‘भाइरल रोड’ मा सेल्फी खिच्ने र टिकटक बनाउनेको भीड

सामाजिक सञ्जालले कुनै स्थानलाई कतिछिटो भाइरल बनाउँछ भन्ने उदाहरण बनेको छ, कञ्चनपुरमा बनिरहेको सडक । सडक निर्माण हुनु नौलो कुरा होइन । सडक निर्माण भइरहेका स्थानमा निर्माण मजदुरहरु, प्राविधिकहरु र सरोकारवाला जाने गर्छन् । तर सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा निर्माण भइरहेको चिल्लो सडकमा भने त्यो भन्दा फरक दृश्य देखिन्छ ।

यहाँ हरेक दिन सयौं मानिसहरु सडक हेर्न, टिकटक बनाउन र सेल्फी खिच्नकै लागि पुग्छन् । महाकाली छेउमै निर्माणाधीन सडक हेर्नेहरुको ओईरो लाग्ने गरेको छ । सडक कालो पत्रे गर्ने कार्य सम्पन्न भए पनि फिनिसिङ गर्न अझै बाँकी छ ।

सामाजिक सञ्जाल टिकटक र फेसबुकमा भएको प्रचारसँगै भीमदत्त नगरपालिका–१२ ओदालीमा निर्माणाधीन सडक अवलोकन गर्नकै लागि दैनिक सयौं मानिसहरुको भीड जम्मा हुन थालेको हो । महाकाली नदी छेउमा निर्माणाधीन चार लेनको मोटरेबल पुललाई जोड्न पहुँच मार्गका रुपमा ६ लेनको पक्की सडक निर्माण भएको हो । 

सेल्फीमा रमाउने र टिकटकमा झुमिनेका लागि यो सडक उपयुक्त स्थान बनेको छ । अहिले यो सडक ‘भाइरल रोड’ का नामले चिनिन थालेको छ । ‘भाइरल रोड’ मा पुगेर सेल्फी खिच्ने र टिकटक बनाउने क्रम बढेसँगै मानिसहरु खोजीखोजी टाढा–टाढाबाट आउन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशका मात्र होइन अन्य प्रदेशबाट समेत यस क्षेत्रमा अवलोकन गर्न आउने गरेका छन् । ‘भाइरल रोड’ बारे सामाजिक सञ्जालबाट थाहा पाएको बताउने कैलालीको टीकापुरका अम्मर रावल भन्छन्, ‘टिकटकबाट यो सडक बारेमा थाहा पाएको थिएँ । धेरै राम्रो छ भन्ने सुनेकाले साथीहरु मिलेर घुम्न आएका हौं।’ 

छेउमै महाकाली नदी सलल बगिरहेको हुँदा सडकको सुन्दरतामा थप बल पुगको उनको बुझाई छ। 



‘यो सडकमा धेरैले टिकटक बनाएको देखेको थिएँ । एकपटक मलाई पनि यहाँ पुगेर टिकटक बनाउने इच्छा थियो’, कैलालीको भजनीकी लोचना थापाले भनिन्, ‘त्यो इच्छा आज पूरा भएको छ ।’ उनले टिकटक बनाउनकै लागि कञ्चनपुर पुगेको बताइन् । 

‘यो सडकको ‘सिन’ले टिकटकमा राम्रो भ्युज र लाइक पाइरहेको देखेकी थिएँ । टिकटकमा सडक भाइरल नै थियो’, उनले भनिन्, ‘टिकटकमा लाइक बढाउने चाहाना पूरा गर्न यहाँ आएँ ।’



उनीहरु मात्रै होइन अहिले सेल्फी लिने, फोटो खिच्ने, टिकटक बनाउनेको घुइँचो लाग्ने गरेको छ । त्यहाँ चिल्लो कालोपत्रे सडक छ । सडकको बीचमा क्रमैसँग विद्युतका पोलहरु जडान गरिएका छन् । 

सडकको एकातर्फ महाकाली नदी र अर्कोपट्टी मानवबस्ती छ । मौसम सफा भएको दिन उत्तरतर्फका चुरे पर्वतको मनोरम दृश्य र दक्षिणतर्फ निर्माणाधीन चार लेनको पक्की पुल देख्न सकिन्छ ।

‘अन्य दिन धेरै भिडभाड नभए पनि शनिबार र सार्वजनिक विदाका दिन  भीड हुन्छ’, स्थानीय पवन भट्टले भने, ‘अझ चाडपर्वमा घुम्न आउने धेरै हुन्छन्।’ 

उनका अनुसार कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, डडेल्धुरा, बैतडी तथा सीमावर्ती भारतीय बस्तीका मानिस पनि सडक घुमघामका लागि आउने गरेका छन् । 

कोरोनाको जोखिम

कैलाली र कञ्चनपुरमा अहिले कोरोना भाइरसको उच्च जोखिम छ । तेस्रो लहरको कोरोना संक्रमणको जोखिम कायमै छ । त्यसैले प्रशासनले भीडभाड हुने कार्यक्रम, सभा, जुलुस नगर्न भनेको छ । तर, यहाँका पर्यटकीय स्थलमा अत्यधिक भीड हुने गरेको छ । 

६ लेन सडकमा भीडभाड हुन थालेपछि कोरोना संक्रमणको जोखिम बढेको छ। भीडभाडमा स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउने गरेकोले संक्रमणको जोखिम बढेको स्थानीय दिपेश अवस्थी बताउँछन् । 

‘कोरोना फैलिन्छ भनेर विद्यालय बन्द छन् । बेलुका ६ बजेपछि बजार बन्द गरिन्छ । तर यहाँ यस्तो भीडभाड छ’, उनले भने, ‘न मास्कको प्रयोग भएको छ, न त सामाजिक दुरी नै कायम भएको छ । यसले कोरोना फैलिने जोखिम बढेको छ ।’ 

महाकालीको ६ लेन सडकले आन्तरिक पर्यटक तानेपछि सो क्षेत्रमा व्यापार व्यवसाय भने फस्टाउन थालेको छ । भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णसिंह देउवाले पूर्ण रुपमा निर्माण सम्पन्न नभइसकेका बेला नै सडक आन्तरिक पर्यटकको रोजाइ बन्न पुगेको बताए । 

  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १०:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया