फुटबल विवादबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक, अलमुताइरीले आचरण सुधार गर्नुपर्ने

राष्ट्रिय फुटबल टोलीको विवाद अन्ततः टुंगो लागेको छ । १४ दिन लामो छानबिनपश्चात् बुधबार छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको हो । 

प्रतिवेदनमा प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने सुझाब दिइएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठित छानबिन समितिले उक्त निष्कर्ष निकालेको हो ।

साउन १० गते प्रशिक्षक अलमुताइरीले फेसबुक पोस्टमार्फत आफूलाई वरिष्ठ उपाध्यक्ष पंंकज विक्रमका कारण काम गर्न गाह्रो भएको भन्दै असन्तुष्टि राखेका थिए । 
 
अलमुताइरीले नाम तोकेर नै नेम्वाङलाई विवादमा तान्नुलाई समितिले अस्वाभाविक र गलत आचरणका रुपमा प्रस्तुत गरेको छ । उनलाई आचरण सुधार गर्न सुझाब दिइएको छ । 

एन्फाले आन्तरिक रुपमा विवाद समाधान गर्न असफल रहेपश्चात् यो विवाद राखेपसम्म आएको थियो । राखेपले प्रशिक्षक अलमुताइरीलाई आफ्नो फेसबुक पोस्ट हटाउनसमेत निर्देशन दिएको छ ।  

प्रशिक्षकले एन्फासँग गरेको सम्झौताअनुरुप नै कार्य गर्नुपर्ने तथा त्यसभन्दा बाहिर जान नमिल्ने भन्दै समितिले प्रशिक्षकको आचरण सुधारमा जोड दिएको हो ।
 
प्रमुख प्रशिक्षकले सम्झौताअनुरुप कार्यसम्पादन गर्नुपर्ने र आगामी दिनमा विवाद सिर्जना हुने कुनै पनि किसिमका कार्य गतिविधि नगर्न तथा सामाजिक सञ्जालमा समेत कुनै निश्चित व्यक्ति वा पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित सामग्री पोस्ट नगर्न समेत समितिले निर्देशन दिएको छ ।

त्यस्तै, सञ्चारकर्मीले प्रशिक्षकसँग अन्तरवार्ता  वा धारणा लिनुपरेमा एन्फाको सूचना अधिकारी वा व्यवस्थापकसँग पूर्वअनुमति लिएर मात्रै लिन मिल्ने व्यवस्था समेत एन्फाले मिलाउनुपर्ने समितिले भनेको छ । 



सञ्चारकर्मीसँगको विवादको विषयमा भने ७ दिनभित्र दुवै पक्ष राखेर सुल्झाउन राखेपले निर्देशन दिएको छ । 



  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १९:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया