पार्वती मुखियाको घर कोसी किनारमा छ। १३ वर्षअघि भदौ १ गते. राति पार्वतीको गाउँमा कोसी फुट्न लागेको हल्ला चल्यो। काखको नानी च्यापेर तटबन्धमा राति नै उक्लिइन् पार्वती पनि।
कोसीको भेलले माटो र बालुवाको तटबन्ध धमाधम कटान गरिरहेको थियो। डिलका रुखहरू गर्ल्याम्म ढल्थे र छिनमै कोसीले बगाएर बेपत्ता बनाउँथ्यो।
पार्वती मुखिया
अँध्यारोमा रुख ढल्दा धुवाँ उडेको जस्तो लाग्यो पार्वतीलाई। सिमसिम पानी परिरहेको थियो। उनी पुनः नानी च्यापेर घर फर्किइन्।
बाटोमा छिमेकीहरू गाई बाख्रा डोर्याउँदै र नानी च्यापेर निस्कन थालेको देखिन्। पार्वतीलाई भने मध्यरातमा घर छाड्न आँट आएन।
मनले भन्यो 'लैजान्छ भने लैजाओस्। पार्वतीले जागा भएरै रात कटाइन्। उज्यालो भएपछि नजिकै रहेको तटबन्धमा पुगिन्। नदीको कटान रोकिएको थिएन। झन् तीब्र गतिमा कटान भइरहेको थियो।
त्यतिबेला उनले अनुमान लगाइन् केही घण्टामा सप्तकोसी घरसम्म आइपुग्छ। त्यसपछि टाउकोमा बोक्न सक्ने सामान र गाई,बाख्रा डोर्याएर निस्किइन् पार्वती मुखिया।
अघिपछि थिए छोरा छोरी र श्रीमान्। उनीहरूको पनि टाउकामा सामान थियो। हातमा गाई, बाख्राका डोरी थिए घरबाट त निस्किइन तर कहाँ जाने थाहा थिएन।
वर्षौंदेखिको थातथलो छाडेर पार्वती मुखिया हिँड्दा बिहानको १० बज्नै लागेको थियो। प्रतीक टोलबाट डेढ किलोमिटर छिचोल्दै पूर्व–पश्चिम सडक खण्डमा पर्ने नहर चोक आइपुग्दा उनले गाउँ खाली भएको देखिन्।
गाउँ भन्दा अलि अग्लो भएका कारण राजमार्गभरि गाईवस्तु, भैसी र मान्छेहरू थिए। लुगाफाटाका गुन्टा बोकेर गाउँ छाड्नेको ताँती उस्तै थियो। साइकल र गोरु गाडा लिएर गाउँ छाड्नेहरू कति थिए कति।
पार्वती नहर चोकमा उक्लेको केहीवेरमै कोसीले तटबन्ध बगाइसकेको थियो। नदीको बेग पश्चिम कुसाहाबाट वस्तीतर्फ सोझियो।
२०६५ सालमा कोसीको बाँध फुट्दा डुबानमा परेको पश्चिम कुसाहा ।
पार्वती हतारिँदै सुनसरीको सदरमुकाम इनरुवा आइपुगिन्। इनरुवामा रहेको भगवती माविको प्रांगणमा छिमेकीहरू थिए। उनले पनि त्यही आएर भारी बिसाइन्।
पार्वती इनरुवा आइनपुग्दै उनको घर कोसीले बगायो। भर्खरै लगाएको धानखेतबाट सप्तकोसी नदी बग्यो।
मुखियाको घर तटबन्ध भत्काएको स्थानबाट ५०० मिटर उत्तर पूर्वमा पर्छ। घर नजिकैबाट सप्तकोसीको मूल भंगालो बग्न थालेपछि मुखियाको परिवार कोसी विस्थापित भयो।
६ महिना पार्वतीको परिवार इनरुवाको शिविरमा बस्यो। शिविरमा बस्न र खान त पाइन् तर घर फिरेपछि के खाने भन्ने चिन्ताले उनलाई पिरोलिरह्यो।
६ महिनामा सप्तकोसीको भंगालो पहिलेकैतिर फर्काइयो। अब घर जानसक्ने भइन् पार्वती। सरकारले बालीको क्षतिपूर्ति र जग्गाको मुअाब्जा दिने भन्यो। घर बनाउन काठ पनि दियो। तर नदीको बालुवा पुरेको जग्गामा के उब्जन्थ्यो र ? तैपनि जाने ठाउँ कतै न भएकाले पार्वतीको ६ जनाको परिवार गाउँ फर्कियो।
सरकारले दिएको ३० किवी काठ र ५० हजार रुपैयाँले मुखिया परिवारले घर बनायो र बस्न थाल्यो।
अहिले सबैकुरा फेरिएको छ। पार्वतीले १३ वर्षअघिको सम्झना सुनाएपछि भनिन्–‘अहिले पहिलेको भन्दा राम्रोे छ।’
पहिला उनको खोरमा एक दुई वटा बाख्रा थिए। अहिले २० वटा छन्। उनको परिवारले पहिला धान र मकै लगाउँथे। त्यसले खान पुग्दैन थियो। अहिले तरकारी लगाउँछिन्। तरकारीबाट हरेक वर्ष २ लाख रुपैयाँ भन्दा बही आम्दानी छ। छोरो विदेश गएको छ। महिनाको ४० हजार रुपैयाँ पठाउँछ।
गैरसरकारी संस्थाको तालिम
सप्तकोसी नदीले तटबन्ध भत्काएपछि राहत र पुनःस्थापनाका लागि गैरसरकारी संस्थाहरू धेरै आए।
जिल्ला प्रशासन कार्यालय सुनसरीको तथ्यांकअनुसार कोसी फुटेपछि कोसी पीडितका लागि भनेर काम गर्न ४० वटा भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले कोसी क्षेत्रमा आए।
कोसीले तटबन्ध भत्काउँदा प्रभावित बनेका तत्कालीन हरिपुर, श्रीपुर, लौकही र पश्चिम कुसाहा गाविस र अहिलेको कोसी गाउँपालिकामा धेरै गैरसरकारी संस्थाहरूले विभिन्न प्रकारका संस्थाहरूले चलाए।
यो बाहेक त्यस क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाइका क्षेत्रमा समेत गैरसरकारी संस्थाहरूले कार्यक्रम गरे।
ती संस्थाले कति लगानी गरे भन्ने बारेमा तथ्यांक नभएपनि अहिलेसम्म पनि त्यस क्षेत्रमा गैरसरकारी संस्थाहरूको आर्कषण देखिन्छ।
पार्वतीले पहिलो पटक बाख्रा पाल्ने तालिम लिइन २०७० सालमा। वातावरण तथा जीवजन्तु समाज पश्चिम कुसाहाको आयोजनामा भएको तीन दिने तालिम लिएपछि उनले एउटा माउ बाख्रो सित्तैमा पाइन्।
चरिचरण क्षेत्र भएको कोसी किनारमा बाख्रा पाल्ने सीप र बाख्रा पाएपछि उनले यसलाई पेशा बनाइन्।
उन्नत खालको सुधारिएको खोर बनाइन्। दाना पानी र स्वास्थ्य उपचारमा ख्याल गरिन्। अहिले उनको खोरमा २२ वटा बाख्रा र पाठापाठी छन्।
पार्वतीकै छिमेकी विल्सीदेवी मुखिया पनि गैरसरकारी संस्थाको सहयोगमा बाख्रा पालन सम्बन्धी तालिममा बसिन्।
त्यही तालिमबाट शुरु भएको बाख्रा पालनबाट उनी वर्षमा ५, ७ वटा खसी बेच्छिन्। वर्षमा एक दुई वटा बोका घरैमा काट्छिन्।
यसले उनीहरूको रीतिरिवाज र कर्म पनि सित्तैमा टरेको छ। उनले तालिममा बाख्रा कसरी हुर्काउने ? खोर कस्तो बनाउने भनेर सिकेको बताइन्।
बिल्सी देवी चाँही नागरिक सचेतना केन्द्र पश्चिम कुसाहाको सदस्य भएपछि बाख्रा पालन सम्बन्धी तालिममा सहभागी हुन पाइन् ।
केन्द्रले कोसी गाउँपालिमामा ४ वटा महिला समूह बनाएको थियो। एउटा समूहमा ३० जना सहभागी छन्।
७२ सालबाट शुरु भएको समूहमा बसेका दिदी बहिनीहरूलाई तालिम मात्रै नदिएर भएको आम्दानीलाई कसरी बचत गर्ने र पुन लगानी कसरी गर्ने जानकारी समेत दिइयो। समूहमा बसेका महिलाहरूलाई केन्द्रले विउ पूँजीसमेत दिएको बल्सीदेवी बताउँछिन्।
नगरिक सचेतना केन्द्रका कारण आफू बाख्रा पालनमा लागेको र यसैबाट घर खर्च टरेको बिल्सीले जनकारी दिइन्।
बिल्सीका अनुसार ३५ घर रहेको प्रतीक टोलमा सबैजसोले बाख्रा पाल्छन्। स्थानीय जातकै बाख्रा पालेको भएपनि तालिम लिएपछि बाख्राबाट फाइदा भएको स्थानीय गुलाबी मुखिया सुनाउँछिन्।
‘पहिला पनि बाख्रा त पालेका थियौँ। तर बाख्रा पाठा फस्टाउँदैन थे’ गुनाबीले, ‘बाख्रापालन तालिम पाएपछि अहिले बाख्रा पालन व्यवसाय नै बनेको छ।’
धान मकै छाडेर तरकारी
कोसीले तटबन्ध भत्काउँदा ४२ हजार मानिस विस्थापित भए। तत्कालीन ४ गाविस अर्थात अहिलेको कोसी गाउँपालिका जलमग्न भयो। कोसी पीडितलाई राहत र पुनस्र्थापनाका लागि सरकारले करोडौँ रुपैयाँ लगानी गर्यो।
पूर्वकृषि मन्त्री नन्दन दत्तको संयोजकत्वमा बनेको उच्चस्तरीय आयोगका अनुसार ३७०० बिघा खेतीयोग्य जमिन कोसीले प्रभावित बनाएको थियो।
तर त्यही कोसीले डुबाएको र खोला कुदेको जमिनमा तरकारीका लागि पकेटक्षेत्र बनेको छ।
पर्वल खेती
अधिकांश क्षेत्रमा किसानहरूले तरकारी खेती गर्छन्। उनीहरु परम्परागत खेती धान र मकै छाडेर तरकारी खेतीमा लागेका हुन्।
कोसी गाउँपालिका–३ का किसान शिवराम मुखियाले तरकारी खेती गर्ने तालिम पाए। कुन सिजनमा कुन तरकारी लगाउने ? गोडमेल कसरी गर्ने ? मलखाद कसरी मिलाउने भन्ने कुरा तालिममा सिके।
उन्नत खाले विउ विजन, गोडमेल र मलखादको बारेमा जानकारी पाएपछि उनी तरकारी खेतीमै रमाएका छन्। उनी बोडी परबल, गोलभेडा, साग लगायतका तरकारी लगाउँछन्।
कोसी खेतमा पसेका कारण केहि वर्ष खेति भएन। सात वर्षपछि तरकारी खेती शुरु गरेको शिवरामले सुनाए। बलौटे माटो भएका कारण अहिले तरकारी खेती फस्टाएको छ। धान, मकै लगाएको भन्दा धेरै फाइदा भएको शिवरामको अनुभव छ।
गाउँमा तरकारी खेती गर्ने को संख्या निकै बढेको कोसी गाउँपालिकाले जानकारी दिएको छ। कोसी गाउँपालिकका अनुसार अहिले सो पालिकमा ७०० जति किसान व्यवसायिक तरकारी खेतीमा संलग्न छन्।
उनीहरूलाई अहिले कोसी गाउँपालिकाले तालिम र मल विउमा सहजीकरण गरिरहेको छ।
जीवीकोपार्जनमै जोड
१३ वर्षअगाडि कोसीले बितण्डा मच्चाउँदादेखि नै गैरसरकारी संस्थामार्फत काम गर्दै आएका छन् मुस्ताक अन्सारीले। कोसीको कहरका कारण गाउँबाट विस्थापित भएकहरूको स्वास्थ्य क्षेत्रमा काम गरेका अन्सारीको संस्थाले पछि कोसीपीडित बालबालिकाको शिक्षाका लागि समेत काम गर्यो।
जव उनीहरू गाउँ फिर्न थाले त्यस क्षेत्रका गै सरकारी संस्थाहरूको ध्यान कोसीपीडितको जीविकोपार्जन र आयआर्जनतरफ गयो।
गाउँ फर्किएकाहरूले जमिन बालुवा नै बालुवाले ढाकेको छ। केही उब्जाउ हुँदैन के खाने भन्ने चिन्ता गर्न थाले।
त्यसपछि उनीहरूको जीवीकोपार्जनका लागि काम गरेको मुस्ताकले अन्सारीले जानकारी दिए। सुरुमा पटेरबाट गुन्द्री बन्ने तालिमको दिएको उनले बताए।
कोसी किनारको सिमसार क्षेत्रमा पटेर त्यतिकै खेर गइरहेको थियो। खेर गएको पटेरबाट गुन्द्री बन्ने सीप सिकाएपछि महिलाहरूले आयआर्जन गर्न थालेको उनले सुनाए।
बाढीपछि आएको सिमसार आयोजनाले कोसी प्रभावित क्षेत्रका महिलाहरूलाई गुन्द्रीसँगै अन्य हस्तकलाका सामाग्री बुन्ने सीप पनि सिकाएको छ।
यसका लागि आवश्यक उपकरण खरिद गरेको आयोजनाका तत्कालीन प्रमुख विविकानन्द झा बताउँछन्।
कोसी क्षेत्रमा पटेरबाट बनाइएका हस्तकलाका सामाग्री नेपालबाहिर समेत गइरहेका छन्। कोसीपीडित संघर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डल विनासले गाउँमा सीप भित्र्याएको बताउँछन्।
कोसीप्रभावित क्षेत्रमा पटेरबाट गुन्द्री र हस्तकालाका सामान बनाउने, तरकारी खेती, बाख्रापालन, सुँगुर पालन, व्यवसायिक गाईपालन, सिलाइ कटाइ लगायतका विषयमा महिलाहरूले सीप हासिल गरेको मण्डलले बताए।
सीपका कारण उनीहरूको जीवनस्तर फेरिएको मण्डलको दावी छ। धेरै गैरसरकारी संस्थाहरू आए। उनीहरूले जीवीकोपार्जनका लागि तालिम दिए। मण्डल भन्छन् ‘सीपसँगै विउ पूँजीसमेत दिएका कारण यस क्षेत्रका महिलाहरूले आयआर्जन गर्न थालेका छन्’ मण्डलले भने।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।