पैसा खर्च गरेर पनि विदेश जान नपाएका विद्यार्थीको पीडा : न कलेज पढ्न पाइयो, न त निकालेको ऋण तिर्न सकियो

भक्तपुरका आशिष पण्डितको एउटै सपना थियो, अस्ट्रेलिया जाने र टन्नै पैसा कमाउने अनि नेपाल फर्किएर मोजमस्ती गर्ने । यो उनको सानैदेखिको सपना थियो । त्यसैले त उनले +२ सकाएसँगै भिसा अप्लाई गरे । सिड्नीको एक कलेजबाट उनको भिसा कन्फर्म भयो । त्यसका लागि उनले १८ लाख ऋणसमेत लिए । उनी अस्ट्रेलिया उड्ने दिनको प्रतीक्षामा थिए । तर, के गर्नु कोरोना बैरी बन्यो । र, उनको सपना सपनामा मात्रै सीमित बन्न पुग्यो । उनको कलेजलाई शुल्क तिरेर भिसा आएको पनि डेढ वर्ष हुनै लाग्यो । तर, अचेल उनले अस्ट्रेलिया जाने सपना राति निदाएको बेलामा पनि देख्न छाडिसके । 

अचेल उनीसँगै उनको परिवार ऋणको भारी कसरी कम गर्ने भन्नेमा चिन्तित बनेको छ । कोरोना महामारीका कारण अस्ट्रेलियाले ०७६ चैतदेखि विदेशीलाई प्रवेशमा रोक लगाएको छ । जसले गर्दा आशिषजस्तै तीन हजारभन्दा बढी विद्यार्थी अस्ट्रेलियाको प्रतीक्षामा छन् । तर, कोरोना महामारीका कारण जान पाएका छैनन् । 

लामो समयदेखि अस्ट्रेलिया जान नपाउँदा थप अध्ययनलाई अगाडि बढाउन सकेका छैनन् । अध्ययनसँगसँगै ऋणको भारी पनि कसरी कम गर्ने भन्नेमा चिन्तित बनेका छन् । आशिष भन्छन्, ‘१८ लाख ऋण निकालियो । अस्ट्रेलिया गएर कमाएर ऋण तिराैँला भन्ने थियो । अब त्यो सपनामा मात्र सीमित होलाजस्तो छ ।’

ओखलढुंगाका अर्पन अर्याल जापान जाने तयारीमा छन् । ०७७ सालमा जापानी भाषा पढेर उनले जापानमा अध्ययन गर्न योग्य रहेको प्रमाण (सिओई) प्राप्त गरे । भाषा सिक्दै गर्दा उनले जापानको एक कलेजमा अध्ययन अनुमतिका लागि आवेदन दिएका थिए । कलेजले ०७७ पुसमा सिओई आयो । तर, उनी अहिलेसम्म पनि जापान जान पाएका छैनन । २६ डिसेम्बर २०२० देखि जापानले कुनै पनि देशबाट विद्यार्थीलाई प्रवेश दिएको छैन । कोरोना महामारीको कारण देखाउँदै बोर्डर बन्द गरेको छ । विदेशीलाई प्रवेश निषेध गरेको छ । उनले कलेजमा १० लाख रुपैयाँ बुझाइसकेका छन् । त्यो पनि ऋण लिएर । 

अहिले निकालेको ऋणको ब्याज माग्दै साहुहरू घरमा आउने गरेका छन् । तर, उनीसँग तिर्ने कुनै पनि बाटो छैन । जसले गर्दा उनी एकदमै तनावमा छन् । यो बीचमा उनले नेपालबाटै ब्याचलरको पहिलो वर्षको पढाइ पनि सकाएर दोस्रो वर्षमा अध्ययन गर्दै छन् । 

‘नेपालबाट ब्याचलरको पढाइ सकिने बेला भइसक्यो । जापान कहिले जाने टुंगो छैन । जापान गएर ऋण तिरौँला भनेको, त्यो यो जुनिमा पुरा नहोलाजस्तो छ । अहिले ऋणको ब्याज तिर्दै बसेको छु,’ उनले आफ्नो पीडा व्यक्त गरे ।



जापान जाने तयारीमा रहेका झण्डै १० हजार विद्यार्थी यस्तै अन्योलमा छन् । स्टुडेण्ट भिसा लिएका विद्यार्थी कहिले जापान र अस्ट्रेलिया जान पाउने भन्ने प्रतीक्षामा छन् । 
विदेश जाने अधिकांश विद्यार्थी ऋण निकालेर नै बसेका छन् । यतिबेला ऋणको ब्याज तिर्दै भिसाको पर्खाइमा बसेका छन् । अस्ट्रेलियाले कोरोना सुरु भएदेखि अहिलेसम्म विदेशी विद्यार्थीलाई अनुमति दिएको छैन । जापानले भने गत वर्ष केही समय खोलेर फेरि बन्द गरेको थियो । 

जापान र अस्ट्रेलियामा अहिले पनि कोरोना संक्रमणदर उच्च छ । जसका कारण ती देशले तत्काल विदेशी विद्यार्थीलाई प्रवेश दिने सम्भावना न्यून छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष प्रकाश पाण्डेले कोरोना महामारीका कारण अस्ट्रेलिया र जापानले विद्यार्थी लिन नमानेको बताए । 



अमेरिका, बेलायत, क्यानडा, भारतलगायत देशले भने खोप लगाएका विद्यार्थीलाई प्रवेश दिइरहेका छन् । दुई देशले लामो समयदेखि प्रवेश अनुमति नदिँदा विद्यार्थी मर्कामा परेको उनको भनाइ छ । 
‘अस्ट्रेलिया जान दिइएको छैन । भिसा अप्लाइ गरेर लिएर बस्नचाहिँ मिल्छ । तर, जान मिल्दैन । जापानमा पनि त्यस्तै अवस्था छ,’ उनले भने । 

जापानका लागि झण्डै १० हजार विद्यार्थी अनुमतिको पर्खाइमा रहेको जापानिज भाषा स्कुल संघ नेपाल (जालसान)का महासचिव रमेश देवकोटाले बताए । 

‘जापान जान चाहनेमध्ये ५० प्रतिशत विद्यार्थीले कलेजको समेत शुल्क तिरिसकेका छन् । आधाजतिले कलेजको शुल्क तिरेका छैनन् । उनीहरू जतिबेला पनि तिर्न सकिने भन्दै तयारी अवस्थामा बसेका छन्,’ देवकोटाले भने । 

अस्ट्रेलिया जाने विद्यार्थीले कलेजको शुल्क तिरेर मात्र भिसा पाउँछन् । कलेजलाई बुझाउनुपर्ने शुल्क नबुझाईकन भिसा पाइँदैन । जसले गर्दा सबै विद्यार्थीले कलेजको शुल्कसमेत तिरिसकेका छन् । उनीहरू अस्ट्रेलिया जाने दिनको पर्खाइमा छन् । 

अन्य देशमा विद्यार्थी सहज रूपमा पढ्न गइरहेका छन् । तर, जापान र अस्ट्रेलियाले भने कोरोनाको कारण देखाउँदै विद्यार्थी लिन नमानेको इक्यान अध्यक्ष पाण्डेले बताए । 

त्यसका लागि पहल गरिदिन भन्दै नेपाल सरकार, परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायत निकायसँग गुहार गर्दै आएको पाण्डेको भनाइ छ । 

अस्ट्रेलियाले ७० प्रतिशतभन्दा बढीले खोप लगाइसकेपछि खोल्ने योजना गरेको छ । त्यसो भयो भने मार्चतिरबाट खुल्न सक्छ कि भन्ने अनुमान रहेको पाण्डेले बताए । 

जालसानले केही दिनअगाडि प्रधानमन्त्री शेरबहादुर देउवालाई एउटा ज्ञापनपत्र समेत बुझाएको थियो । प्रधानमन्त्री देउवाले आफुले पहल गर्ने आश्वासन दिएका थिए । यो विषय प्रधानमन्त्री वा नेपालले पहल गरेर सल्टिने कुरा होइन । त्यसका लागि सम्बन्धित देशले नै प्रवेश अनुमति दिनुपर्छ । प्रधानमन्त्री लेभलबाटै पहल गरियो भने सम्बन्धित देशलाई पनि नेपालको समस्या जानकारी हुने र एकखालको दबाब सिर्जना हुने महासचिव देवकोटाको भनाइ छ । 
 
‘यहाँबाट पहल गरेर केही पनि हुँदैन । जापानले नै निर्णय गर्नुपर्छ । तर, एक खालको दबाब विश्वभरबाट नै आयो भने जापानले पनि केही न केही निर्णय गर्ला भन्ने हाम्रो अनुमान हो,’ देवकोटाले भने । 

लकडाउनविरुद्ध अस्ट्रेलियामा प्रदर्शन

जारी लकडाउन निर्णयविरुद्धमा हजारौँ नागरिक प्रदर्शनमा उत्रिरहेका छन् । लकडाउनको अवज्ञा गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउसमेत गरेको छ । आइतबार सिड्नीबाट प्रदर्शनमा उत्रिएकामध्ये दुई सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको बिबिसीले उल्लेख गरेको छ ।

प्रदर्शनकारीले लकडाउनको नियम उल्लंघन गरेको भन्दै प्रहरीले प्रदर्शनमा रोक लगाएको थियो । प्रहरीको आदेश अस्वीकार गर्दै उनीहरू प्रदर्शनका लागि सडकमा उत्रिएका थिए । त्यही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको  थियो । 

दैनिक संक्रमितको संख्या बढेसँगै अस्ट्रेलियाका केही सहरमा आगामी सेप्टेम्बरसम्म लकडाउन जारी गरिएको छ । अस्ट्रेलियामा अहिलेसम्म कोरोना संक्रमणबाट ९७८ जनाको मृत्यु भइसकेको छ । अहिले पनि ११ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । यो संख्या दिन–प्रतिदिन बढ्दो क्रममा छ । संक्रमणदर बढ्दै गएपछि लकडाउनलाई निरन्तरता दिइएको त्यहाँको सरकारले जनाएको छ । यस हिसाबले हेर्दा तत्काल अस्ट्रेलिया जान पाउने सम्भावना न्यून छ । 

उता, जापानमा समेत कोरोना संक्रमणले दिन–प्रतिदिन नयाँ–नयाँ रेकर्ड कामय गरिरहेको छ । जापानमा अहिलेसम्म १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अहिले दैनिक २५ हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् । यस्तो अवस्थामा जापानले तत्काल विदेशीलाई लैजाने सम्भावना न्यून छ । 

  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार २०:४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया