनि खर्चमात्र हुने देखिएपछि त्यसको प्रशिक्षण बन्द भयो। 

फेरि भलिबलतिरै

एथलेटिक्सको प्रशिक्षण बन्द भएपछि राई फेरि भलिबलकै प्रशिक्षणमा फर्किए, तर उनले यसपटक भने छात्राको टिम तयार पर्ने सोच बनाए। ‘२०६४ सालतिर विधार्थी पनि बढेका थिए। छात्राको संख्या पनि उल्लेखनीय रहेकाले मैले केटीहरुकै टिम बनाउने निर्णय गरँे,’ राई ती दिन सम्झँदै भन्छन्, ‘टोली तयार गर्दा सहभागिता जनाउने लक्ष्य मात्र थियो।’

‘४ बजे पछाडि फुर्सद हुने समयको सदुपयोग पनि हुन्छ, आफूले जानेको कला सिकाउन पनि पाइन्छ, स्वास्थ्यका लागि पनि फाइदा नै हुन्छ भन्दै २०६४ जेठ ५ गतेबाट औपचारिक रुपमा टोलीको प्रशिक्षण सुरु गरियो,’ राईले भने। १३ जनाबाट टोली सुरु गरिएको भए पनि पछि ७ खेलाडी मात्र टिममा बस्न सहमत भए। ७ जनाको टोली लिएर न्यु डायमन्ड एकेडेमीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउन थाल्यो।

२०६५ सालको कात्तिकमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघले आयोजना गरेको विद्यालयस्तरको भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्डले उचाल्यो। त्यसपछि न्यु डायमन्ड विद्यालय स्तरमा एक कहलिएको नाम बन्न थाल्यो। त्यतिबेलासम्म टोलीले भलिबललाई गम्भीर रुपमा लिएको थिएन, केवल प्रतियोगितामा भाग लिने सोच मात्र थियो। 

अनि जन्मियो न्यु डामयन्ड 

विभिन्न विद्यालय तथा स्थानीय स्तरका प्रतियोगिता जितिसक्दा पनि न्यु डामन्डले भलिबल प्रतियोगितालाई मात्र भनेर कुनै विशेष योजना बनाएको थिएन। २०६६ सालमा भएको एउटा भलिबल प्रतियोगितामा पाएको असफलताले प्रशिक्षक राईको सोचलाई बदल्यो। त्यसपछि अहिलेको न्यु डायमन्डको जन्म भएको हो। 

‘२०६६ सालतिर बसपार्कमा भलिबल प्रतियोगिता आयोजना भएको थियो,’ राई सम्झन्छन्, ‘विजेताले दुई लाख पुरस्कार पाउने थियो। एक जना साथीले एक लाख खर्च गरेर भारतबाट खेलाडी ल्याउँ, प्रतियोगिता जितिन्छ। एक लाख फाइदै हुन्छ भने, म पनि उनको कुरामा सहमत भएँ।

‘प्रतियोगिताका लागि भनेर भारतको गोरखपुरबाट चार खेलाडी र एक प्रशिक्षक ल्याइयो, तर टोलीले चौथो स्थान हासिल गर्दै २५ हजार मात्र प्राप्त गर्यो,’ राईले भने, ‘मैले दुई लाख भन्दा बढी खर्च गरेको थिएँ, टोलीले सोचे अनुरुपको प्रदर्शन गर्न नसक्दा केही निराश भएको थिएँ।’

‘त्यसबेला त्यो दुई लाखले घडेरी किनेको भए अहिले करोडौंको मालिक हुन्थेँ होला, लगानी डुब्दा केही निराश भए पनि मलाई भलिबलको नशाले छोइसकेकाले यो क्षेत्र छाड्न भने सकिनँ,’ राई भन्छन्, ‘यो हारपछि मैले एउटा अठोट गरेँ– भारतीय खेलाडीका लागि यत्रो खर्च गर्दा पनि राम्रो प्रतिफल पाउन सकिनँ, किन आफ्नै खेलाडीमाथि खर्च नगर्ने ?’ त्यसपछि उनी भारतीय खेलाडी ल्याउन होइन, नेपाली खेलाडीलाई उनीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनतिर लागे। 

राईले टोलीलाई बलियो बनाउन प्रशिक्षणमा बढी ध्यान दिन थाले। परिणामतः २०६९ सालमा न्यु डायमन्डले एनभिए कपको उपाधि उचाल्यो। उपाधि जितेपछि न्यु डायमन्ड राष्ट्रिय स्तरमा नाम चलेको क्लब बन्न पुग्यो। 

ऋण लिएर क्लब सञ्चालन

न्यु डायमन्डले विभिन्न राष्ट्रिय स्तरका प्रतियोता जित्दै केही रकम पुरस्कार स्वरुप प्राप्त गर्यो, तर क्लब सञ्चालनका लागि त्यो रकम पर्याप्त भएन। राईले क्लब सञ्चालनका लागि ऋण लिन पर्यो। 

‘क्लबले प्रतियोगिता जितेवापत् केही रकम त पाएको छ, तर त्यसको कयौं गुणा बढी खर्च हुन्छ। त्यसका लागि मैले ऋण लिएको छु,’ राइले भने। क्रोएसियामा भएको यु–१५ प्रतियोगितामा सहभागिता जनाएपछि ऋणको भार अझै बढेको उनले बताए। 

‘हामीले २०७५ को अन्त्यतिर क्रोएसियामा आयोजना भएको विद्यालय स्तरको यु–१५ भलिबल प्रतियोगितामा सहभागिता जनाएका थियौं। त्यहाँ जान सबै खर्च आफैंले व्यहोर्नुपरेको थियो। प्रतियोगितामा राम्रै प्रदर्शन गर्यौं, तर त्यसले आर्थिक भारलाई बढायो,’ राईले भने, ‘त्यो प्रतियोगितामा हामीले अजरबैजानको बलियो टिमलाई हराउँदै नेपालको राम्रो छाप छाडेर आएका छौँ, यसले खुसी नै दिन्छ। तर, त्यसका लागि २५ लाखजति ऋण लाग्यो। यसले केही आर्थिक समस्या उब्जाएको छ।’

ऋणको भारी बोकेर राईले न्यु डायमन्डलाई अगाडि बढाइरहेका छन्। टोलीले जित्ने हरेक खेलले थोरै भए पनि उनको पीडामा मल्हम लगाउने काम गरेको छ। टोलीको यही सफलताले ऋणमाथि ऋण थपिँदा पनि राईले भलिबलप्रतिको मोहलाई कमी हुन दिएका छैनन्। 

नसोचेको सफलता

राईले न्यु डायमान्ड एकेडेमीको नाममा भलिबल टिम निर्माण गर्दा टोली अहिलेको अवस्थामा आउला भन्ने साचेकै थिएनन्। उनले त विद्यालयस्तरका प्रतियोगितामा सहभागिता जनाउने र आफूलाई फिट राख्ने उद्देश्यले टिम सुरु गरेका थिए। 

‘पढाउने उद्देश्य राखेर नै न्यु डायमन्ड एकेडेमीको स्थापना भएको हो, तर मेरो स्वास्थ्यका कारण नियमित व्यायाम गर्नुपर्ने थियो,’ राईले भने, ‘मैले ब्याडमिन्टन खेल्ने वा दौडने गरेको भए पनि हुन्थ्यो, तर त्यसले मलाई मात्र फाइदा पुग्थ्यो।’

भलिबल सिकाउन सुरु गर्दा त्यसले आफूलाई मात्र नभएर अरु खेलाडीलाई पनि फाइदा पुग्ने देखेर उनले भलिबल सिकाउन थाले। खेलाडीहरुको भविष्य पनि राम्रो होला कि भन्ने सोचका साथ न्यु डायमन्ड एकेडेमीको भलिबल टिम सुरु गरे।  

‘एउटा विद्यालय स्तरको प्रतियोगिताका लागि तयार भएको टिमले राष्ट्रिय स्तरमा ख्याति कमाउला भनेर सोचेकै थिइन्ँ,’ राईले खुसी हुँदै सुनाए, ‘मैले विद्यालय स्तरका खेलाडी उत्पादन गर्छु भन्ने सोच राखेको थिएँ, तर यहाँबाट त राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन भएका छन्। यो मेरो कल्पना भन्दा बाहिरको सफलता हो।’  

ठूलो सपना

राईले राष्ट्रिय स्तरमा राम्रो छाप छाडिसकेको न्यु डायमन्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सपना देखेका छन्। ‘मलाई के लाग्छ भने, अब राष्ट्रिय स्तरमा मात्र चर्चा कमाएर पुग्दैन, अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा हुनुपर्छ,’ राई भन्छन्, ‘मान्छेलाई जति सफलता हात पार्यो उति त्यसको भोक बढ्दै जाने रहेछ।

मलाई अब विद्यालय वा राष्ट्रिय स्तरमा मात्र च्याम्पियन बनेर पुगेन, त्यसैले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता जित्न सपना देख्न थालेको छु।’ राईले भविष्यमा अहिलो संरचनालाई विस्तार गर्दै एकेडेमीको रुपमा विकास गर्ने सपना रहेको बताए।

‘अहिले हामी १८ जना एउटा घर भाडामा लिएर बसेका छौं। त्यसमा मेरो परिवारबाहेक विद्यालयमा पढ्दै भलिबल सिक्दै गरेका नानीहरु पनि छन्। अहिलेको यो संरचनालाई एकेडेमीमा रुपान्तरण गर्ने इच्छा छ,’ राईले योजना सुनाए।

खेलले पढाइमा कुनै असर गरेको छैन 

न्यु डायमन्ड टिमका प्रायः खेलाडी विद्यालयमै अध्ययनरत् विद्यार्थी हुन्। खेलकै कारण उनीहरुको पढाइमा कुनै बाधा नपुगेको राईको भनाइ छ।

‘न्यु डायमन्डका खेलाडी विद्यालयमा अध्ययनरत् रहेकाले उनीहरुको पढाइमा बाधा नपुगोस भनेर बेलुका ४ बजेपछि मात्र अभ्यास गर्ने गरेका छौं,’ राईले भने, ‘बाहिर कुनै प्रतियोगिता भएमा विद्यार्थीहरु पुस्तक बोकेरै जान्छन् र समय मिलेको खण्डमा पढ्छन्। उनीहरुले राम्रोसँग खेल र पढाइलाई अगाडि बढाइरहेका छन्।’

नियमित अभ्यास

कोरोना महामारीका कारण अहिले कुनै प्रतियोगिता आयोजना नभए पनि न्यु डायमन्डले भने अभ्यास रोकेको छैन। पानी नपर्दा उनीहरु मैदानमै गएर अभ्यास गर्छन् भने पानी परेको समयमा कोठाभित्रै सामान्य अभ्यास हुन्छ।

उनीहरु दैनिक रुपमा बेलुका ४ बजे देखि ६ बजेसम्म अभ्यास गर्छन्। यसले खेलाडीलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ राख्न मद्दत गरेको छ। 

बाधाहरु पन्छाउँदै अघि बढेको न्यु डायमन्ड 

न्यु डायन्डलाई यहाँसम्म ल्याउन प्रशिक्षक राईले निकै दुःख, कष्ट भोग्नुपरेको छ। भलिबल टोली तयार गर्दा उनले अभिभावकका साथै आफ्नै सहकर्मीबाट पनि विभिन्न खालका कुरा सुन्नुपरेको थियो। ‘यो टिम तयार पार्दादेखि अहिले पनि खुट्टा तान्न खोज्नेहरुको कुनै कमी छैन। तर, यसले हामीलाई कुनै असर गर्दैन,’ राईले उत्साहित हुँदै भने, ‘उनीहरु कुरा काट्दै गर्छन्, आफू आफ्नो काम गर्ने हो।’ मान्छेहरुले खुट्टा तान्न खोजेकाले नै न्यु डायमन्ड अहिलेको अवस्थामा आएको राईको बुझाइ छ। 

मान्छेहरुले कुरा काटेको, कामबारे प्रश्न उठाएको र उनलाई नराम्रो भनेकाले नै प्रगति गर्ने बाटो खुलेको उनको भनाइ छ। ‘आलोचनाले नै मानिसलाई सुधार्ने हो। उनीहरुले विरोध नगरेको भए कसरी आफ्ना कमीकमजोरीलाई सुधार गर्न सकिन्थ्यो र,’ राई भन्छन्।

थपिँदै सहयोगी हात

कुमार राईले निःस्वार्थ भावमा सुरु गरेको न्यु डायमन्डसँग अहिले सहयोगी हातहरु जोडिन थालेका छन्। होवान्जी बौद्ध समाज मुख्य प्रायोजकका रुपमा जोडिएको छ। अन्य व्यक्तिले पनि टिमलाई विभिन्न रुपमा सहयोग गरिरहेका छन्।

यसले टोलीको आर्थिक समस्यालाई केही मात्रामा भए पनि कम गर्न मद्दत पुग्नुका साथै अझै अगाडि बढ्न हौसला प्रदान गरेको उनी बताउँछन्।
 
कामप्रति पूर्ण सन्तुष्ट

कुमार राई आफ्नो कामप्रति पूर्ण रुपमा सन्तुष्ट छन्। खेलप्रतिको आफ्नो लागावका कारण सुरु गरेको क्लबले नसोचेको सफलता दिइरहेको छ। यसले पनि उनलाई आफूले यो क्षेत्रमा लागेर कुनै गल्ती नगरेको महसुस गराइरहेको छ।

‘न्यु डायमन्ड अहिले नेपाली भलिबलमा एक ब्रान्डजस्तै बनेको छ। यहाँका उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो प्रभाव पारिरहेका छन,’ एउटा प्रशिक्षका लागि यो भन्दा खुसीको कुरा अर्को के हुन सक्छ ?’ राई भन्छन्, ‘विभिन्न क्षेत्रमा पुगेका खेलाडीले म न्यु डायमन्डको कारणले यहाँ छु भन्दा राम्रो काम गरिएछ भन्ने भान हुन्छ। शुभचिन्तकहरु बेलाबेलामा फोन वा अन्य माध्यमबाट हालखबर बुझ्नु हुन्छ। यसले म एक्लै छु भन्ने महसुस हुन दिएको छैन।’

खेलाडीको सफलता देख्दा र आफ्नो प्रशंसा सुन्दा राई आफूले समातेको बाटोप्रति गर्व गर्छन्। ‘नेपाली भलिबलको विकासमा केही मात्रामा भए पनि टेवा दिन पाइएको छ। अहिले जुन नाम पाएको छु त्यो सबै भलिबलकै देन हो, त्यसैले यो कामबाट म पूर्ण रुपमा सन्तुष्ट छु,’ राईले भने।
 

  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार ७:५७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया