इतिहास लुकाइएको छ, अब खोतल्नुपर्छ : अजय देवगण

‘सिंघम’ स्टार अजय देवगनले गत वर्ष ‘तानाजी’ लिएर आएका थिए र अहिले १९७१ को भारत-पाकिस्तान युद्धमा बनेको उनको सिनेमा ‘भुज : द प्राइड अफ इन्डिया’ ओटिटी प्लेटफर्ममा रिलिज भएको छ । 

भारतको वास्तविक इतिहास खोतलेर सत्यतथ्य बाहिर ल्याउनु अति जरुरी रहेको देवगणकाे भनाइ छ । उनका अनुसार, देशको इतिहास दबाइएको थियो-त्यसलाई खोतलेर नयाँ पिँढीमा लैजानुपर्नेे र उनीहरुले कसको बलिदानका कारण भारत आजको अवस्थामा आइपुगेको हो भन्ने समेत बुझ्नुपर्छ । ‘भारतका युवालाई यी सबै कथा बताउनु जरुरी छ, किनकि हाम्रो इतिहास दबाइएको थियो,’ भारतको इतिहासबारे देवगनले बिबिसीसँग भने, ‘त्यत्रो वर्ष अंग्रेजले शासन गरे, तिनले इतिहास दबाए । मानिसहरूले यी कुरा थाहा पाए भने तिनले विद्रोह गर्ने छन् । अंग्रेजभन्दा अघि मुगलको प्रभाव थियो । मुगलअघि हाम्रा राजाहरुले जे गरे, त्यो पनि दबाइएको थियो ।’

‘स्वाभाविक छ कि, शासक जो आउँछ इतिहास उसले चाहेकै लेखिन्छ । आज हाम्रो इतिहासको किताबमा हाम्रा इतिहासभन्दा विदेशी इतिहास अधिक छ,’ उनी थप्छन्, ‘हाम्रो समयमा तानाजीमाथि केवल आधा पृष्ठ लेखिएको थियो र अहिलेको पिँढीलाई यसबारे थाहा छैन किनकि तानाजीबारे किताबमा लेखिएको छैन ।’ यसबारे कुरा हुनुपर्ने उनी बताउँछन् । ‘देशको कुरा गर्दा, देश तब बदलिन्छ जब सबै बदलिन्छन् । र, यो पिँढीलाई थाहा छैन कि, कयौं मानिसको मेहनत र निस्वार्थ बलिदानमा बलमा यो देश उभिएको छ । जब तपाईंलाई स्वतन्त्रता कति कठिन थियो भन्ने ज्ञान हुन्छ, तब यसलाई सम्मान गर्न थाल्नुहुन्छ,’ उनी भन्छन् । 

स्क्वाड्रन लिडर विजय कार्णिकको भूमिका

देवगणले ‘भुज : दि प्राइड अफ इन्डिया’ मा भारतीय वायुसेनाको स्क्वाड्रन लिडर विजय कार्णिकको भूमिका निर्वाह गरेका छन् । सिनेमाको भूमिका निर्वाह गर्दा त्यसबारे कुनै नकारात्मकता नजोडियोस् भनेर दबाब हुने देवगण बताउँछन्, किनकि त्यो पात्रले जिन्दगीमा निकै असल काम गरेको हुन्छ । देवगणका अनुसार, तपाईं जसको चरित्र निर्वाह गर्दै हुनुहुन्छ– त्यो व्यक्तिको प्रतिष्ठा कथामा र अभिनयमा समेत कायम हुनुपर्छ ।

देवगणलाई आफ्नो सिनेमा ओटिटी प्लेटफर्ममा रिलिज हुन लागेकोमा थोरै अफसोस भए पनि उतिविधि चिन्ता छैन ।  उनी ओटिटीलाई पनि राम्रो प्लेटफर्म मान्छन् । उनका अनुसार, कलाकाहरू सकेसम्म बढीभन्दा बढी दर्शकमाझ पुग्न चाहन्छन् । र, ओटिटी प्रविधि आउनाले सिनेमा उद्योगमा एकप्रकारको सन्तुलनको अपेक्षा गरिएको छ । अचेल कतिपय ठूला स्टार पनि ओटिटीमा आफ्नो करिअर बनाउँदै छन् र अजय देवगण पनि यो प्लेटफर्मबाट लाभ लिन चाहन्छन् । चाँडै नै उनी ओटिटी प्लेटफर्मको सिरिज ‘रुद्र’मा समेत देखिने भएका छन् ।



‘ट्रोलिङको आदत’

ओटिटीले एकातिर कलाकारलाई नयाँ प्लेटफर्म दिइरहेको छ भने अर्कोतिर यो डिजिटल दुनियाँमा ट्रोलिङ पनि खुबै भइरहेको छ । कतिपय कलाकारले त ट्रोलिङका कारण आफ्नो मानसिक अवस्थामा गम्भीर असर परेको गुनासोसमेत गरेका छन् । देवगणले पनि यो कुरा उठाएका छन् । तर, अब त आफूलाई यसको आदत नै परिसकेको बताएका छन् । उनको फोनमा न त ट्विटर छ न त इन्स्टाग्राम नै । आफूलाई जे भन्न मन लागेको छ त्यो सीधै भनिदिने, अरुले के भन्छन् त्यसको मतलब नराख्ने स्वभाव देवगणको छ । हालै अर्का चर्चित कलाकार आमिर खानले सोसल मिडियालाई ‘बाईबाई’ नै भनिदिएका छन् । देवगणले सोसल मिडियालाई पूरै बाईबाई नै नभने पनि यसबाट टाढा बस्न भने उनले चाहेका छन् । उनका अनुसार, उनकी पत्नी काजोल र दुई बच्चासमेत यसबाट टाढै बस्न रुचाउँछन् ।



‘जिन्दगी रहेसम्म काम गर्छु’

सोसल मिडियामा जे हुन्छ, त्यसमा विश्वसनीयता कम हुने देवगण बताउँछन् । उनले एउटा मन्त्र लिएका छन्- सोसल मिडियाबाट टाढा रहने र आफ्नो काम गरिरहने । उनी ५२ वर्षका भए । जतिजति आफ्नो उमेर बढ्दै गएको छ उतिउति काम गर्न आनन्दा आइरहेको उनी बताउँछन् । ‘यो उमेरमा मलाई आफ्नो क्राफ्ट (अभिनय)सँग प्रेम हुन थालेको छ,’ उनी भन्छन्, ‘तपाईं जहिलेसम्म बाँच्नुहुन्छ, काम गरिरहनोस् । नत्र भने दिमाग कमजोर हुने र रोग लाग्ने हुन्छ । मेसिन चलिरहँदा ठीक हुन्छ, जब रोकिन्छ तब गडबड हुन्छ ।’ आफूलाई बढ्दो उमेरको महसुस हुँदै गएको उनी बताउँछन् । पहिला-पहिला उनी साना-साना कुरामा पनि रिसाउँथे, अहिले जोसुकैले जेसुकै भनोस्, रिस उठ्न छाडेको समेत उनको भनाइ छ । आफूले ३० वर्षदेखि आफ्नै ढंगमा सिनेमामा काम गर्दै आएको र आगामी दिनमा पनि सोही ढंगमा काम गर्ने उनले बताए ।

रूप बदल्दै सिनेमा उद्योग

सिनेमा उद्योगमा हिरोको रूप परिवर्तन हुँदै गएको छ । देवगण भन्छन्, ‘तपाईंले देखिरहनु भएको छ- हलिउड र भारतमा पनि अधिकांश चरित्र प्रौढ अभिनेताका लागि लेखिन थालेको छ, त्यसमा गहिराइ निकै हुने गरेको छ । गहिराइयुक्त कथा प्रौढतापश्चात नै आउने गर्छ । राम्रो कुराचाहिँ के छ भने, दर्शकले यस्तो कथा मन पराउन थालेका छन् ।’ 

‘सिनेमा नै सन्देश हो’

भारतको स्वतन्त्रता दिवसको उपलक्ष्यमा अजय देवगणलाई देशवासीका नाममा केही बोल्न लगाइयो । तर, उनले यसबारे बोल्नका लागि अभिनेतासँग केही पनि नहुने बताए । अभिनेताले आफ्नो सिनेमामार्फत नै सबै कुरा भन्दै आएको उनको तर्क थियो । उनलाई लाग्छ- देशमा बसेका पाँच प्रतिशतले मात्रै देशका बारेमा सोच्ने हो भने भारत महान् बन्न सक्ने उनको बुझाइ छ । 

अभिषेक दुधैयाको निर्देशनमा बनेको सिनेमा ‘भुजः दि प्राइड अफ इन्डियामा अजय देवगणसँगै सञ्जय दत्त, सोनाक्षी सिन्हा, शरद केलकर, एमी विर्क र नोरा फतेही प्रमुख भूमिकामा छन् ।

(बिबिसी)
 

  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १३:३२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया