एक थान साइकलसँगै फर्कियाे खातुनको मुहारमा खुसी

प्रदेश २को मुख्यमन्त्री कार्यालयले विद्यार्थीहरुलाई साइकल वितरण गर्दा साइकल नपाएकी एक किशोरीलाई सोमबार युवा सञ्जाल धनुषाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर साइकल हस्तान्तरण गरेको छ ।

भारतको सितामढीका मो. आलमकी छोरी लाडली खातुनसँग नेपालको जन्मदर्ता नभएका कारण प्रदेश सरकारले उनलाई साइकल पाउनबाट वञ्चित गरेको थियो । उनका बुबा आलम ४५ वर्षदेखि जनकपुरमा काम गरेर बस्दै आएका छन् । 
 
खातुन जनकपुरधामको जानकी माविमा कक्षा ९ मा अध्ययनरत छिन् । आफूसँगै पढ्ने अन्य साथीले साइकल पाउँदा आफूले नपाएपछि उनले रुँदै आफ्नो पीडा सञ्चारमाध्यममा सुनाएकी थिइन् । लाडली रुँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत गरिएको साइकल वितरण कार्यक्रममा साइकल नपाएकी उनको मुहारमा सोमबार साइकल पाएपछि बल्ल खुसी छाएको छ । 

ती किशोरीले साइकल नपाएको विषयमा मुख्यमन्त्री कार्यालयको साइकल वितरण फाँटमा व्यापक बहससमेत भएको विद्यालयका शिक्षक गौरीशंकर लाल कर्णले बताए । भारतको आधार कार्डको आधारमा विद्यालयमा भर्ना गर्न मिल्ने, पढाउन मिल्ने, तर वर्षौंदेखि विद्यालय आउने बालिकालाई सुविधा दिन किन नमिल्ने ? उनको मनोविज्ञानमा के असर पर्छ ? भन्दै धेरैले प्रश्न उठाएका थिए । 

जिल्ला युवा सञ्जाल धनुषाको टिमले सोमबार लाडलीको घरमै पुगेर एक थान साइकल र स्टेसनरीको सामान पनि हस्तान्तरण गरेको छ ।
 
युवा सञ्जालले भविष्यमा अझै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै  खातुनलाई साइकल हस्तान्तरण गरेको छ । 





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार २०:७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया