अफगानिस्तान कि ‘टेररिस्तान’ ?

अफगानिस्तानमा जुन नयाँ मोड आएको छ, त्यसले हाम्रो रणनीतिक संस्कृतिको एउटा ठूलो विरोधाभासलाई उजागर गरिदिन्छ । हाम्रो उपमहादेशमा त्यसको बारेमा जुन विमर्श चलिरहेको छ, त्यो इतिहासभन्दा यति बोझिल छ कि त्यसले भूगोल नै उपेक्षित गरिदिएको छ । स्मरणीय छ, भूराजनीतिक र भूरणनीतिमा ‘भू’ अर्थात् भूगोल पहिला आउँछ । 

यसबाट एउटा अहम् प्रश्न उठ्छ– के इतिहासले भूगोललाई आकार दिन्छ ? अथवा यसको उल्टो हुन्छ ? यो ‘पहिला अन्डा कि कुखुरा’ भनेको जस्तो प्रश्न भयो । तर, यथार्थ के हो भने पश्चिमबाट हामीलाई जुन रणनीतिक चुनौती आइरहेको छ, त्यसमा भूगोलले नै इतिहासलाई स्वरुप प्रदान गरेको छ । हामीले जे भन्नुपरेको छ, हामी त्यसको व्याख्या पेश गरिरहेका छौं । हामी के बताइरहेका छौं भने, यो सबै किन परिवर्तित हुन सक्छ र यो उपमहादेशको भविष्यमा भूगोलको महत्व किन गुम्न सक्छ ।

यो तर्कको मुख्य आधार के हो भने, अफगानिस्तानका लागि भूगोल एक रणनीतिक अभिशाप, पाकिस्तानका लागि वरदान र भारतका लागि मूल मुद्दाबाट भड्किने मामिला बनेको छ । यसको कारण हो :

१. अफगानिस्तान सधैं एक गरिब, ठेट रुढीवादी, ट्राइबल, टुट्दै  गइरहेको घर, सुस्त प्रशासन र चारैतिर एकअर्कासँग लडिरहेका महाशक्तिद्वारा घेरिएको मुलुक रहँदै आयो । यी सबै मिलेर अफगानिस्तानलाई लडाँइको अखडा बनाइदिएका छन्, जसमा नोक्सान त अति हुन्छ, तर फाइदा केही हुँदैन ।

२. १९औं शताब्दीमा साम्राज्यवादी बेलायत र जारहरुको रुस, २०औं शताब्दीमा सोभियत संघ र अमेरिका, अमेरिका र यसका नयाँ विश्व प्रतिद्वन्द्वी तथा राज्यविहीन तर देशव्यापी अलकायदाका बीच यो देश पिँधिइरह्यो । पहिला दुई घटनामा, सोभियत संघको सबैभन्दा नरम, इस्लामी, मध्यएसियाली क्षेत्रको भौगोलिक रुपमा नजिक हुनु यसका निम्ति एउटा बोझ नै बन्न पुग्यो । फेरि यो अमेरिकाको उक्साहटमा हमलाकारी मुजाहिदीन र सोभियत संघका बीच भएको लडाइँको हिस्सा बन्न पुग्यो । यो लडाइँले इस्लामी बागी र आतंकवादीहरुलाई त्यहीँ छाडेर आयो । तीमध्ये केहीले नै तालिबान गठन गरेका हुन् । यसले आफ्ना बहुराष्ट्रिय मित्रहरुसँग मिलेर दुनियाँ जित्ने निर्णय गरेको छ । सुदूरमा रहेको आफ्नो आँखाबाट ओझेल भएको अफगानिस्तानजस्तो अड्डा तालिबानसँग थियो। यसको भौगोलिक अवस्थाले यसलाई महान् खेल, शीतयुद्ध तथा आतंकवादविरुद्धको लडाइँमा बलीको बोका बनाइदियो । रणनीतिक अभिशाप भनेकै यही त हो ।

यो महान् खेलमा पाकिस्तान अछुतो नै रह्यो, किनकि त्यो देश १९४७ मा नै अस्तित्वमा आयो र पश्चिममा उसलाई त्यही जमिन विरासतमा मिल्यो, जुन औपनिवेशिक भारतको जमिन थियो । भूगोलले उसलाई अग्रिम मोर्चाको देश यसकारण बनाइदियो कि, उसको लामो जमिन अफगानिस्तानसँग जोडिएको छ । दुई देशको धर्म–संस्कृति एकै थियो तिनमा ट्राइबल सम्बन्ध थियो । उसका निम्ति अफगानिस्तानसम्मको पहुँच सहज थियो, जुन सोभियत संघको सीमामा छ र महाशक्तिहरुका लागि एक रणक्षेत्र बनेको छ ।



अमेरिकाले १९५० को दशकदेखि नै यसलाई अग्रिम मोर्चाको देश बनाएको थियो र उसलाई आफ्नो सैन्य सन्धिहरुमा सहभागी गराइसकेको थियो । यतिसम्म कि आफ्नो यु–२ जासुस विमान पेशावरबाट सोभियत संघतर्फ उडाउने गथ्र्यो । १९६० मा रुसीहरुले जुन यु–२ विमानलाई खसालिदिएका थिए, र त्यसका पाइलट फ्रान्सिस ग्यारी पावर्सलाई बन्दी बनाएका थिए, त्यो विमान पेशावरबाट उडान भर्ने गथ्र्यो । अमेरिकी नेतृत्वको पश्चिमी ब्लकमा पाकिस्तानको उपयोगको कारण केवल उसको अवस्थिति थियो ।

यसको महत्व १९७१ मा तब दोब्बर बढ्यो जब चीनसँग यसको भौगोलिक र राजनीतिक करिबी बढ्यो । यो सम्बन्धमा छलाङ मार्ने मन्च तथा चीनतर्फ हात बढाउन निक्सन–किसिन्जरको मध्यस्थतामा पहल भएको थियो । १९७९ मा सोभियत संघले जब यो देशमाथि हमला गर्यो र शीतयुद्धको मैदान बन्न पुग्यो तब यही भूगोलले पाकिस्तानमा रणनीतिक उपहारको बर्सात गरिदियो ।  



अमेरिका फेरि उपहार बोकेर त्यहाँ पुग्यो र विनाशकारी उथलपुथलको गनाउने खेल सुरु भयो । त्यसमा उसको चेलो आईएसआईले गुरुको भन्दा अधिक महारत हासिल गर्यो ।

शीतयुद्धमा विजय तथा अफगानिस्तानमा पराजयपछि सोभियत संघको विघटन ठीक तीन दशकअघि सुरु भयो । इतिहास फेर्न सक्ने भूरणनीतिक महत्व पाकिस्तानको हातबाट फुत्कियो । करिब एक दशकसम्म अमेरिकाको विश्वदृष्टिमा उसको महत्व घट्दै गयो । ठीक यसै समय भारतप्रति अमेरिकाको आत्मीयता बढ्न थाल्यो र यो उपमहादेश मामिलामा आफ्नो नीति बनाउँदा भारतलाई जोड्न थाल्यो । तर, आफ्नो भौगोलिक स्थितिका कारण पाकिस्तानको महत्व पुनः बढ्न तब थाल्यो, जब न्युयोर्कस्थित दुई टावर ध्वस्त पारियो । यो हमलामा मास्टरमाइन्ड तथा तिनको नेटवर्कको अड्डा त्यो क्षेत्रमा रहेको पाइयो जसलाई अहिले ‘अफ–पाक’ भनिन्छ । पाकिस्तानका लागि अमेरिकाको उपहार–गाडी पुनः चल्न थाल्यो ।

१९४७ पछि भूगोलले भारतलाई कहाँ पुर्यायो र हामी त्यसलाई रणनीतिक सोचको सबैभन्दा ठूलो भड्काउ किन भन्छौं ? भारतलाई अंशका रुपमा १५ हजार किलोमिटर जमिन मिलेको थियो । जुन दिन पाकिस्तान आजाद भएको थियो, त्यही दिनदेखि यो जमिनको आधा त्यस देशसँग जोडिएको छ, जुन पहिलो दिनदेखि नै हाम्रो सैन्य प्रतिद्वन्द्वी बन्दै आएको छ । अहिले अवस्थामा कुनै परिवर्तन आएको छैन, केवल यसको पूर्वी सीमामा मित्र देश बंगलादेश बनेको छ । तर, भारतको रणनीतिक सोच केवल जमिनमा केन्द्रित भएको छ ।

अफगानिस्तान पुनः सम्हालिएर अघि बढ्न थाल्यो भने पाकिस्तानले आफ्नो चिन्ता गर्न थाल्नुपर्ने छ । चीनले पनि आफ्नो विशाल परियोजना सीपीईसीमा लगानी गर्नका लागि अफगानिस्तानमा स्थिरता चाहन्छ । चीनले पाकिस्तानसँग यही चाहन्छ कि, उसले आफ्नो आतंककारी समूहलाई बलियो पार्न अफगानिस्तानको उपयोग नगरोस् र नभनोस् कि, हामीलाई त पुलवामाबारे थाहै थिएन !

आफूले गरेको गल्तीबाट पाठ नसिक्ने मामिलामा पाकिस्तान निकै अगाडि छ । तर, करिब साताअघि तालिबानले आफ्नो रणनीतिक मजबुतीका लागि पाकिस्तानलाई प्रयोग गर्यो । 

पाकिस्तान र तालिबान शासनको अफगानिस्तानबीच एक नयाँ ‘टेररिस्तान’ स्थापना हुने विषयलाई लिएर भारतमा खुबै चिन्ता गरिन्छ । पाकिस्तानको त आर्थिक, कूटनीतिक, भूरणनीतिक या सैन्य क्षमता शून्यबराबर भएको छ । यसकारण पनि पाकिस्तानले केही कोसिस गर्ने छैन, यदि गर्यो भने पनि त्यो भारतलाई फाइदाको कुरा हुने छ । 

उथलपुथलको समयमा पाकिस्तानको प्रतिव्यक्ति आयको आँकडा १९९० मा भारतको यस्तो आँकडाको ६० प्रतिशत (पीपीपी आधार, विश्व बैंक डाटा)भन्दा बढी थियो । अहिले भारतको सोही आधारको आँकडा पाकिस्तानको भन्दा ३२ प्रतिशत माथि छ । भारतले पछिल्ला दुई वर्षमा उक्त अन्तरलाई कम गर्न गरेको मेहनतको नतिजा हो यो । १९७१ मा पाकिस्तानबाट जुन देश अलग भएको थियो, त्यो बंगलादेशको औसत नागरिकको आम्दानी आज स्वतन्त्रतापछि यो उपमहादेशका तीन देशभन्दा अधिक छ । अमेरिकी कृपाबाट वञ्चित पाकिस्तान अफगानिस्तानको माध्यमबाट भारतलाई खतरा पुर्याउन विल्कुलै अक्षम छ । उसलाई आफ्नो पश्चिमी क्षेत्र जोगाएर राख्दै पनि मुश्किल छ । 

त्यसैले अफगानिस्तानको इतिहासमा आएको नयाँ मोडले हाम्रो क्षेत्रको भूगोलको महत्वलाई परिवर्तन गरिदिएको छ । भारत पाकिस्तानका सन्दर्भमा आफ्नो चासो कम गरोस्, अहिले त अफगानिस्तानलाई पनि बिर्सनुपर्छ । र, सीमा क्षेत्रका खतरालाई पनि भुलेर समुद्री शक्ति तथा अवसरहरुमा ध्यान केन्द्रित गर्नुपर्छ । ७५ वर्षमा अहिले आएर भारतलाई आफ्नो रणनीतिक दृष्टि उत्तरदेखि दक्षिणतिर मोड्ने महत्वपूर्ण अवसर मिलेको छ ।

(गुप्ता दिप्रिन्टका संस्थापक प्रधानसम्पादक हुन् । दिप्रिन्टबाट अनूदित तथा सम्पादित)    
 
 

  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार ६:२९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया