प्रचण्डले भने – एकता केही दिनमै टुंगिन्छ, सरकारका कामको पनि समीक्षा गर्छौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै जनवर्गीय संगठन, प्रदेश, जिल्ला र स्थानीय तहको एकतालाई छिट्टै टुंग्याउने बताएका छन् ।

दसैँको अवसर पारी नेकपा प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकतामा समस्या नरहेको दाबी गर्दै एकतालाई टुंग्याउने विषयमा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग हिजो मात्रै छलफल गरेको र आइतबार पार्टी सचिवालयको बैठक बसेर बाँकी एकता प्रक्रियालाई छिट्टै टुंयाउने बताए ।

सरकारको कामकारबाहीबारे पार्टी र विभिन्न पक्षसँग अन्तरक्रिया गरेर अझ त्यसलाई गति दिने कुरामा आफूहरू प्रतिबद्ध रहेको समेत उनले बताए ।

‘सरकारको कामलाई प्रभावकारी बनाउन हामी समीक्षा गर्दै छौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘मानिसले विभिन्न प्रश्न उठाएका छन्, तर हामी सबै एकै ठाउँमा छौँ, समृद्धि, सामाजिक, न्याय र सुशासनको विषयमा सैद्धान्तिक र राजनीतिक रूपमा कुनै द्विविधा छैन ।’

जनताले विश्वासका साथ पार्टीलाई मत दिएर शक्तिशाली बनाएको भन्दै उनले जनताको विकास निर्माण, सुशासन र समृद्धिको अपेक्षालाई पूरा गर्न नेतृत्व र सबै सचेत नागरिक एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

लामो संघर्ष र बलिदानीपश्चात् नेपालमा अहिले विशिष्ट प्रकृतिको असाधारण राजनीतिक परिस्थिति सिर्जना भएको बताउँदै अध्यक्ष प्रचण्डले त्यसको महत्व र गहिराइलाई गम्भीर चिन्तनमनन गरेर सम्भावनासँगै ठुल्ठूला चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।



कार्यक्रममा बोल्दै नेकपा सचिवालय सदस्य वामदेव गौतमले प्युठान जिल्लाको प्रतिनिधित्वको हिसाबले आफूले अघि सारेको विकास निर्माणको प्रतिबद्धताअनुरूप बाँकी काम पूरा गर्न सक्रिय ढंगले लाग्ने बताए ।

बोल्ने क्रममा नेकपाका केन्द्रीय सदस्य विजय गुरुङ, सांसद कृष्णध्वज खड्का, युवा नेता भोजविक्रम बुढालगायतले पार्टीको तल्लो तहसम्मको एकता प्रक्रियालाई चाँडो टुंग्याई जनताको समृद्धिको अपेक्षालाई सार्थक तुल्याउन नेतृत्व वर्ग र सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्युठान जिल्लाबाट प्रतिनिधित्व गर्ने नेकपाका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।
 



  • प्रकाशित मिति : असोज २०, २०७५ शनिबार १४:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया